काठमाडौं, ११ असोज / दसैं र तिहारका लागि राष्ट्र बैंकले असोज २१ गतेदेखि नयाँ नोट साटिदिने भएको छ । सर्वसाधारणका लागि प्रतिव्यक्ति २१ हजार रुपैयाँसम्मका दरले नयाँ नोट सटही सुविधा दिने तयारी भएको राष्ट्र बैंकले जनाएको छ ।
‘सर्वसाधारणले विभिन्न दरका २७ हजार रुपैयाँसम्म नयाँ नोट सटही सुविधा पाउनेछन्,’ राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग प्रमुख लक्ष्मी प्रपन्न निरौलालले भने । राष्ट्र बैंकले ५, १०, २० र ५० र एक सय दरका गरी प्रतिव्यक्ति २७ हजार रुपैयाँसम्म नोट साटिदिने तयारी गरेको निरौलालले बताए ।
बैंक तथा वित्तीय संस्थालाई भने राष्ट्र बैंकले ११ गतेदेखि (बिहीबार) देखि नयाँ नोट वितरण गर्दै छ । बैंक तथा वित्तीय संस्थालाई पहिले नयाँ नोट दिए पनि ती संस्थाले पनि २१ गतेदेखि मात्र सर्वसाधारणलाई वितरण सुरु गर्नेछन् ।
यो वर्ष पनि नयाँ नोटका लागि राष्ट्र बैंकमै आउनुपर्ने बाध्यता नरहेको निरौलाले बताए । नोट कोष सुविधा लिएका र सरकारी स्वामित्वका राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंकबाट पनि सर्वसाधारणले नयाँ नोट साट्न सक्ने उनको दाबी छ ।