नवरात्रको सातौँ दिन कालरात्रिको आराधना, आजै भित्र्याइँदैछ फूलपाती

0
290

असोज ३०, २०७५, दमक / नवरात्रको सातौँ दिन अर्थात मंगलबार महासप्तमी। नवदुर्गामध्येकी कालरात्रि देवीको पूजा आराधना गरिँदै छ। नवरात्रमा प्रत्येक दिन नवदुर्गाका एक–एक स्वरूपको आराधना गर्ने परम्पराअनुरूप नवरात्रको सातौँ दिन नवदुर्गाको सातौँ रूप कालरात्रिकोे पूजा–आराधना गरिन्छ। कालरात्रिको स्वरूप भयंकरको छ। कालो वर्णकी र केश फिँजाएकी यिनले गलामा विद्युत जस्तै चम्किने माला लगाएकी छन्।

तीन आँखा भएकी कालरात्रिले बारम्बार निश्वास लिने गर्छिन्। त्यसबाट अग्निको ज्वाला उत्पन्न हुन्छ। चार भुजा भएकी यिनले तरवार र खड्ग धारण गरेकी छन्। स्वरूप डरलाग्दो भए पनि कालरात्रिले भक्तहरूलाई सदैव कल्याण गर्छिन् भन्ने विश्वास गरिन्छ। महासप्तमीका दिन विद्याकी देवी महासरस्वतीको विशेष पूजा गरिन्छ। यस्तै भद्रकालीको आराधना पनि गरिन्छ। विभिन्न शक्तिपीठहरूमा पशुबलिसहितको पूजा पनि चल्छ। यो समयमा देवीभागवत तथा चण्डी पाठ गर्ने र शक्तिपीठमा दर्शन गर्न जाने परम्परा छ। शक्तिपीठ तथा जमरा राखिएका दशैँघरमा महासप्तमीको बिहान वा दिउँसोको शुभसाइतमा नवपत्रिका भित्र्याइन्छ। यसलाई बोलीचालीमा फूलपाती भनिन्छ।

केरा, दारिम, धान, हरिद्रा, मानक, कचु, बेल, अशोक र जयन्ती गरी नौ प्रकारका वनस्पतिलाई नवपत्रिका भनिन्छ। यी नौवटा वनस्पति भित्र्याई नवदुर्गालाई स्नान गराउने र प्रत्येक पत्रहरूमा विभिन्न देवीहरूको पूजा गरिन्छ। यो अवसरमा काठमाडौँको हनुमानढोका दरबार, गोरखा दरबारलगायत स्थानमा समेत विशेष कार्यक्रमका साथ फूलपाती भित्र्याइन्छ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here