कृषि प्रधान मुलुकलाई प्रश्न, १ अर्ब ७ करोड ८४ लाख बढीको खसी बोका आयात

0
438

काठमाडौं, १७ असोज / चालू आर्थिक वर्ष २०७५ र ०७६ को साउन र भदौ महिनामा १ अर्ब ७ करोड ८४ लाख ७५ हजार रुपैयाँ बराबरको जिवित पशु आयात गरिएको छ । भन्सार विभागका अनुसार खसीबोका, च्यांग्रा लगायतका अन्य पशुहरुको यो अवधिमा आयात गरिएको हो । यस्ता पशुको आयातमा केही राजश्व संकलन गर्नुबाहेक व्यापार घाटा शतप्रतिशत रहेको भन्सार विभागले जनाएको छ । पशु आयातबाट विभागले यो अवधिमा ४ करोड १३ लाख ८४ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

दशैँ, तिहार जस्ता चाडमा खसीबोका बढी भित्रिने भएकाले यस्तो आयात अझै बढ्न सक्ने आँकलन गरिएको छ । जसले गदौ असोज महिनामा यो शीर्षकको व्यापार घाटा थप बढ्ने भन्सार विभागले जनाएको छ । चौपाया खरिदबिक्रि सेवा संघले यो दशैंमा काठमाडौंलाई ४० हजार खसीबोका आवश्यक पर्ने जनाएको छ । संघका अध्यक्ष भानुभक्त पराजुलीका अनुसार यी माग अनुसारका खसी बोकाको ७० प्रतिशत आयात भारतको उत्तर प्रदेशबाट हुन्छ । यस्तै केही च्यांग्राहरु छिमेकी देश चीन र नेपालको मुस्ताङले धान्छ ।

तथ्यांकअनुसार दुई महिनामा खसीबोका मात्र ७७ करोड ५० लाख १५ हजार रुपैयाँ बराबरको १ लाख १ सय ८५ वटा भित्रिएको छ । यस्तै दुई महिनामा तयारी अवस्थाका माछामासु ७ करोड २ लाख ७७ हजार रुपैयाँ बराबरको भित्रिएको छ । जसमा मासु र मासुजन्य पदार्थ ३ करोड ५१ लाख ३९ हजार रुपैयाँको आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । यस्तै माछा पनि ३ करोड ५१ लाख ३९ हजार बराबरको आयात गरिएको छ ।

यद्यपी, मासुको आयात भन्दा निर्यात बढी रहेको देखिन्छ । यसको निर्यात भने ४ करोड ४२ लाख १२ हजार रुपैयाँ बराबरको भएको तथ्यांकमा उल्लेख छ । यता, माछाको निर्यात भने २८ हजार रुपैयाँ बराबरको मात्र भएको छ । मासु र मासुजन्य पदार्थमा भने देशको वैदेशिक व्यापार ९० लाख ७३ हजार रुपैयाँ नाफामा छ । माछाको व्यापार घाटा भने २७ करोड ५५ लाख ४३ हजार रुपैयाँको रहेको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here