नेपाल–चीन सीमामा सशस्त्र प्रहरी पोष्ट राखिने

0
399

विराटनगर,२१ असोज / उत्तरी सीमा क्षेत्रमा सुरक्षा बढाउन प्रदेश नम्बर १ का भारत र चीनसँग सीमा जोडिएका ७ जिल्लाका २७ स्थानमा सशस्त्र प्रहरी बलले नयाँ पोष्ट थप्ने भएको छ । अहिले झापा मोरङ र सुनसरीमा १६ वटामात्र बोर्डर आउट पोष्ट(बीओपी) छन्। सीमा वारपार हुने अपराधलाई रोक्न पोष्ट थप्न लागिएको हो।

पहिलो पटक इलाममा ४ वटा, पाँचथरमा २, ताप्लेजुङ र संखुवासभामा एकरएक सीमा सुरक्षा पोष्ट थपिन लागेका हुन्। ताप्लेजुङको ओलाचुङगोला र संखुवासभाको किमाथांकामा राखिने बोर्डर आउट पोष्टले नेपाल र चीनको सीमाको निगरानी गर्नेछ । एउटा सीमा सुरक्षा बाहिरी पोष्टमा ३५ जना हुन्छन्। २७ वटामा ९ सय ४५ जना आवश्यकता पर्छ। एउटा सीमा सुरक्षा बाहिरी पोष्टले झण्डै १५ देखि २० किलोमिटर दूरी हेर्नुपर्छ। सँगैको भारतीय सीमा सुरक्षा बलको एउटा पोष्टले दुई दशमलव ५ किलोमिटर सीमा क्षेत्रमात्र हेर्छ ।

सशस्त्र प्रहरी बल मुख्यालय सुनसरी नम्बर १ बाहिनीका प्रमुख डिआईजी मन्दिप श्रेष्ठका अनुसार थपिने पोष्टहरुले अब ७ किलोमिटरको छोटो दूरीमा रेखदेख गर्नेछन्। पहिलेको तुलनामा सीमा सुरक्षा र क्रस बोर्डर क्राइम कन्ट्रोलका लागि यसले निकै ठूलो राहत दिने छ।

जनशक्तिको अभावका कारण सीमा क्षेत्रमा अहिले प्रत्येक ७ किलोमिटरमा एउटा बीओपी राखिने र पछि जनशक्ती थप हुँदै गएमा त्यो भन्दा कम दूरीमा बीओपी राखिने श्रेष्ठले जानकारी दिए । झापामा हाल ५ वटा बीओपी छन् जसले १ सय १८ किलोमिटर सीमा क्षेत्रको निगरानी गरिरहेको छ। झापामा अब १२ वटा बीओपी थपिने छन्।

त्यस्तै मोरङमा ६३ दशमलव २ किलोमिटर क्षेत्रमा ५ वटा बीओपी छन्। मोरङका रतुवामाई नगरपालिका, सोनाबर्सी नगरपालिका, जहदा गाउँपालिकाको गमरीया र भुटाहामा थप ४ वटा बीओपी थपिने छन्।

सुनसरीमा हाल ६ बीओपीले ६० दशमलव ९२ किलोमिटर सीमा क्षेत्रको निगरानी गरिरहेको छ। सुनसरीमा बर्ज, हरिनगरा र कोशी गाउँपालिकाको सीमानामा तीन बीओपी थपिन लागेको हो। हरिनगरामा भारतबाट आएका अपराधिक समूहले भुटाहा निवासी खुर्सीद आलमको गोली हानी हत्या गरेका थिए।

इलामको भारतीय सीमा ५२ दशमलव ५ किलोमिटर छ। त्यस्तै पाँचथरको भारतसँग जोडिएको ४४ दशमलव ३८ किलोमिटर सीमा क्षेत्र पर्छ । ताप्लेजुङको ६१ दशमलव ६ किलोमिटर क्षेत्र भारतसँग जोडिएको छ भने ७२ किलोमिटर सीमा चीनतर्फ जोडिएको छ। त्यस्तै, संखुवासभाको ८१ दशमलव ५ किलोमिटर क्षेत्र चीनसँग सीमा जोडिएको क्षेत्र हो।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here