कमल सुवेदी
सिनेमा अन्य कला विधाका तुलनामा अत्यन्त सरल र सहज विधा हो किनकि आँखा देख्ने र कान सुन्ने जोसुकै दर्शकले पनि यो विधालाई अनुभूत गर्न सक्छन् । निरक्षर व्यक्तिले पनि यसलाई ग्रहण गर्न सहजै सक्छन् । एकातिर यति सहज छ, यो विधा भने अर्कातर दर्शकप्रति त्यत्तिकै क्रूर पनि छ किनकि अँध्यारो कोठामा दर्शकलाई थुनेर तिनको ध्यान आफूप्रति पूर्ण रूपमा तान्न बाध्य पार्छ यो विधाले । अतः यस्तो क्रूर विधामा हात हाल्दा यसको सर्जक मूलतः निर्देशकले भारी विचार पुर्याउनुपर्ने हुन्छ ।
सिनेमामा एउटा युगको समग्र तस्बिर, एउटा समग्र चिन्तनको जीवनदर्शन तथा एकजोडी प्रेमीप्रेमिकाको जीवनकथा र त्यस्तै–त्यस्तै समाजका घटित जीवनकथाहरू अढाई तीन घण्टाको समयावधिमा एउटा–एउटा रिलको बन्द डिब्बाभित्र कैद गरेर सार्वजनिक गर्नु पक्कै पनि सहज विषय होइन । यस्ता चुनौतीहरू पार गर्दै सिनेमा कला सिर्जना गरिन्छ, यसको कलालाई पहिल्यै बजारले माग्ने कुरा हुँदैन तर प्रस्तुति सुन्दर र विषय सर्वग्राह्य भयो भने बजारले सहजै स्वीकार्छ ।
नेपालमा माओवादी जनयुद्धको शान्तिपूर्ण अवतरणपश्चात जनयुद्ध विषयक थुप्रै सिनेमाहरू बने । एउटा निकै महत्वपूर्ण विषय हो यो तर यस्तो ज्वलन्त मुद्दामाथि बनेका सिनेमाहरूले समाजमा कुनै सार्थक छाप छाड्न सकेनन् । भारतको नक्सलवादी आन्दोलनमाथि महान् उपन्यासकार महाश्वेता देवीद्वारा लेखिएको हजार चौरासी की माँ नामक उपन्यासमाथि चर्चित निर्देशक गोविन्द निहलानीले उपन्यास र त्यसको रचनागर्भको अति मिहिन अध्ययन गरी सोही नाममा सिनेमाकरण गरे, जसकारण सो सिनेमा अति महत्वपूर्ण भएर निस्कियो । उपन्यास लेख्दासमेत महाश्वेता देवीले बन्दकोठाभित्र रहेर कोरा कल्पनाका भरमा लेखेकी होइनन्, आन्दोलनको प्रभाव क्षेत्रमा गई त्यहाँको स्थलगत अध्ययन गरी द्वन्द्वपीडित परिवारसितको लामो उठबसपछि तयार गरिएको हो । यस्तो पूर्ण यथार्थवादी कृतिमाथि सिनेमाकरण गर्दा पनि त्यति नै गृहकार्य गरियो जसले गर्दा सिनेमा त्यो स्तरको बन्यो । हाम्रा निर्देशकहरूले भने यो विषयलाई सतही रूपमा लिएमात्र होइन, त्यो गम्भीर विषयको प्रस्तुतीकरणमा पनि ठूलै खेलाँची गरे । जनयुद्धको कारक तत्वमाथि उनीहरूले गम्भीर संवाद गर्न खोजेनन्, केवल आग्रह र पूर्वाग्रह पस्किनमात्र खोजे । जसकारण त्यो विषयका भोक्ताहरूमाथि पूरै हेल्चेक्र्याईं भयो ।
यौनलाई उत्तेजनाको विषय बनाउने काम पटक्कै राम्रो होइन, यौनलाई मनोवैज्ञानिक अर्थमा सिनेमामा प्रयोग नगर्दा हाम्रा सिनेमाहरू सस्ता बन्न पुगेका हुन् । आजसम्मको मौलिक नेपाली सिनेमा परालको आगोको एउटा दृश्यमा जब चामे चरित्र गौँथली चरित्रलाई माइतीबाट घर फर्काउन ससुराली जान्छ, त्यहाँ सासूससुरा र उसकाबीच भलाकुसारी हुन्छ, घरव्यवहारका कुरा हुन्छन्, खानपिन हुन्छ र अन्त्यमा सुत्नेबेलामा चामे सिकुवामा र गौँथली घरभित्रै सुत्नुपर्ने वातावरण बन्छ । या दृश्यमा अत्यन्त सुन्दर कलात्मक ढङ्गमा ती जोइपोइको यौनमनोविज्ञान प्रस्तुत गर्न निर्देशक प्रताप सुब्बा सफल भएका छन् । त्यहाँ विनाकुनै भद्दादृश्य तिनको यौनकुण्ठा र मनोविज्ञानको सार्थक प्रयोग भएको छ । तर, दुर्भाग्य उनका त्यसपछिका सिनेमाहरू चलनचल्तीभन्दा कति पनि फरक हुन सकेनन् । यसरी यौन मानवको जैविक आवश्यकता हो तर यौनको अर्थ पोर्नाेग्राफी पटक्कै होइन र यौनलाई मनोवैज्ञानिक तरिकाले कलात्मक अर्थमा प्रस्तुत गर्नेतिर हाम्रा सिनेमाकर्मीहरू सोच्न भ्याउँदैनन् । जसकारण सिनेमाको सन्दर्भमा यौनको अर्थ नै अश्लीलता हुन पुगेको छ ।
राज्यको सिनेमासम्बन्धी सोच अनुदार त होइन तर पूर्ण एकलकाँटे छ र यो पनि सार्थक सिनेमा निर्माण नहुनुको एउटा कारण हो । एटीएम सिनेमा र सेतो बाघ तथा सेतो सूर्य सिनेमाले राज्यबाट एउटै स्तर र परिणामको सुविधा पाउँछ । बलिदान र जङ्गल लभले एउटै सुविधा पायो । राज्यको यस्तो अव्यावहारिक नीतिले पनि सार्थक सिनेमाहरू बन्न नसकेका हुन् । सार्वजनिक रूपमा गम्भीर बहसको आमन्त्रण गर्ने सोच राख्ने निर्देशकहरूको अभावमा पनि सार्थक सिनेमाहरू सार्वजनिक रूपमा आएनन् । जसलाई विषयभन्दा पनि वस्तुको प्रस्तुतीकरण गर्नु छ, जसलाई सन्त्रास र पीडाको विनिमय गर्नु छ । ती सर्जक र निर्माताहरूबाट पीडा र अभावग्रस्त जीवनको कारक तत्वको खोजी आवश्यक नै छैन । तिनीहरूबाट यस्ता विषयहरूको अन्तर्वस्तुको खोजीको मापन सम्भव छैन । यी र यस्तै कारण हुन् हाम्रो सिनेमाले हाम्रा सिनेमाले गति लिन नसक्नुमा ।
परालको आगो, मनको बाँध, वासुदेव, सेतो सूर्य, मखुण्डो तथा नुमाफुङ आदिमा केही हाम्रो मौलिक व्याकरणको खोजी भएको हो तर यीमध्ये केही सिनेमा बजारवादबाट पृथक रहन सकेनन् । दक्षिणबाट त्यस्तै सिनेमाहरू आए, हामीले तिनबाट त्यस्तै सूत्रहरू ग्रहण गर्याँै र समाजलाई त्यस्तै पस्कियौँ । नेपाली सांस्कृतिक जनजीवनको प्रशस्त मोडेल तुलसी घिमिरेले हाम्रा सिनेमामा दिन खोजेका हुन् तर सिनेमाको नेपाली मूल सूत्रको सिर्जना गर्न भने उनी पनि सफल हुन सकेनन् । रहर, दुई थोपा आँसु, कुसुमेरुमाल तथा लाहुरेमा उनले नेपाली जनजीवनको वास्तविक रूपको खोजी त गरेकै हुन्, हाम्रो मौलक सिने व्याकरणको कमीमा तिनले पूर्णता पाउन सकेनन् तथापि तुलनात्मक रूपमा ती सिनेमाहरू सफल र सार्थक बन्न पुगे । साहित्य लेखनको व्याकरणभन्दा पृथक व्याकरण हो । सिनेमाको र नेपाली सिनेमाको व्याकरण कुनै सिनेमाको विश्वविद्यालयमा पढेर प्राप्त हुने पनि होइन । यसको व्याकरणको खोजी हाम्रै जीवनका पलपलमा घटेका घटनामा पाइन्छ र तिनको खोजी गरी हाम्रो मौलिक व्याकरण निर्माण गर्ने जिम्मा पनि हामै्र हो । अष्लझब
आजका सिनेमामा आइटम डान्सहरू प्रायः राखिएकै हुन्छन् । यी कुन उद्देश्य र के कार्यव्यापारका लागि राखिएका हुन् भन्ने कुराको निर्देशकसित कुनै जवाफ हुँदैन र आइहाल्यो भने उही रेडिमेड जवाफ हुन्छ बजारको माग । नाटकीय शैलीमा नसोचिएका नर्तक र नर्तकीको आगमन सिनेमामा एक्कासि के उद्देश्यले हुन्छ ? एउटा सर्जक र त्यो पनि सम्पूर्ण सिनेमा युनिटको क्याप्टेन भनिने निर्देशक जब बनिबनाउ जवाफभन्दा माथि उठ्न सक्दैन । आफ्नो सिर्जनाका सन्दर्भमा भने हाम्रो सिनेमाले कसरी फड्को मार्ला ? यो दृश्य यसकारणले यहाँ रह्यो, कुनै महिला चरित्रको यो अङ्गलाई यसकारण क्लोज अप सटमा खिच्नु पर्यो । यसकारण यी–यी चरित्रलाई यस्तो–यस्तो भेषभूषामा उतारियो आदि जस्ता तथ्यलाई पुष्टि गर्ने सामथ्र्य सम्बन्धित निर्देशकमा रहेन भने उसले निर्देशन गरेको सिनेमा सफल हुने कुरै आउँदैन । सिनेमामा यस्ता दृश्य रहे भने दर्शकमा यौन प्यास बढ्छ, यस्ता दृश्यले जसरी जुन बाटोबाट हुन्छ, पैसा कमाउन प्रेरित गर्छ, एउटा नायकले असङ्ख्य खलनायकहरूलाई एकै मुक्कामा भगाउँछ र समग्रमा सिनेमा बक्स अफिसमा हिट हुन्छ आदि जस्ता विषयहरू निर्देशकका काबुमा रहेनन् भने निर्देशक एउटा सर्जक नभएर निर्माताको कर्मचारीमात्र हुन्छ ।
सार्थक सिनेमाहरू हलमा टिकट काटेर हेर्ने, नायक–नायिकाको पीडामा च्वँ–च्वँ गर्ने र तिनको अस्वाभाविक सफलतामा हातैले थपडी नबजाए पनि मनले थपडी बजाउने प्रयोजनका लागि मात्र बनेका हुँदैनन् । चलचित्रको व्याकरण, प्रस्तुति र विषयहरू पनि अनुभूत गर्ने कुरा हुन् । भारतीय हस्ती सत्यजित रायका सिनेमाहरूको कथ्य र प्रस्तुति दुवैको सार्थक संयोजनले दर्शकलाई तानेको हो । उनको अमर कृति पाथेर पाञ्चालीमा देखाइएको गरिबीको चरम पीडामात्र होइन, त्यसको कारक तत्व पनि त्यहाँ खोजिएको छ । त्यहाँ यथास्थितिमात्र नभएर यथार्थ पनि छ । जसकारण सो कृति अजम्बरी बन्न पुग्यो ।
एकपटक हाम्रा विद्रोही पार्टी तर शान्तिप्रक्रियापछि सरकारको नेतृत्व गरिसकेका भूतपूर्व प्रधानमन्त्री र एउटी चलनचल्तीकी कामुक नायिकाको युगल नृत्यले त्यतिबेला चर्चाको शिखर चुमेको थियो । वास्तवमा एउटा नेता एउटी सेलिब्रेटी नायिकासित नाच्नु कुनै पहाड खस्नु थिएन, त्यो साधारण कुरा थियो तर सो प्रसङ्गलाई लिएर आफूलाई आमूल परिवर्तनकारी भन्ने सांस्कृतिककर्मीले त्यसलाई नेपालको सांस्कृतिक क्रान्तिको उपमा दिएका थिए । योचाहिँ बडो विडम्बना थियो ।
यस्तै विडम्बनाका कारण हाम्रा सिनेमामात्र होइन, हाम्रो सांस्कृतिक चिन्तन पनि माथि उठ्न नसकेको । हाम्रा सांस्कृतिक नेताहरूको व्यभिचारी अतीत पनि हामीले देखेसुनेकै हो । अतः हाम्रो सिनेमा पनि त्यसबाट अछूत हुनै सक्दैन । सिनेमाको नेपालीकरण भन्नु नेपाली भाषा, गीत र नेपाली अनुहारको प्रयोगमात्र होइन, नेपाली व्याकरण पनि हो । जसको खोजीमा हाम्रा सिनेकर्मीहरू लाग्न ढिला भइसकेको छ ।