महानगरको बोर्ड बैठकमा बोतल हानाहान

0
380

विराटनगर / विराटनगर महानगरपालिकाको बुधवार बोर्ड बैठक चलिरहँदा एकाएक झडपको अवस्था बन्यो । नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष मनोज सुब्बाले नेकपाका तर्फबाट निर्वाचित वार्ड नम्वर ६ का अध्यक्ष विजय कामतलाई बैठक चलिरहेकै बेला पानीको बोतल प्रहार गरेपछि भडप सुरु भयो । दुई वार्ड अध्यक्ष हानाहान गरिरहँदा महानगरका प्रमुख भीम पराजुली चुपचाप बसिरहे । द्वन्द्व न्युनिकरण गर्न पहल लिनुको साटो प्रमुख निरीह झैं बने । बैठकमा महानगरका कार्यकारी अधिकृतको कार्यशैली, व्यवहार र बोल्ने तरिकामाथि अध्यक्ष कामतले टिप्पणी गरेका थिए । उनले कार्यकारी अधिकृत कुमार दाहालले जनप्रतिनिधिलाई गुण्डा शैलीमा हप्काउने गरेको, विचारका आधारमा भेदभाव गर्ने गरेको र जनताको कामभन्दा पनि भनसुनमा आधारित भएर काम गर्ने गरेको भन्दै विरोध गरेका थिए । उनले भनेका थिए, ‘जनप्रतिनिधिले जनताको समस्या सुनाउँदा वा पेश गर्दा अहिले कुरा सुन्ने फुर्सद छैन, जनप्रतिनिधिले मसंग राख्नु पर्ने कुरा बोर्ड बैठकमा राख्नु, म सुन्दिन जस्ता कुरा गर्ने र गुण्डाको जस्तो व्यवहार गर्न मिल्छ ? जनप्रतिनिधिलाई हेप्ने अधिकार कार्यकारीलाई कसले दियो ?’ भनेर प्रश्न गरेका थिए । उनले ‘फोहोर व्यवस्थान समितिले छलफल गर्नु पर्ने छ समय दिनुस् भन्दा म राजनीतिक व्यक्तिलाई भेट्दिन, भेट्न मिल्दैन जे कुरा छ त्यो बोर्ड बैठकमा राख्नुस् भनेर जनताको काममा भाँजो हाल्ने तपाई को हो ?’ भनेर बैठकमा सुनाएका थिए । कामत त्यो विषयमा छलफल चलिरहेकै बैला अर्का वार्ड अध्यक्ष सुब्बाले कार्यकारीलाई गुण्डा भन्ने भन्दै कामतमाथि बोतल प्रहार गरेका हुन् । दाहालले कम्युनिष्ट पार्टीको तर्फबाट निर्वाचित प्रतिनिधिलाई मात्र होइन स्वतन्त्र र संघीय समाजवादी फोरमबाट निर्वाचितलाई पनि त्यस्तै रुखो र अभद्र व्यवहार गर्दै आएका छन् । कार्यकारी अधिकृत कुमार दाहाल भर्खरै महानगर सरुवा भएर आएका हुन् । उनले नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिप्रति भने नरम व्यवहार देखाउने गरेका छन् । महानगरमा नेपाली कांग्रेसको बहुमत सदस्य छन् त्यसैले पनि उनले नगरप्रमुखको पक्षमा खुलेर लाग्ने र विपक्षीलाई असहयोग गर्ने नीति लिएका छन् । महानगरपालिकाका कार्यकारीको अराजक व्यवहारबारे गुनासो गर्दा नगर प्रमुखसमेत गम्भिर नभएपछि मंगलबार बसेको महानगर बोर्ड बैठक नेपाल कम्युनिस्ट पार्टी तथा अन्य विपक्षी दलले बहिस्कार गरेका थिए । त्यसैको निरन्तरतामा बुधवार बैठक बसेको थियो ।

बैठकले विराटनगर ५ स्थित गणेश चोकमा रहेको १ कठ्ठा जमिन नेपाल पत्रकार महासंघ प्रदेश कमिटिलाई उपलब्ध गराउने निर्णय गरेको थियो । आगामी असार १० गते आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट महानगरले ल्याउने तयारी गरेको छ । आगामी बजेटमा कम्युनिस्ट पार्टीले जितेका वार्डलाई कम प्राथमिकतामा राख्ने तयारी स्वरुप पछिल्ला दिनमा योजनाबद्ध रुपमा विवादलाई बढाउने काम भइरहेको कम्युनिस्ट प्रतिनिधिको आरोप छ । केन्द्रदेखि प्रदेशसम्म विपक्षमा धकेलिएको कांग्रेसले आफूले जितेको स्थानीय तहमा अन्य पक्षलाई पेल्ने र विकास योजनामा विभेद गर्ने तयारी स्वरुप बुधबारको घटना भएको अध्यक्ष विजय कामतले बताए । उनले कार्यकारी अधिकृतको अनधिकृत हस्तक्षेप र महानगर प्रमुखदेखि कांग्रेसका अन्य वार्ड अध्यक्षको हेपाह प्रवृत्तिविरुद्ध डटेर संघर्ष गर्ने र प्रतिवाद गर्ने चेतावनी दिएका छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here