इलाम १५, कार्तिक / नेपालको आम्दानी गर्ने एउटा मुख्य स्रोत जडीबुटी हो । नेपालमा भएका जडीबुटी सङ्कलन र प्रशोधन गर्ने हो भने मनग्य आम्दानी गर्न सकिन्छ । नेपालका अधिकांश स्थानका नागरिक कुनै न कुनै माध्यमबाट आयूर्वेदिक औषधि अर्थात जडीबुटी प्रयोग गर्नेमा पर्छन् ।
तथ्याङ्कलाई नै आधार मान्ने हो भने पनि ७० प्रतिशत नेपालीले औषधिको रूपमा आफ्नै गाउँठाउँमा पाइने जडीबुटी प्रयोग गर्दै आएका छन् । तर जडीबुटीको सङ्कलन तथा प्रशोधन गर्ने निकायले यो विषयमा चासो दिएको छैन ।
फाइदाको हिसाबले अस्पतालको भन्दा आयुर्वेदिक औषधि राम्रो मानिन्छ । दिनप्रतिदिन स्वास्थ्य रहनका लागि योग र आयूर्वेदिक औषधि प्रयोग गर्नेको सङ्ख्यामा वृद्धि भएको देखिन्छ । विभागका अनुसार वार्षिक रूपमा १५ देखि २० पतिशत वृद्धि भएको छ । जडीबुटीलाई अन्य औषधि जति नै महत्व दिन सके नेपाल आयूर्वेदिक औषधिमा आत्मनिर्भर बन्न धेरै समय लाग्ने छैन । तर सरकारी निकायले आयूर्वेदिक क्षेत्रमा खुलेर काम गर्न सकेको छैन । सरकारी योजना छ, भत्ता पचाउने कर्मचारी धेरै छन्, मुलुक आयूर्वेदमा आत्मनिर्भर बन्ने नारा धेरै छन् तर कार्यान्वयन छैन ।
वि.सं २०३८ सालमा स्थापना भएको आयूर्वेदिक विभागले २४ वर्षसम्म त कर्मचारीको तलब भत्ता दिँदै बितायो । त्यसबाहेक यो क्षेत्रमा यतिका समयसम्म कुनै पनि काम भएन । त्यसपछि ०६४ देखि बल्ल सामान्य जनचेनताको कार्यक्रम सञ्चालन गर्न थालेको हो । बाथ, नसर्ने रोगहरू, ब्लड पेसर, उच्च रक्तचाप र मधुमेह रोगको उपचारका लागि गाउँघरमा क्लिनिकका रूपमा सबै जिल्लामा सञ्चालन गरिँदै आइरहेको छ ।
जनचेतना कार्यक्रममा, आयुर्वेदिक स्वास्थ्य शिक्षा तथा योगा कार्यक्रम पनि सञ्चालन भइरहेका छन् तर उपलब्धिका सवालमा कुनै कर्मचारीको जवाफ छैन । १० वर्षसम्म पनि उपलब्धिका बारेमा सरकार अनविज्ञ रहेको छ ।
सङ्कलन र प्रशोधन केन्द्र खोल्न जरुरी
नेपाल जडीबुटीको धनी देश हो भनिएको छ तर अहिलेसम्म सरकारी निकायबाट जडीबुटी सङ्कलन र प्रशोधन केन्द्र सञ्चालन गरिएको छैन । संघीय संरचनामा अब ७ सय ५३ वटा नै स्थानीय निकायमा अनिवार्य रूपमा सङ्कलन र प्रशोधन केन्द्र खोल्न सकेको खण्डमा आयूर्वेदिक क्षेत्रमा सफलता मिल्ने देखिन्छ ।
९१ बाट २३ मा झर्याे निःशुल्क औषधि
सरकारले नागरिकका लागि ९१ वटा आयूर्वेदिक औषधि निःशुल्क वितरण गर्दै आएको थियो । तर यो आर्थिक वर्ष ९१ देखि २३ वटामा झारेको छ । ६८ वटा औषधि हटाएको छ । धेरैथरीको औषधि राख्दा निरन्तर नपाइने हँुदा कम तर अनिवार्य रूपमा पाइने औषधि राख्ने लक्ष्य स्वरूप औषधि घटाएको विभागको भनाइ छ ।
अब भने १६ प्रकारको रोगको २३ वटा नियमित पाइने औषधि राख्ने तयारी गरेको हो । निःशुल्क रूपमा दिने आयूर्वेदिक औषधि विपन्न र सम्पन्न दुवै नागरिकका लागि दिँदै आएको छ । २३ वटा औषधि वितरणको काम सुरु गरेपछि विभागदेखि जिल्लासम्म २३ वटा औषधि अनिवार्य रूपमा राखिने व्यवस्था गरिने छ । २३ वटा औषधि स्वीकृतिका लागि मन्त्रालयमा सिफारिस गरिएको छ । स्वीकृत भएको खण्डमा अमल पित्ता, बाथ, पेटसम्बन्धी रोगलगायत १६ वटा रोगेको २३ वटा निःशुल्क औषधि वितरण गरिने छ । गत वर्ष ८ करोड आयूर्वेदिक क्षेत्रमा बजेट विनियोजन गरिएको थियो । यो वर्ष भने १२ करोड विनियोजन गरेको छ । प्रत्येक वर्ष बजेटको आकार बढाए पनि आयूर्वेदिक क्षेत्रमा कुनै पनि विकास हुन सकेको छैन । यतिका समयसम्म आयूर्वेदिक विभागको कार्यक्रम सबै समुदायसम्म पुग्न सकेको छैन ।
इलामका आयूर्वेध औषधालयमा आकर्षण बढ्दै
आधुनिक जीवनशैली र विषादीयुक्त खानपानले लाग्ने रोगका कारण एलोपेथिकभन्दा आयूर्वेदिक औषधिमा सर्वसाधारणको चासो र आर्कषण बढ्न थालेको हो । मेची अञ्चल आयूर्वेद औषधालय इलामको तथ्याङ्कले जिल्लामा आयूर्वेदिक उपचार पद्धतिमा आर्कषण बढ्दै गएको देखाउँछ । आर्थिक वर्ष ०७३ र ०७४ मा जिल्लाका चार हजार ५ सय ७२ जनाले आयूर्वेद सेवा लिएकोमा गत आर्थिक वर्षमा सो संख्या पाँच हजार २ सय २७ पुगेको छ । गत आर्थिक वर्षमा नयाँ आयूर्वेद सेवा लिने ३ हजार ८ सय ६६ जना थिए भने एक हजार ३ सय ६१ जना पुराना रोगीले सेवा लिएको कार्यालयको तथ्याङकमा छ । एलोपेथिक उपचारको तुलनामा ‘साइड इफेक्ट’ नहुनु भएकाले आयूर्वेद औषधिप्रति आर्कषण बढ्दै गएको औषधालय प्रमुख पौडेलले बताए । ग्रामीण तहका बासिन्दालाई लक्षित गरी औषधालयले गाउँघर क्लिनिक समेत सञ्चालन गर्दै आएको छ । सूर्याेदय नगरपालिका–१२ आइतबारेमा अञ्चल आयुर्वेद औषधालयको अतिरिक्त जिल्लाका अन्य ४ स्थानबाट आयुर्वेदिक सेवा संचालन गरिरहेको छ । औषधालयबाट ३० भन्दा बढी प्रकारका रोगको उपचार हुँदै आएको छ ।