विश्वकप २०१८ को उपाधि फ्रान्सलाइ

0
308

३२ असार, २०७५,झापा / विश्वकप २०१८ को उपाधि फ्रान्सले जितेको छ । आइतबार राती भएको फाइनलमा क्रोएशियालाई ४–२ ले हराउँदै फ्रान्स २० वर्षपछि विश्वकपको उपाधि जित्न सफल भयो । फ्रान्सले यसअघि सन् १९९८ मा उपाधि जितेको थियो । सन् २००६ मा भने फाइनलमा इटलीसँग पराजित भएको थियो ।

क्रोएशियाको स्वर्ण पुष्ताको रुपमा हेरिएको अहिलेको टोलीले पहिलो पटक टिमलाई विश्वकप दिलाउन असफल रह्यो । फाइनलमा फ्रान्स विरुद्ध उत्कृष्ट लयमा रहेको क्रोएशियाले १८ औँ मिनेटमा फ्रान्सलाई एक गोल उपहार दियो । मस्कोस्थित लुज्निकी रंगशालामा खेल सुरु भएको १८औं मिनेटमा डिबक्स बाहिरबाट एन्टोइन ग्रिजम्यानले प्रहार गरेको फ्रिकिक बल क्लियर गर्न लाग्दा क्रोएशियाका स्ट्राइकर मारियो मान्जुकिचको टाउकोमा लागेर आफ्नै पोष्टको दिशा लिएपछि खेलमा फ्रान्स १–० ले अगाडि बढ्यो ।

मान्जिुकिच विश्वकपको फाइनलमा आत्मघाती गोल गर्ने पहिलो खेलाडि बनेका छन् । तर निकै आत्मविश्वासी देखिएको क्रोएशियन टोलीले पहिलो हाफमा फ्रान्सेली डिफेन्सको टाउको दुखाउन भने सफल रह््यो । २८ औँ मिनेटमा डोमागोज भिडाको पासमा इभान पेरिसिचले डिबक्स लाइन नजिकैबाट उत्कृष्ट गोल गर्दै खेल १–१ को स्थितिमा पुर्याए । विश्वकप फाइनलको रोमाञ्चकता त्यतिबेला फेरी थपियो जब फ्रान्सले ३८ औँ मिनेटमा पेनाल्टि मार्फत दोस्रो गोल गर्यो । फ्रान्सका एन्टोइन ग्रिजम्यानले गरेको कर्नर प्रहार क्लियर गर्न लाग्दा इभान पेरिसिचले दुर्घटनाबस ह्याण्ड गर्न पुगेका थिए । तर, रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्रीको सहायताले पेनाल्टी दिए जसलाई ग्रिजम्यानले सदुपयोग गर्दा फ्रान्सले पहिलो हाफमा २–१ गोलको अग्रता बनायो ।

ग्रिजम्यानले जारी प्रतियोगितामा चौथो गोल गरेका हुन् । दोस्रो हाफमा फ्रान्सले ६ मिनेटको अन्तरमा दुई गोल गरेर ४–१ को अग्रता बनायो । ५९औं मिनेटमा पाउल पोग्वाले करिव २० यार्डबाट क्रोएशियाली गोलरक्षक सुवेसिचलाई छक्याउँदै गोल गरेका थिए । ६५औं मिनेटमा लुकास हर्नाण्डेजको पासमा १९ वर्षे सुपरस्टार केलियन एम्बाप्पेले करिव २२ यार्डबाट शानदार गोल गरे । यो विश्वकपमा सबैभन्दा चर्चित बनेका एम्बाप्पे विश्वकप फाइनलमा गोल गर्ने पेले पछिका अर्का किशोर खेलाडी बनेका छन् ।

उनले पनि विश्वकपमा गोलसंख्या ४ बनाएका छन् । सन् १९५८ को विश्वकप जित्ने क्रममा पेलेले फाइनलमा स्वीडेनबिरुद्ध २ गोल गरेका थिए । ६९औं मिनेटमा फ्रान्सेली कप्तान ह्युगो लोरिसले गम्भीर गल्ती गरेपछि क्रोएशियाका मारियो मान्जुकिचले गोल गर्दै गोल अन्तर ४–२ मा झारेपछि जितका लागि पर्याप्त भने भएन । गोलरक्षक लोरिसले बल समाउन छाडेर आफ्नै पोष्टमा खेलाउन थालेपछि पाएको अवसर माञ्जुकिचले सदुपयोग गरेका थिए । अन्तिम समयसम्म गोल गर्न संघर्षरत क्रोएशियाले जित आत्मसाथ गर्न भने सकेन र पहिलो पटक विश्वकपको उपाधि उचाल्ने सपनाबाट एक कदम पछाडिनै बस्नु पर्यो ।

सन् १९७० पछि विश्वकपको फाइनलमा ४ गोल गर्ने टोलीमा फ्रान्स पहिलो टिम बनेको छ । १९७० मा इटालीलाई ब्राजिलले ४–१ ले हराएको थियो । विश्वकपको उपाधि एक पटकभन्दा बढी जित्ने छैटौँ देश बनेको फ्रान्सले उपाधिसँगै ३ करोड ८० लाख डलर पुरस्कार पाएको छ । उपविजेता क्रोएशियाले २ करोड ८० लाख डलर पुरस्कार पाएको छ ।

फ्रान्सका कोच डिडियर डेस्च्याम्प्स खेलाडि र प्रशिक्षकका रुपमा विश्वकप जित्ने तेस्रो व्यक्ति बनेका छन् । यसअघि ब्राजिलका मारियो जागालो र जर्मनीका प्रान्ज बेकनबरले खेलाडि र प्रशिक्षकका रुपमा विश्वकपको उपाधि जितेका थिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here