रौतहटमा गोली चल्यो, इन्सपेक्टर घाइते

0
247

असोज १०, रौतहट / रौतहटमा शव जलाउने बिषयको विवाद एक साता नबित्दै फेरि दोहोरिएको छ । जिल्लाको मध्यभाग गरुडा नगरपालिका–९ श्रीपुर र गमहरिया गाँउबीच नहरको छेउमा बुधवार फेरि शव जलाउने बिषय लिएर दुई पक्षबीच झडप भएको हो ।

झडपलाई नियन्त्रण गर्न प्रहरीले दर्जनौं राउण्ड गोली प्रहार गर्नका साथै दर्जनौं अश्रुग्यास प्रहार गरेको छ । झडपको क्रममा प्रहरीतर्फ प्रहरी निरीक्षकसहित डेढ दर्जन घाईते भएका छन् भने सोही अनुपातमा स्थानीय पनि घाइते भएका छन् ।

श्रीपुर र गमहरियाबीच विवादित स्थानमा एक समूहले गरुडा–९ का ६५ वर्षीय रामपृत शहनीको शव जलाउन खोज्दा बुधवार दिउँसो दुुई समूहबीच झडप भएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी निरिक्षक चतुर्भुज ओझाले जानकारी दिए ।

झडपलाई नियन्त्रणमा लिन प्रहरीले ३२ राउण्ड हवाई फायर गर्नुका साथै २३ राउण्ड अश्रुुग्यास प्रहार गर्नुुपरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी केदार ढकालले बताए ।
विवादित उक्त स्थानमा शव जलाउन नहुने सहमति विपरित एक समूहले बलपुर्वक शव जलाउन खोज्ने र रोक्न जाने प्रहरीमाथि ढुंगामुढा सुरु गरेपछि झडपले उग्ररुप लिएको एसपी ढकालले बताए ।

झडपको क्रममा प्रहरी निरीक्षक चतुर्भुज ओझासहित डेढ दर्जन नेपाल प्रहरीका र आधा दर्जन सशस्त्र प्रहरी घाइते भएको एसपी ढकालले जानकारी दिए । नेपाल प्रहरीका असई विश्वनाथ यादवलाई गम्भिर चोट लागेको उनले बताए ।

सयौंको संख्यामा शव जलाउने समूह र त्यतिकै संख्यामा जलाउन नदिने समूह एकैपटक बाँसका लाठी भाठासहीत ढुंगामुढा बर्षाउन थालेपछि झडपले उग्ररुप लिएको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय गरुडा, ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर, शिवनगर, समनपुर, जिल्ला प्रहरी कार्यालय गौरका साथै नेपाल प्रहरीका एकदर्जन बढी पोष्टका जनशक्ति र त्यतिकै हाराहारीमा सशस्त्र प्रहरीको जथा घटनास्थल पुगेर घण्टौंको प्रयासपछि अवस्था नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

एकसाता अघिमात्रै सोही स्थानमा एक समूहले बलपूर्वक शव जलाउन खोज्दा दोहरो झडप भएको थियो । झडपलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्नुका साथै अश्रुग्यास प्रहार गरेका थिए ।उक्त घटनामा प्रहरी नायब निरीक्षक सुरेश गुप्तासहित आधा दर्जन प्रहरीलाई चोटपटक लागेको थियो ।

दुईगाँउको बीचमा रहेको उक्त स्थानमा शव जलाउन नहुने यसअघि नै दुई पक्षीय सहमति भएपनि एक समूहले पटक पटक बलपूर्वक सहमति विपरित शव जलाउन खोज्दा विवाद हुने गरेको एसपी केदार ढकालले बताए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here