कुन जिल्लामा कति गुण्डा, को को परे पहिलो लिष्टमा ?

0
268

विराटनगर/ दलका आडमा रहेर विकास निर्माणका योजनाबाट प्रतिशत खाँदै गुण्डागर्दी गर्नेको प्रहरीले बर्गीकरण गरेको छ । प्रदेश प्रहरीले गुण्डाहरूको वर्गीकरण गरी ‘प्रोफाइल’ तयार पारेर निगरानी बढाएको हो ।
शान्ति सुरक्षामा खलल पुर्याउने गुण्डाहरुको क, ख र ग श्रेणी तोकेर निगरानी बढाएपछि उनीहरु त्रसित बनेका हुन् । राजनैतिक दलको आडमा भत्ता असुली गर्ने, टोले दादा, धाकधम्की दिनेहरुमाथि प्रहरीले निगरानी बढाएपछि पक्राउ पर्ने डरले त्रसित बनेका हुन् ।
श्रेणी अनुसार छुट्याएको तीन तहका गुण्डाहरुले समाजमा जुनसुकै बेलामा पनि आपराधिक गतिविधिहरु गर्ने भएकोले स्तर अनुसारको निगरानी कडा पारेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका डीआईजी केदार रिजालले बताए । उनले ‘क’ वर्गका गुण्डालाई सुरक्षा चुनौतीका रूपमा लिएको बताए । उनले भने, ‘हामी ‘क’ वर्गका गुण्डालाई छाड्नेभन्दा सजाय दिलाउने गरी पक्राउ गर्न अगाडि बढेका छौं ।’ क वर्गका गुन्डाले चलाखीपूर्वक अरूबाट अपराध गराउने हुँदा पर्याप्त प्रमाण जुटाएर मात्र पक्राउ गर्ने प्रहरीको योजना छ । उनीहरूले राजनीतिक आवरणमा काम गर्ने प्रहरीको भनाइ छ ।
गुण्डागर्दी नियन्त्रण गर्न असार १ गतेदेखि ३ महिने गुण्डागर्दी नियन्त्रण अभियानको रूपमा अगाडि बढाएको उनले जानकारी दिए । ‘प्रोफाइलअनुसार गुण्डाहरूको वर्गीकरण गरेर नियन्त्रण गर्ने अभियानको थालनी गरिसकेका छौंं’ रिजालले भने, ‘उनीहरूको स्तरअनुसार कडा निगरानी गर्दै आएका छौं ।’ समाजमा शान्ति सुरक्षामा खलल पुर्याउने भएकोले क, ख र ग गरी गुण्डाको श्रेणीलाई ३ तहमा विभाजन गरेको प्रहरीको भनाइ छ ।
प्रहरी विभिन्न आवरणमा भत्ता असुली गर्नेदेखि जुनसकै क्षेत्रमा कमिसन लिनेलाई ‘क’ श्रेणीमा राखेको प्रहरीले प्रदेश आवाजलाई जनाएको छ । छ । त्यस्तै कुनै पनि व्यक्तिबाट परिचालित भएर आपराधिक क्रियाकलपहरु गर्नेलाई ‘ख’ र धाकधम्की दिने, भत्ता असुली गर्ने, हप्ता उठाउनेलाई ‘ग’ श्रेणी तोकेर प्रहरीले निगरानी कडा पारेको प्रदेश प्रहरीले जनाएको छ । प्रदेशमा सबैभन्दा बढी ‘ग’ श्रेणीका गुण्डाहरु रहेको प्रहरीको अभिलेखमा छ ।
१ नम्बर प्रदेशको १४ जिल्लामा तीन श्रेणीका १ सय ३३ जना गुण्डागर्दीमा संलग्न रहेको प्रदेश प्रहरीले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । जसमा सबैभन्दा बढी सुनसरीमा रहेको छ । सुनसरीमा २३ र सबैभन्दा कम धनकुटामा १ जना रहेको छ । झापामा १३, इलामा ७, पाँचथरमा ३, ताप्लेजुङमा ९, मोरङमा १७, तेह्रथुममा ११, भोजपुरमा १०, सङ्खुवासभमा ९, ओखलढुङ्गामा १२, उदयपुरमा २, खोटाङमा ५, सोलुखुम्बुमा ११ जना गुण्डागर्दीमा संलग्न रहेको प्रहरीको अभिलेखमा छ । क श्रेणीका १२, ख श्रेणीका २० र ग श्रेणीका १ सय १ जना गुण्डाहरुको प्रोफाइल तयार पारी उनीहरुको निगरानी गर्दै आएको छ । प्रहरीले गुण्डागर्दीमा संलग्न भएको व्यक्तिको नाम र प्रोफाइल गोप्य राखेको छ ।
डीआईजी रिजालले गुण्डाहरूको जिल्लागत रूपमा प्रोफाइल तयार पारिसकेकोले उनीहरुको कडा निगरानी गर्न प्रदेशको प्रत्येक युनिटमा नाम पठाएको प्रहरीले प्रदेश आवाजलाई जनाएको छ । ठूलादेखि टोलेगुण्डाहरू प्रहरीको निगरानीमा रहेको उनको भनाइ छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here