झर्‍यो वर्षासँगै हिलो

0
447

०२ असार २०७५ ,दमक  / शुक्रबार राति राजधानी काठमाडौं लगायत देशका विभिन्न भागमा भएको वर्षात्सँगै हिलो देखिएको समाचारहरू प्राप्त भएका छन् ।

प्रदेश १ का धरान, इलाम, दमक, विराटनगर लगायतका क्षेत्रमा हिलो माटो मिसएको वर्षा भएको समाचार प्राप्त भएका छन् । त्यसैगरी प्रदेश २ का सिरहा, जनकपुर र प्रदेश ७ को धनगढी लगायतका क्षेत्रमा पनि यस खालको वर्षा भएको खबर छ ।

सामाजिक सञ्जालमा पनि शनिबार बिहानैदेखि हिलो मिसिएको वर्षात भएको चर्चा भइरहेको छ । कतिपयले अचम्मित हुँदै सामाजिक सञ्जालमा हिलो देखिएको तस्बिर पोस्ट गरेका छन् ।

तस्बिरमा सवारी साधन, अन्य सामान साथै रुख विरुवामा पनि माटोले ढाकिएको जस्तो देखिएका छन्।

किन भयो यस्तो ?

जल तथा मौसम विज्ञान विभागका महाननिर्देशक ऋषिराम शर्माका अनुसार पानीमा हिलो देखिनु अस्वभाविक होइन। ‘वायुमण्डलमा हुने धूलो पानीसँग मिसिएर आउँछ’, उनले भने, ‘ठूलो पानी पर्‍यो भने धूलो देखिँदैन तर सानो पानी पर्‍यो र छोटो पर्‍यो भने पानीसँगै धूलो पनि हिलोको रुपमा देखिन सक्छ।’

मौसमविद् मिन अर्यालका अनुसार भारतको राजस्थानबाट नेपालको वायुमण्डलमा पनि धूलोको आँधी प्रवेश गरेको छ। ‘पश्चिम नेपालबाट राजस्थानको ‘डस्ट स्ट्रोम’ छिरेको छ’, उनले भने, ‘मध्ये पहाडी क्षेत्रदेखि तराईको झापासम्मै त्यसले भेटेको देखिन्छ। त्यही धूलो पानीसँग मिसिएर हाम्रो जमिनमा खसेको हो।’

अर्यालका अनुसार पानीसँगै झरेको धूलो सतहमा पानी थिग्रिएर सुकेपछि हिलो वा धूलोका रुपमा देखिन्छ। भारतमा ‘डस्ट स्ट्रोम’ सामान्य रहेकोले पूर्वानुमान पनि गर्ने गरिन्छ।

यसरी धूलो मिसिएर झरेको पानी घरायसी प्रयोजनका लागि प्रयोग नगर्नु ठीक हुने मौसमविद् अर्यालको सुझाव छ। ‘प्रदूषित हुन सक्ने भएकोले प्रयोग नगर्दा राम्रो। ठूलो पानी पर्दाखेरी जमाइएको पानीजस्तो सफा यो नहुन सक्छ।’

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here