बीएन्डसी अस्पतालमा १६ दिनको १६ लाख ,विल तिर्न नसक्दा नो डिस्चार्ज

0
331

झापा, २९ साउन/ झापाको बिर्तामोडस्थित बीएन्डसी अस्पतालले एक बिरामीको उपचारमा १६ लाख रुपैयाँको बिल तिर्न दबाब दिएको पीडितले जनाएका छन् । अस्पतालले मागेजति रकम तिर्न नसकेपछि आफन्तले बिरामीलाई अस्पतालमै छाडेका छन् ।
३ लाख ‘डिपोजिट’ गर्न लगाएर १६ दिनसम्म उपचार गरी अस्पतालले एकैचोटि १६ लाख रुपैयाँको बिल तिर्न लगाएको पीडितको दाबी छ । अस्पतालले उपचार गरेको १६ दिनपछि ‘योभन्दा सुधार हुन्न, अन्तिम अवस्थाजस्तै हो’ भन्दै बिल तिर्न भनेको जनाइएको छ ।
यही साउन १३ गते इलामको बर्ने भन्ने ठाउँमा दुई मोटरसाइकल ठोक्किँदा इलामको रोङ ४ का ३३ वर्षीय अरुण तामाङ घाइते हुनु भएको थियो । उहाँलाई सोही दिन बीएन्डसी अस्पताल ल्याईएको थियो ।
घाइतेका दाजु निमा तामाङका अनुसार बिरामीको करङ भाचिएको, टाउकोमा चोट लागेको र दुवै खुट्टा नचल्ने भएको छ । उपचारका क्रममा अस्पताललाई ३ लाख रुपैयाँ बुझाइसकेको निमाले बताउनु भयो । ‘उपचारको दुई सातापछि एक्कासि आएर अस्पतालले पैसा तिर्नुस्, बिरामी लानुस् भन्दै झन्डै १६ लाख रुपैयाँको बिल दियो’, उहाँले भन्नु भयो, ‘जसमध्ये आईसीयूको ९ लाख, दुई दिन भेन्टिलेटरमा राखेको २ लाख ५० हजार र फार्मेसीको ४ लाख ३० हजार तिर्न डाक्टरले पटक–पटक भने । हामीले पैसा खोज्दै थियौं तर बिरामीको अवस्थाबारे हामीलाई केही भनेनन् ।’
अस्पतालका कार्यकारी निर्देशक दुर्गाप्रसाद प्रसाईंले बिरामीका आफन्तले हल्ला मात्र गर्दै हिँडेको बताउनु भयो । उहाँले करिब ५ लाख रुपैयाँको बिल उठेको दाबी गर्नु भयो ।
न्युरोको उपचार संसारभर महँगो हुने गरे पनि आफ्नो अस्पतालले भने मिलाएर सस्तोमा गरिदिएको उहाँले जिकिर गर्नुभयो । बिरामीका दाजु निमाले भने अस्पतालले बिल तिर्न दबाब दिएको दाबी गर्नुभयो । (अन्नपुर्ण अनलाईन बाट)

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here