इलाम माइखोला जलविद्युत परिक्षण तयारीमा

0
539

इलाम २२ असोज/ इलाममा जलविद्युतको परिक्षण प्रशारण गरिने भएको छ । इलाम नगरपालिका ५ बरबोटे र वडा २ सुम्बेकस्थित माईखोलामा निर्माण हुँदै गरेको ७.८ मेगावाटको सुपरमाई जलविद्युत आयोजना परीक्षण उत्पादनको तयारी गरिएको हो । आगामी असोज २५ गते परीक्षण गर्ने तयारी रहेको आयोजनाले जनाएको छ । २०७७ मा आयोजना सम्पन्न गर्ने लक्ष्य राखिए पनि दुई वर्ष अगावै आयोजना सम्पन्न हुने चरणमा रहेको आयोजनाको निर्माणकर्ता भूगोल इन्फास्ट्रक्चर कम्पनी प्रालिका अध्यक्ष मोहनविक्रम कार्कीले जानकारी दिनुभयो ।
आयोजनाका लागि सानिमा बैङ्क लिमिटेड, सिद्धार्थ बैङ्क लिमिटेड, सेन्चुरी कमर्सियल बैङ्क लिमिटेड र ज्योति विकास बैङ्क लिमिटेडको एक अर्ब दश करोडलगानी रहेको छ भने सञ्चालकहरूबाट ४० करोड गरी एक अर्ब ५० करोड रुपियाँको लगानीमा तयारी गरिएको हो ।
विद्युत उत्पादनका लागि तीन हजार २ सय ३५ मिटर लामो र २ दशमलव ३ मिटर ब्यास भएको हेडरेस पाइपमार्फत माईखोलाको पानी फर्काइएको छ । तीन सय मिटर लामो पेनस्टक पाइपबाट ल्याइएको पानीले विद्युत गृहमा जडित दुईवटा ३९ सय किलोवाट क्षमताको होरिजेन्टल एक्सिस भएको फ्रान्सिस टर्वाइनहरू सञ्चालन हुने र यहाँ जडान गरिएका दुईवटा ‘थ्री फेज एसी सिनक्रोनस’ जेनेरेटरमार्फत ७८ सय किलोवाट विद्युत उत्पादन गरिने अध्यक्ष कार्कीले जानकारी दिनुभयो ।
आयोजनाबाट वार्षिक सरदर ४७.३९ गिगावाट घण्टा विद्युतीय ऊर्जा उत्पादन जनाइएको छ । आयोजना सम्पन्न भएपछि यसले उत्पादन गरेको ऊर्जा शक्ति काबेली कोरिडोरमा जोडिने बताइएको छ ।
यता इलामको सिद्धिखोलामा पनि सिद्धिखोला जलविद्युत आयोजनाको काम सुरु भएको छ । रोङ गाउँपालिकाको रम्याङ फेदीमा बाँध बाँधेर सलकफुर फेदीमा पावर हाउस निर्माण गर्ने योजना रहेको निर्माणकर्ता मैनाचुली निर्माण सेवा प्रालिले जनाएको छ । कुल एक अर्ब ८३ करोड रुपियाँ लगानी रहने आयोजनाका लागि एक अर्ब २७ करोड रुपियाँ प्राइम कमर्सियल बैङ्क र नेपाल इन्भेस्टमेन्ट बैङ्कले आधा–आधा लगानी गर्ने सम्झौता भइसकेको लगानीकर्ता मदन अधिकारीले जानकारी दिनुभयो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here