दुधको मुल्य नपाउँदा किसान आन्दोलित

0
301

दमक/ उत्पादित दूधले बजार नपाउँदा प्रदेश १ मा दैनिक करिब १ करोड २० लाख मूल्य बराबरको दूध खेर जाने गरेको छ । मुलुकमा दूध उत्पादन बर्सेनि घट्दै गए पनि प्रदेश १ आत्मनिर्भर मात्रै होइन, निर्यात गर्नसक्ने अवस्थामा छ । प्रदेश १ को दूधको उत्पादन र खपत हेर्दा वार्षिक १ लाख ६० हजार १६७ मेट्रिक टन दूध अन्यत्र निर्यात गर्न सक्षम देखिएको छ । आर्थिक वर्ष ०७४÷०७५ को तथ्यांक अनुसार प्रदेशमा ६ लाख ३१ हजार १७२ मेट्रिक टन दूध उत्पादन हुँदै आएको छ ।
विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार एक व्यक्तिलाई वार्षिक ९१ लिटर दूध आवश्यक हुन्छ । २०६८ जनगणना अनुसार प्रदेशको कुल जनसंख्या ४५ लाख ४ हजार ४१९ छ । जनसंख्या वृद्धिको अनुपात १ दशमलव ३५ प्रतिशत रहेकाले प्रदेशको हालको जनसंख्या करिव ४८ लाख ८१ हजार ८१५ हुन जाने देखिन्छ । १ नम्बर प्रदेशमा जनसंख्याको आधारमा भाग लगाउने हो भने प्रति व्यक्ति १ सय १३ लिटर अर्थात् मापदण्ड भन्दा २२ लिटर बढी दूधको उपलब्धता देखिन्छ । त्यसलाई हेर्दा प्रदेशको जनसंख्यालाई ४ लाख ५० हजार २४२ मेट्रिक टन दूध भए पुग्छ ।
प्रदेश १ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका पशुपंछी विकास महाशाखाका पशु चिकित्सक कुमारसिंह खत्री प्रदेश १ सँग वार्षिक १ लाख ६० हजार १६७ लिटर दूध निर्यात गर्न सक्ने क्षमता रहेको बताउँछन् । तर प्रदेश १ ले आवश्यकताभन्दा बढी दूध उत्पादन गर्दै आए पनि बजार व्यवस्थापन नहुँदा यहाँका किसान नोक्सानी व्यहोर्न बाध्य छन् । १ नम्बर प्रदेशका किसानले दैनिक १ करोड २० लाखभन्दा बढी मूल्य अर्थात् २ लाख ८५ हजार लिटर दूध मिल्क होलिडेको नाममा खेर फाल्न अहिले बाध्य छन् । यही तथ्यांकको आधारमा हेर्ने हो भने किसानले वार्षिक ४ अर्ब १० करोड मूल्य बराबरको १० करोड २७ लाख ६८ हजार ७ सय ४६ लिटर दूध बिक्री गर्न नपाएर खेर फालिरहेका छन् । प्रदेश १ मा आर्थिक वर्ष ०७४/७५ मा ६ लाख ३१ हजार १७२ मेट्रिक टन दूध उत्पादन भएको थियो ।व्यावसायिक पशु पालनमा किसानको आकर्षण र लगानी बढेसँगै दूधको उत्पादन बढ्दै गएपनि किसान भने मूल्य नपाएर लगानी डुब्ने अवस्थामा पुगेका छन् ।
बिभिन्न बैंक तथा सहकारी संस्थाहरुबाट ऋण लिएर पशु पालनमा लगानी गरेका किसान अहिले पेशानै छोड्ने अवस्थामा पुगेका छन् । झापाको कमल गाउँपालिका– ६ का किसान मदन आचार्यले दूध उत्पादनका लागि गाई पालनमा लगानी गरे पनि गाईनै बेच्ने अवस्थामा पुगेको बताउँछन् । जसोजसो बिहानको दूघ बिके पनि साँझको नबिक्दा लगानीनै संकटमा परेको उनको गुनासो छ । बैदेशिक रोजगारीबाट फर्किएर दुग्ध उत्पादनमा लगानी गरेका उनी दूध नबिके पछि आजित बनेका हुन् । किसानको दूध नबिके पनि पाउडर दुधको आयात भने रोकिएको छैन ।
नेपाली किसानबाट उत्पादित दूध खरिद गरी धुलो दूध तयार पार्ने व्यवस्था मिलाए नेपाली किसानहरु प्रोत्साहित हुने भए पनि यो विकल्प तर्फ लगानी नगरी तेस्रो मुलुकबाट पाउडर दूधको आयात भईरहेको छ । विराटनगर भन्सार कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष ०७४÷७५ को असार मसान्तसम्ममा झण्डै १० करोड मूल्य बराबरको अर्थात् ३ लाख ७ हजार १ सय ७३ किलो पाउडर दूध तेस्रो मुलुकबाट आयात भएको छ ।
सो परिणामको पाउडरबाट झण्डै ३५ लाख लिटर दूध बन्न सक्छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय १ नम्बर प्रदेशका उपसचिव एवं पशुपंक्षी विकास महाशाखाका प्रमुख डाक्टर अशोक कुमार सिंह भने दूधमा सरकारले विभिन्न अनुदान दिएर बजार व्यवस्थित गर्न लगानी गरिरहेको बताउँछन् । दूधको उचित व्यवस्थापन हुन नसक्दा विराटनगरस्थित दूध वितरण आयोजनामा हाल अत्याधिक दूध संकलन भइरहेको छ । आयोजनाका प्रमुख नीलकण्ठ गौतमका अनुसार आयोजनाको क्षमताभन्दा बढी दूध संकलन हुँदा व्यवस्थापनमा ठूलै समस्या देखिएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here