भागेर मन्दिरमा विहे गर्न नपाइने

0
257

काठमाडौँ, भदौ ४ गते / भागेर मन्दिरमा विहे गर्न नपाइने भएको छ । गुह्येश्वरी मन्दिरमा विवाह गर्न चाहने जोडीले अब त्यहाँका पूजारीलाई विवाह गर्न योग्य उमेर पुगेको कागजात प्रस्तुत गरेर मात्र विवाह गर्न पाउने भएका छन् ।

देवस्थलमा हुने विवाहमा सम्वद्ध देवस्थलको समितिमा उमेर पुगेको कागजात प्रस्तुत नगरी विवाहको कार्यक्रम नगराउन गुठी संस्थानले निर्देशन दिएपछि गुह्येश्वरी मन्दिरले यो नियमलाई प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याएको हो ।
यस्तो कागजात गुह्येश्वरी मन्दिर व्यवस्थापन समितिमार्फत प्रस्तुत गर्नुपर्ने व्यवस्था गरिएको समितिले जनाएको छ । यही भदौ १ गतेदेखि लागू भएको मुलुकी देवानी संहिता २०७४ ले विवाह गर्नेको उमेर २० वर्ष भएको हुनुपर्छ भनी तोके अनुसार कानुनले तोकेभन्दा कम उमेर वा गलत प्रकारले विवाह हुन नपाओस् भन्ने उद्देश्यका साथ गुह्येश्वरी मन्दिर व्यवस्थापन समितिले नयाँ व्यवस्था गरेको समितिका अध्यक्ष सुमित खड्गीले जानकारी दिनुभयो ।
प्रायः देवस्थलमा आसपास भेटिने कर्मकाण्डी सेवा गरिरहेका व्राह्मण लगाएर हाट्टहुट्ट विवाह सम्पन्न गर्ने विगतको अभ्यासलाई व्यवस्थापन समितिले नयाँ कानुन आएसँगै सुधार गरेको हो । अब कर्मकाण्डी व्राहमणले पनि विवाहको वैदिक विधि पुर्याउने सेवा दिँदा केटा केटी दुवैको उमेर पुगेको प्रमाण हरेर मात्र देवस्थलमा विवाह गराउनुपर्ने छ । त्यसका लागि गुह्येश्वरीमा हुने विवाहमा गुह्येश्वरी मन्दिर व्यवस्थापन समितिमा प्रस्तुत गरिएको उमेर पुगेको निस्सा पक्का गरेर मात्र सेवा दिनुपर्ने छ ।
गुठी संस्थानका धार्मिक व्यवस्थापन शाखा प्रमुख एवं उपप्रशासक जयप्रसाद रेग्मीका अनुसार गुह्येश्वरी मन्दिर व्यवस्थापन समितिले तत्कालै निर्देशन कार्यान्वयनमा ल्याएको हो । सो समिति जस्तै गुठी संस्थान मातहतका अन्य २०० देवस्थलमा गठन भएका छन् र ती समितिलाई पनि सोही प्रकारकै निर्देशन दिइसकिएको उपप्रशासक रेग्मीले बताउनुभयो ।
प्रायः भद्रकाली, गुह्येश्वरी, पुरानो गुह्येश्वरी, दक्षिणकाली, सूर्यविनायक, च्वङ्गा गणेश भक्तपुर, बूढानीलकण्ठ, बगलामुखी, महालक्ष्मीस्थान लगनखेल, वटुक भैरव, पचली भैरव टेकु लगायतका देवस्थलमा विवाह हुँदै आएको छ । त्यस्ता कतिपय देवस्थलमा अभिभावक उपस्थिति नै नभई अनौठो खालको विवाह पनि हुने गरेको थियो ।
‘विगतमा अभिभावकको उपस्थिति बिना नै स्वेच्छाले देवस्थलमा विवाह हुँदै आएको थियो तर अब भने मन्दिरका सम्वद्ध समितिले उमेर पुगेको कागजात हेरेरमात्र मन्दिर परिसरमा विवाहको अनुमति दिनुपर्ने छ,’ रेग्मीले स्पष्ट पार्नुभयो ।
उपप्रशासक रेग्मीका अनुसार संस्थान अन्तर्गत राजगुठीका देवस्थलमा पनि यो निमय लागू गरिने छ । मुलुकभरका दुई हजार ८४ देवस्थलका पुजारीलाई पनि यसै अनुसार निर्देशन दिने क्रम अगाडि बढेको छ ।
विवाह साइत मुहुर्त नभएको यो भदौ महिनामा पनि पछि हुने विवाहका लागि स्थान ओगट्न आधा दर्जन अग्रिम आवेदन गुह्येश्वरी मन्दिर व्यवस्थापन समितिमा परेको समितिले जनाएको छ । अध्यक्ष खड्गीका अनुसार कतिपयले विवाहको साइत बिना नै देवस्थलमा विवाह हुने गरेको थियो । अब समितिले त्यस्ता विवाहमा पनि निगरानी राख्नुपर्ने भएको छ । जानकारका अनुसार विवाह नहुने साउन महिनामा पनि विवाह भएका थिए । ‘साइतको ख्याल नगर्ने जोडी र गराउने व्राह्मणबाट उमेरमा पनि हेल्चेक्रयाइँ नहोस् भनी कागजातको व्यवस्था गरिएको हो,’ खड्गीले स्पष्ट पार्नुभयो ।
नयाँ देवानी संहिताले विवाहका लागि केटाकेटी अर्थात वर र वधु दुबैका लागि २० वर्षको समान उमेर कायम गरेको छ । त्यस अघि मुलुक ऐनले भने विवाहका लागि वरका उमेर २० वर्ष र बधुको उमेर १८ वर्ष कामय गरेको थियो ।
मुलुकी देवानी संहिताले उमेर नपुगी गरेको विवाह बदर हुनुका साथै विवाह गर्ने गराउने र मतियार समेतलाई कारावासको सँजायको व्यवस्था गरेको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here