नेता र नीति फेरिए, सडकको हालत फेरिएन

0
231

विमल लामिछाने 

विशेष महत्व बोकेका पूर्वका सडकहरु पछिल्लो समय प्रश्नको घेराबन्दीमा पर्दै गएका छन् । कतै निर्माण र पुननिर्माणमा समस्या आएको छ भने पहाडी भूभागमा बाढी पहिरोको क्षयीकरणले सडक साँघुरिँदै गएका छन् । तराइका सडक भने छाडा पशु चौपाया र क्षमताभन्दा बढी सवारी साधनको बोझ र दुर्घटनाका कारण प्रश्नमा परेका हुन् ।
पाँचथर, इलाम र धनकुटाका तीन लाख बढी गाउँबासीले प्रयोग गर्दै आएको राँके रबी धनकुटा सडक ९ दशक अघिबाट निर्माण शुरु भएको थियो । पूर्वी पहाडी जिल्लाको महत्वको सडक लामो प्रतिक्षापछि निर्माणको प्रक्रिया शुरु भएपनि दलीय स्वार्थका कारण निमाणकार्यले तिब्र गति लिन सकेको छैन । निर्माण कार्य चाँडो सक्न स्थानीयबासी र जनप्रतिनिधिले माग गरेका छन् । पछिल्लो समय प्रदेश सरकारको पनि ध्यान खिचिएको छ ।
सिफारिस भएको चार महिना पछि ऋण दिने भारतिय बैंकले ठेकेदार कम्पनीको प्रि–क्वालिफिकेसनमा छनौटमा सहमति दिएपछि राकेँ–रवि–भेडेटार सडक कालोपत्रे गर्ने कामको प्रक्रिया शुरु भएको छ ।
जनताको लामो माग र जनप्रतिनिधिको दबाबपछि राँके भेडेटार सडक कालोपत्रे गर्ने प्रक्रिया अघि बढेको हो । डिपिआर निर्माण भएपनि काम अघि बढ्न नसकेको भन्दै चिन्तामा रहेका स्थानीयबासीमा निर्माण कम्पनी छान्नेगरि सूचना आवहान भएपनि स्थानीयमा विश्वासको वादल भने कायमै छ । सरकारले पाँचथरको राँकेदेखि रवि हुँदै धनकुटाको राजारानीसम्मको १ सय ३ किलोमिटर सडक कालोपत्रेका लागि ठेक्का प्रक्रिया अघि बढेको भनेको छ ।
निर्माण कम्पनी छनौट भएको ३६ महिनामा सडक निर्माण सकिने लक्ष्य लिइएको सडक कालोपत्रेका लागि अर्थ मन्त्रालयले अनुमति दिइसकेको र आयोजना निर्माणका लागि भारतीय एग्जिम बैङ्कबाट स्वीकृति प्राप्त भएको प्रतिनिधि सभा सदस्य वसन्तकुमार नेम्वाङले जानकारी दिए ।
सडक कालोपत्रेकालागि पहल गर्दै आएका प्रदेश नं. १ सरकारका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले प्रदेश सरकारको गौरवको आयोजनाको रुपमा रहेको यो सडक निर्माण हुने निश्चित भएको बताएका छन् ।
मन्त्री आङ्बोले पाँचथर, इलाम र धनकुटाको मेरुदण्डको रुपमा रहेको यो सडक निर्माणले यस क्षेत्रका स्थानीयको जीवनस्तरमा गुणात्मक परिवर्तन हुने भन्दै सडककै माध्यमबाट समृद्धिको ढोका खुल्ने बताए ।
सात मिटर चौडा सडक निर्माणको काम एकै प्याकेजमा हुने सडक डिभिजन कार्यालय इलामले जनाएको छ । पूर्वी पहाडका तीन जिल्लाबासीलाई छिटो तराइ जोड्ने यो सडक निर्माण भएमा इलाम, पाँचथर र धनकुटाका ३ लाख बढी जनसंख्याले प्रत्यक्ष फाइदा पुग्नेछ । निर्माण भएको ९ दशकमा पनि सडक स्तरउन्नती नहुँदा यस क्षेत्रका धेरै बासिन्दा बिरामी हुँदा समयमै उपचार नपाएर ज्यान समेत गुमाएका छन् ।
राजनीतिक श्रेय र दाउपेचका कारण यो सडक पछाडी पर्दै आएको थियो । इलाम क्षेत्रतर्फ पूर्व सभामुख समेत भइसकेका सुवासचन्द्र नेम्वाङ र पाँचथरतर्फ भिष्मराज आङ्देम्वे, बसन्तकुमार नेम्वाङ जस्ता हस्तीहरुको क्षेत्रमा पर्ने यो कच्ची हिलाम्मे र धुलाम्मे सडकले नेताहरुको ताजलाई नै गिज्याइरहेको थियो ।

भारतको जिम्मामा १६ सडक
साढे ३४ अर्ब रुपैयाँमा नेपालका पूर्वदेखि पश्चिमसम्मका एक पुलसहित १६ वटा सडक आयोजना बनाउन सहुलीयतपूर्ण ऋण दिन भारत सरकारसँग सहमति भएको थियो । पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएलगत्तै भएको भारत भ्रमणका बेला यो सम्झौता भएको थियो ।
सोहिबेला तय भएको सहुलियतपूर्ण ५५ अर्ब रुपैयाँ ऋणमध्ये साढे ३४ अर्ब रुपैयाँ बराबरका आयोजना बनाउन सहमति भएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत गरिएको प्रस्तावमा भारत सरकारले स्वीकृति दिएको थियो । यो भारतले दिने सहुलियतपूर्ण ऋण (एलओसी) हो । यसको ब्याजदर साधारणतया सेवा शुल्कसहित साढे २ प्रतिशतभन्दा कम हुन्छ ।
स्वीकृत आयोजनाहरूमा एउटा पुल र १५ वटा सडक आयोजनाहरू थिए । जसमा काठमाडौंलाई दिल्ली जोड्ने छोटो बाटो मानिएको मार्गमा निर्माण हुने महत्वपूर्ण पुल पनि समावेश छ । महेन्द्रनगरमा महाकाली नदीमा पुल निर्माण पनि यो प्याकेजमा समावेश भइसकेको थियो । मन्त्रालय स्रोतले भन्यो, ‘३४ अर्ब बराबरको १६ वटा योजनाहरूको निर्माण गर्ने भनेर दुई देशबीच समझदारी भइसकेको छ ।’ स्वीकृत कर्यक्रमहरूमध्ये ७ सय ८० किलोमिटर सडक हो । सडक र पुलबाहेकका आयोजना छैनन् । राँके रबी धनकुटा सडकको काम भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिको पहिलो नेपाल भ्रमणका बखत सन् २०१४ मा ऋण संझौता भएअनुसार सडकको दूई चरणमा ठेकेदार कम्पनी छनौट गर्नेगरि पहिलो चरणको छनौटको काम सकिएको हो ।
योजनाको पर्खाइमा गाउँका सडक
पाँचथरको जोरपोखरी–खुँगा–एकतिन र मेमेङ जोड्ने जोरपोखरी–एकतिन–मेमेङ, नाँगीबाट थर्पु–ओयाम, फलैचा र च्याङथापु जोड्ने पुष्पलाल मध्यपहाडी लोकमार्गको पाँचथर खण्डको हालत पनि उस्तै छ । इलामको राँके बजारबाट घुर्बिसे पञ्चमी, फाकफोकथुम गाउँपालिकाको कार्यालय आमचोक हुँदै फुएतप्पा र रवि जोड्ने बहु प्रतिक्षित कृषि सडक पनि निर्माणको पर्खाइमा छ । झापाको दमकबाट इलामको चिसापानी हुँदै पाँचथरको रवि जोड्ने फाल्गुनन्द मार्ग र मोरङको कानेपोखरीदेखि लेटाङ, पाँचथरको बुधबारे, दुरदिम्बा र लिम्बा जोड्ने कालेबुदुली सडक पनि अलपत्र जस्तै रहेका छन् । राजनीतिक दलको दबाबमा जिविसले सडकमा पनि कनिका छरेजस्तै बजेट खन्याउनु नै प्रमुख समस्या हो”, भन्छन् स्थानीय ।
पाँचथरमा २२ सय किलोमिटर सडक सञ्जालले सदरमुकाम र गाउँलाई जोडेको भनिए पनि यतिखेर पाँचथर र इलामको सीमावर्ती राँके बजारबाट पाँचथर–ताप्लेजुङको सीमावर्ती कावेलीसम्मको मेची राजमार्गको ९३ किलोमिटर खण्डमा मात्रै यातायात चलिरहेका छन् । राष्ट्रिय सडकमै पर्ने मध्यपहाडी लोकमार्गको ७० किलोमिटर पाँचथर खण्डमै पर्छ । च्याङथापु, फलैंचा, ओयाम, थर्पु, नागी, भारपा र फिदिम गाविस छोएको छ ।
विकल्प बन्दै पाँचथरबाट सिक्किम
भारतसँगको सीमा नाका नेपालको पहाडी भूभागमा पशुपतिनगरमात्र थियो, तर अब नेपालको पाँचथर र भारतको सिक्किमबीचको प्रवेशविन्दु चिवा भञ्ज्याङ पनि हुने भएको छ । समुद्र सतहदेखि १० हजार ५०० फिटको उचाइमा चिवा पछ । सिक्किम सरकारले पश्चिम सिक्किममा रहेको सुन्दर उत्तरी भेगका गाउँलाई नेपालको सिमानामा रहेको चिवा भञ्ज्याङसँग जोड्न सडक निर्माण गर्न थालेपछि यस क्षेत्रका वासिन्दा पनि उत्साहित भएका छन् ।
उक्त सडकले सिक्किमको पर्यटन र व्यापारमा टेवा पुर्याउनाका साथै सिक्किम र नेपाल जोड्ने पहिलो स्तरीय सडक सम्पर्क हुने बताइएको छ । सय किलोमिटरसम्म सिमाना जोडिएको नेपाल र सिक्किमबीच हालसम्म कुनै गुणस्तरीय सडक सम्पर्क छैन । उत्तरी–चिवा भञ्ज्याङ मार्ग १८ किलोमिटर लामो हुनेछ । सिक्किम सडक तथा पुल विभागले २५ करोड भारु विनियोजन गरेको सोे सडक आगामी माघसम्म निर्माण भइसक्ने योजनामा छ ।
सिक्किमका शहरी विकास र आवास विभागमन्त्री एनके सुब्बाले सो सडक धेरै पहिले बनिसक्नुपर्नेमा वातावरणीय अनुमतिमा भएको ढिलाइले निर्माण ढिलो भएको बताए । “हाल निर्माण तीव्र गतिमा अघि बढिरहेको छ । पुसको मध्यसम्म सडक निर्माण भइसक्ने अनुमान गरिएको छ”, उनले भने । स्थानीयवासीका अनुसार खुला सिमानाका कारण दुवैतर्फका जनताले वर्षाैंदेखि सानो स्तरमा यहाँबाट व्यापार गरिरहेका थिए । नेपाल सरकारले भने यसलाई महतव दिन सकेको छैन ।
सडकमा नापी कार्यालयको चरम लापारवाही
झापाको चारआलीदेखि ताप्लेजुङ सदरमुकाम फुङलिङ सम्म राजमार्ग पुगेको ३१ वर्ष भयो । तर सरकारी संयन्त्रको लापरवाहीका कारण मेची राजमार्ग सरकारी रेकडमा अझै कायम हुन सकेको छैन ।
ताप्लेजुङको सदरमुकाममा २०४४ सालमै सडक पुगेको थियो । अर्काे अनौठो कुरा के छ भने, सरकारले लगतकट्टा नगर्दा सवारी गुड्ने राजमार्गको तीरो तीन दशकदेखि सर्वसाधारणले नै बुझाइरहनु परेको छ ।
नापी कार्यालयले राजमार्गको क्षेत्रफल कित्ताकाट नगर्दा न सडक छेउमा संरचना बनाउने काम रोकिएको छ, नत जग्गाधनीले मुआब्जा नै पाएका छन् । ४४ सालमा आएको सडकले अहिलेसम्म सडकको क्षेत्र कति हो जानकारी समेत गराएको छैन । मेची राजमार्गको ट्रयाक खोलेर सडक फुङलिङ पुग्दा स्थानीय घनश्याम सुनुवार ३७ वर्षका मात्र थिए । जीवनमा पहिलो पटक देखेको डोजरले बासमती धानफल्ने खेत आँखै अगाडि सडकमा परिणत गर्यो । हेर्दाहेर्दै उनको पाँच रोपनी भन्दाबढी अन्न फलाउने खेत डोजरले खायो । तर त्यही खेतमा गाडी चल्न थालेको ३० बर्ष पुग्दापनि जग्गाको तिरो भने घनश्यामले नै तिर्दै आएका छन् । उनीमात्र होइन यो मेची राजमार्गले छोएका सबै जग्गाधनीको सम्स्या एउटै हो । राजमार्ग कित्ताकाट गर्ने काम नापी कार्यालयको हो । त्यसका लागि सडक कार्यालयले समन्वय गर्नुपथ्र्याे । तर एकअर्कालाई देखाउदा देखाउदै तीन दशक बितिसक्यो काम भएको छैन् । २०७२ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सडक डिभिजन कार्यालय इलाम र जिल्ला प्रशासन कार्यालयले पत्राचार गरेपनि थप समन्वय नगरेको नापी कार्यालयको दाबी छ । सरकारी कार्यालयबीच समन्वयन नहुँदा कतिसम्म लापरवाही हुन्छ भन्ने एउटा नमूना हो मेची राजमार्ग ।
दुर्घटनाको मुख्य कारण साँघुरो सडक र छाडा चौपाया
पूर्वाञ्चलमा प्रत्येक वर्ष सडक दुर्घटनामा बृद्धि भइरहेको छ । दैनिक ४ देखि ६ वटा सडक दुर्घटनामा कम्तिमा २ जनाको ज्यान जाने गरेको तथ्याङ्क छ । जसमा ६० प्रतिशत दुर्घटना छाडा चौपायले हुने गरेको छ । पूर्वी नेपालका सडकहरुमा छाडा चौपायाका कारण सडक दुर्घटना बढेको हो । पूर्वाञ्चलमा पाँच वर्षको अवधीमा भएको ८ हजार १ सय ३० वटा सवारी दुघर्टनामा परी १ हजार ६ सय ६२ जना सर्वसाधारणले ज्यान गुमाएका छन् । इनरुवा नगरपालिका सहित जिल्लाको लौकही,भाण्टावारी,कोशी ब्यारेज लगायतको क्षेत्रमा दिनप्रतिदिन सडकमा छाडा पशु चौपायाका कारण सवारी दुर्घटना हुने गरेको छ । इनरुवा नगरका छाडा पशु व्यवस्थित गर्न नसक्दा सडक छेउछाउका व्यापारी, सवारी चालक, पैदल यात्रुमात्रै होइनन् रिक्सा र सिटी चालकलाई पनि सास्ती व्यहोर्नु परेको छ ।
बाटोमा छोडिएका चौपायाका कारण बाटो अव्यवस्थित र त्रासयुक्त हुने गरेको स्थानीय बताउँछन् । सीमा प्रहरी चौकी भाण्टावारीको एक तथ्यांक अनुसार भाण्टावारीमा मात्र पछिल्लो एकवर्षमा छाडा पशु चौपायाका कारण विभिन्न १७ वटा सवारी दुर्घटनामा भएका छन् ।
दिन प्रतिदिन सवारी साधनहरु थपिदै जानु र सडक संरचनामा विस्तार तथा सुधार नहुनु दुर्घटनाको मुख्य कारण हो । थोरै जनशक्ति र प्रयाप्त साधन स्रोतको अभाबमा सवारी साधनहरुमाथि नियमन गर्न समस्या हुने गरेको ट्राफिक प्रहरीको भनाइ छ । झापाको दमक आसपासका क्षेत्रमा भएका विभिन्न सडक दुर्घटनामा परेर गत वर्ष २२ जनाले ज्यान गुमाएका छन् । इलाका ट्राफिक कार्यालयका अनुसार गत आर्थिक बर्ष २०७४र०७५ को अवधिमा भएका १४५ वटा सवारी दुर्घटनामा परेर ४ महिला र १८ पुरुषको ज्यान गएको छ । ती सवारी दुर्घटनाबाट ६६ जना र सामान्य ९९ जना घाईते भएका ट्राफिकको तथ्यांकमा छ । सवारी दुर्घटनामा परी गएको ११ महिनामा झापामा मात्रै ९३ जनाको मृत्यु भएको छ । चालु आर्थिक वर्षको ११ महिनामा झापामा १६ जना महिला सहित ९३ जनाको मृत्यु भएको हो ।
अधिकांश दुर्घटना पूर्व – पश्चिम राजमार्गको पूर्व मेची नदीदेखि पश्चिमको मावा खोलासम्मको ५५ किलोमिटर दमकस्थित क्याम्पसमोड, पाडाजुँगी, डूँडामारी, माईधार, जुकेकल्भर्ट, लक्ष्मीपुर, रामचोक, वुट्टावारी र धाइजनमोड सडकखण्ड रहेको ट्राफिक प्रहरीको तथ्याङ्क छ । ट्राफिकले यो क्षेत्रलाई बढी सवारी दुर्घटना हुने स्थल (ब्ल्याकस्पर्ट एरिया) को रुपमा घोषणा गरेको छ । यसरी निरन्तर सवारी दुर्घटना बढ्दो देखिएपछि दुर्घटना न्युनिकरणका लागि ट्राफिक प्रहरीले गति मापन यन्त्र (र्याडरगन) को प्रयोग सुरु गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । ट्राफिक प्रहरीले अहिले पूर्व – पश्चिम राजमार्गको ५५ किलोमिटर सडक खण्डको विभिन्न स्थानमा चेकजाँच गर्ने गर्छ ।

महिलाभन्दा पुरुषको बढि मृत्यु
ट्राफिक प्रहरी कार्यालय दमकको वितेका तिन वर्षको तथ्याकलाई हेर्दा ५२ जना पूरुष, १३ जना महिला र २ जना बालबालिकाको मृत्यु भएको थियो । तथ्याकं अनुसार आर्थिक वर्ष ०७२÷०७३ मा १६ जना पुरुषको सवारी दुर्घटनामा परि ज्यान गएको थियो । सो अवधिमा ३ जना महिला र १ जना बालक । ०७३÷०७४ मा १८ जना पुरुष ६ जना महिला र १ बालबालिकाको मृत्यु भएको थियो भने बितेको आर्थिक वर्ष ०७४र७५ मा १८ जना परुष र ४ जना महिलाको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय दमकको तथ्याकंमा उल्लेख गरिएको छ । यसैगरि वितेका तिन वर्षमा भएका सवारी दुर्घटना परि १४२ जना पुरुष २५ महिला र ८ जना बालबालिक गम्भिर घाईते भएको तथ्याकंमा उल्लेख गरिएको छ । सो अवधिमा ४ सय १७ वटा सवारी दुर्घटना भएका छन भने ६ वटा चौपायको समेत मृत्यु भएको पाइएको छ ।
एक नम्बर प्रदेशमा कुल १ हजार २ सय ५६ किलो मिटर कालोपत्रे सडक, ३ हजार ५ सय ३३ किलो मिटर कच्ची सडक र ६ हजार ५ सय ४० किलो मिटर ग्राभेल सडक रहेको छ । पूर्वको क्षेत्रीय कार्यालयमा दर्ता भएका ३ लाख ८५ हजार बढी सवारी साधान रहेका छन् भने अन्यत्र दर्ता गरिएका थप २ लाख सवारी साधन पूर्वाञ्चलका सडकमा दैनिक गुड्ने गरेका छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here