विश्वकप फाइनल : फ्रान्स र क्रोएसिया भिड्दै

0
423

असार ३१, २०७५ काठमाडौं / २१ औँ संस्करणको विश्वकपको उपाधिका लागि आज फ्रान्स र क्रोएसिया भिड्दै छन् । खेल नेपाली समयअनुसार पौने ९ बजे लुज्निकी रङ्गशालामा हुने छ । एक पटकको विश्व विजेता फ्रान्स अहिलेसम्म क्रोएसियाविरुद्धका सबै भेटमा अब्बल देखिएको छ । तर यो पटक क्रोएसिया सबै भेटको बदला एकै खेलमा लिने उद्धेश्यका साथ मैदानमा उत्रदै छ ।

भविष्यको ‘सुपरस्टार फुटबलर’ किलियन एमबापेको साथ रहेको फ्रान्सेली टिम युवा खेलाडीले भरिएको छ भने विश्वकप फाइनलमा पहिलोपटक पुगेको क्रोएसियामा पनि भेटरान खेलाडीको सूची लामै छ । सन १९९८ को विश्वकपमा च्याम्पियन बनेको फ्रान्स सन २००६ को उपविजेता हो । स्ट्राइकर जिनेदान जिदाने निकै चम्के पछि सन १९९८ मा फ्रान्स विश्वकप विजेता बनेको थियो ।

त्यसै वर्ष जन्मेका एमबापे यसपटकको विश्वकपमा चम्केका छन । उनीबाट टोलीले निकै ठूलो आशा पनि गरेको छ । फ्रान्सेली टिमका केही सीमा छन तर उसले रुसी मैदानमा आफू हार्न नजानेको सन्देश दिइसकेको छ । तर क्रोएसियाको टिमले पनि आफूलाई नथाक्ने र हार्न नजान्ने टोलिका रुपमा यो विश्वकपमा सावित गरेको छ । पछिल्ला तीन खेल उसले निर्धारीत समयसम्म बराबरीमा खेलेको थियो । प्रिक्वाटरफाइनल र क्वाटरफाइनलमा क्रमशः डेनमार्क र रुसलाई पेनाल्टी सुटआउटमा हराएको क्रोएसियाले सेमिफाइनलमा इङ्गल्यान्डसँग पछाडि परेर पनि निकै राम्रो मात्र खेलेन अतिरिक्त समयमा गोल गरेर ऐतिहासिक जित समेत हात पारेको थियो । क्रोएसियाका मोड्रिच र स्ट्राइकर मारियो मान्डुजिच दुवै ३२ वर्षका भइसके । यद्यपि यी दुईको खेलको स्तर यस विश्वकपमा निकै माथि छ ।क्रोएसियाको विश्वकपमा यो पाँचौं सहभागिता हो ।

क्रोएसियाले सन १९९८ को विश्वकपमा आफ्नो पदार्पणमा नै सेमिफाइनलसम्मको स्थान बनाएको थियो । त्यतिवेला फ्रान्ससँग अन्तिम चारका लागि भएको खेल हारेपछि क्रोएसियाको विश्वकप फाइनल खेल्ने सपना पूरा हुन सकेको थिएन । क्रोएसिया विश्वकपमा सहभागी ३२ राष्ट्रमध्ये चौथो सबभन्दा सानो देश हो । क्रोएसियाको जनसङ्ख्या मात्र ४० लाख छ । फ्रान्सको जनसङ्ख्या ६ करोड ५० लाख छ ।

फ्रान्सेली टिममा १९ वर्षीय सनसनी एमबापेका साथै मिडफिल्डर पल पोग्बा र स्ट्राइकर एन्टोनियो ग्रिज्मानजस्ता विश्वस्तरीय स्टार फुटबलर छन । फ्रान्सका लागि खुशीको कुरा उसका लागि गोल अनपेक्षित खेलाडीबाट निस्किरहेका छन । क्वाटरफाइनल र सेमिफाइनलमा फ्रान्सका लागि सेन्टर ब्याकले गोल गरेका थिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here