निक्षेप तान्ने होडबाजीमा बैंकहरु

0
126

काठमाडौं,असोज १८/ लगानी योग्य रकम अभाव देखाउँदै उच्च ब्याजदर दिएर निक्षेप तान्ने होडबाजीमा उत्रेका बैंकहरुले आर्थिक वर्षको पहिलो त्रैमाशिक सकिनै लाग्दा पनि व्याजदर घटाउन सकिरहेका छैनन् । बचतमा ७ प्रतिशत र मुद्दती निक्षेपमा ११ प्रतिशत भन्दा माथि नजाने सहमति गरेका वाणिज्य बैंकहरुमा भर्खरै मात्र ब्याजदर सार्वजनिक गरिरहेका केही बैंकको ब्याजदर हेर्दा ब्याजदर अपेक्षित रुपमा घट्न सक्ने सम्भावना न्यून देखिन्छ ।
बुधबारमात्र नयाँ व्याजदर सार्वजनिक गरेको माछापुछ्रे बैंकले साधारण बचतमा ७ प्रतिशतसम्म ब्याजदर दिने घोषणा गरेको छ भने एक बर्षे मुद्दती निक्षेपमा साढे १० प्रतिशत ब्याजदरको अफर गरेको छ । आज (आसोज १८) मात्र नयाँ ब्याजदर सार्वजनिक गरेको मेगा बैंकको पनि बचतमा ७ प्रतिशत र निक्षेपमा साढे १० प्रतिशत नै छ । निक्षेपको ब्याजदर बढी हुँदा निक्षेपकर्तालाई फाइदाको हुने भएपनि त्यहि निक्षेपकर्ताबाट महंगोमा निक्षेप उठाएका बैंकहरुले ऋण त्यो भन्दा अझै महंगोमा दिने भएकाले ऋणीहरु मारमा पर्ने गर्छन् । यसकारण पनि निक्षेपको ब्याजदरमा आम ऋणीहरुको चासो हुने गरेको छ । यता सिभिल बैंकले पनि आजै मात्र नयाँ ब्याजदर अपडेट गरेको छ ।
नयाँ अपडेट अनुसार निक्षेपको ब्याजदर घटेको छैन । यसले पनि मुद्दती निक्षेपमा साढे १० प्रतिशतनै अफर गरेको छ । बचतमा ७ प्रतिशत छ । यस्तै असोज सात गतेबाट नयाँ ब्याजदर सार्वजनिक गरेको एभरेष्ट बैंकको भने एक बर्षे मुद्दतीमा अरु बैंकको भन्दा तुलनात्मक रुपमा कम छ । यसले एक वर्षे मुद्दतीमा ९ प्रतिशत ब्याजदरको अफर गरेको हो ।
बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले एक कार्यक्रममा असोजदेखि ब्याजदर घट्न शुरु गर्ने उल्लेख गरेका थिए । सोही कार्यक्रममा गर्भनर डा. चिरञ्जीवि नेपालले बैंकहरुको तरलता अवस्था सहज हुँदै गएकाले ब्याजदर घटाउन तर्फ लाग्नुपर्ने भनेपछि ढुंगानाले असोजदेखि ब्याजदर घट्न शुरु हुने अभिव्यक्ति दिएका थिए । यद्यपि, अहिले पहिलो त्रैमास सकिनै लाग्दाको अवस्थामा पनि बैंकहरुले सार्वजनिक गरेको ब्याजदरले अपेक्षित रुपमा घट्न सक्ने अवस्था देखाउँदैन । अधिकांश नयाँ ब्याजदर सार्वजनिक गरेका विकास बैंकको साधारण बचतमा ८ प्रतिशत र मुद्दती निक्षेपमा साढे ११ प्रतिशतसम्म रहेको छ ।
ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली बजार टाइट जस्तो देखिएकाले अब ब्याजदर बढ्न सक्ने बताउँछन् । कुनै समय ब्याजदरमा थोरै तलमाथि भएपनि दीर्घकालिन रुपमा अझै एक डेढ वर्ष यस्तै रहने उनको तर्क छ । निक्षेप संकलन भन्दा ऋण लगानीमा आक्रामक बनेका बैंकहरुका कारण निम्तिएको भनिएको तरलता अभाव फेरि बढ्न सक्ने आँकलन बैंकरहरु आफैँले गर्न थालेका छन् । बैंकहरुले अझैपनि निक्षेपभन्दा कर्जा लगानी बढी गर्न छोडेका छैनन । साउन यता २८ वटा बाणिज्य बैंकले ५१ अर्ब रुपैयाँ निक्षेप संकलन गर्दा ९७ अर्ब रुपैयाँ ऋण लगानी गरेका छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here