निगुरो ब्यापारमापनि विचौलियाकै मस्ती

0
1159

हरिप्रसाद कोइराला

भाउन्ने, मोरङ असार ३१ गते /  न खनजोत, न मलजल र बल नै चाहिने, रोप्नु नपर्ने मात्र होइन गोडमेल पनि नचाहिने तर कमजोर आर्थिक अवस्था भएका धेरैको सहारा बनेको छ जङ्गली साग निगुरोको व्यापार ।
मध्य मोरङको पूर्वपश्चिम राजमार्ग आसपासका एक हजार पाँच सय परिवारले निगुरोको व्यापारबाट घर खर्च चलाएको निगुरो सङ्कलन गरेर बिक्री गर्ने ठूला व्यापारीहरू बताउँछन् ।
मोरङको कानेपोखरी–७ की ४२ वर्षीया झुमा भट्टराईको दैनिकी नै निगुरो व्यापारमा बित्ने गरेको छ । श्रीमान्ले कान्छी लिएर गाउँबाट निस्केपछि सासू ससुरा मात्र होइन, तीन छोरा र दुई छोरीले पनि उहाँलाई माया मारे । अहिले झुमाको बाँच्ने सहारा नै निगुरो भएको छ ।
बिहान झिसमिसेमै खाजा बोकेर जङ्गल पस्ने झुमा दैनिक साडे चार सयदेखि पाँच सयसम्मको निगुरो बेच्नुहुन्छ । उहाँले भन्नुभयो–१२ बजेसम्ममा २५÷३० मुठा निगुरो सङ्कलन गर्छु । आफै गाउँ डुलेर बेच्दा छ सयको निगुरो बेच्ने झुमा होलसेल व्यापारीलाई दिँदा ४५० मात्र हात लाग्ने बताउनुहुन्छ ।
झुमा मात्र होइन, विद्यालय बिदा भएपछि खाजा खाने पैसा निकाल्न निगुरोको खोजीमा जङ्गल जाने बालबालिकाको सङ्ख्या उत्तिकै छ । कानेपोखरी–७ को जनकल्याण माविमा कक्षा ९ मा अध्ययनरत प्रश्ना लिम्बू, नुमा लिम्बू, सुमन ढुङ्गाना र मदन लिम्बू पहिलो त्रैमासिक परीक्षा सकिएको भोलिपल्टदेखि निगुरो खोज्न जङ्गल जान थाल्नु भएको छ । कानेपोखरी–लेटाङ सडक किनारमा निगुरोको बिस्कुन लगाएर बसिरहनु भएकी प्रश्नाले भन्नुभयो, दैनिक ३०/३५ मुठा निगुरो टिप्छु । प्रतिमुठा १५ रुपियाँले बिक्री गर्दै आउनुभएकी प्रश्नाले दैनिक चार सय रुपियाँ कमाइ भइरहेको बताउनुभयो । प्रश्नाका साथीहरू नुमा, मदन र सुमन पनि सरदर चार सय रुपियाँ कमाइ हुने बताउनुभयो ।
आफन्त र छिमेकीहरूसँग आएका अधिकांश बालबालिका बिहानभर जङ्गलमा भेटिन्छन् । सानो डोकोमा अलि कति खाजा र पिउने पानी बोकेर बिहान साढे ५ बजेतिर निस्किएका उनीहरू मध्याह्न खाना खान घर पुग्ने गर्छन् । निगुरो टिप्ने बालबालिका र तन्नेरी मात्र होइन वृद्ध पनि उत्तिकै भेटिन्छन् जङ्गलमा । सफा मौसम भएको दिन जङ्गलमा एक हजार पाँच सय मान्छे निगुरोको खोजीमा हुने गरेको स्थानीय नवीन दाहाल बताउनुहुन्छ ।
छ वर्षदेखि निगुरो सङ्कलन गरेर ठेकेदारलाई बिक्री गरिरहनुभएका दाहालले भन्नुभयो, दैनिक १५ हजार मुठा सङ्ुकलन हुन्छ । सङ्कलित सबै निगुरो काठमाडौँ र पश्चिमका सहरमा जाने गर्छ । सङ्कलकसँग प्रतिमुठा १५ रुपियाँका दरले किनेको निगुरो स्थानीय ठेकेदारले नै काठमाडौँका व्यापारीलाई दोब्बर तेब्बर पारेर बेच्छन् । ठेकेदारले यातायात खर्च र कर जोडेर तरकारी व्यापारीको हातमा पु¥याउँछन् ।
जिरी खिम्तीदेखि लक्ष्मीमार्गसम्मको झण्डै आठ किलोमिटर क्षेत्रबाट मात्र दैनिक एक लाख रुपियाँको निगुरो बाहिर जाने गरेको काठमाडौँ पु¥याउने ठेकेदार बलराम राईले बताउनुभयो ।
राई अनुसार महिनामा २० दिन मात्र निगुरो जाँदा पनि सरदर २० लाख रुपियाँको निगुरो काठमाडौँ जाने गर्छ । राईजस्ता ठेकेदार तीन जना रहेको उहाँको भनाइ छ । बेलैमा पानी पर्दा चैतदेखि भदौसम्म निगुरोको व्यापार हुने गर्छ । यो वर्ष चैतदेखि नै पानी पर्न थालेकोले जङ्गलमा प्रशस्त निगुरो पलाएको छ । यो समाचार आजको गोरखापत्रमा छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here