इटहरी/ आफ्ना नेताहरुलाई गिरफ्तार गरेको विरोधमा नेकपाले आह्वान गरेको पूर्वी कमाण्ड क्षेत्र बन्दको क्रममा बन्द अवज्ञा गरेको भन्दै सार्वजनिक सवारीमा आगजनी गरिएको छ । झापादेखि सुनसरी, विराटनगर चल्ने सुर्याेदय यातायातको बसमा सुनसरीस्थित इटहरीचोकमा आजगनी गरिएको हो । यसैगरी, दुहबी (सुनसरी)कै एक कारखानामा पनि बम विस्फोट गरिएको छ । बन्दको कारण पूर्वमा यातायात ठप्पप्राय रहेको सो पार्टीले दाबी गरेको छ ।
यसअघि हिजो सोमबार साँझ विराटनगर–१३ स्थित भारतीय राजदूतावास इकाइ कार्यालयको पश्चिमपट्ठिको पर्खालमा बम विष्फोट गरिएको थियो । बेलुका सवा आठ बजेको समयमा भएको सो विष्फोटबाट पर्खालमा सामान्य क्षति भएको बुझिएको छ । मोटरसाइकलमा आएका दुई जनाले झोलामा बोकेर ल्याएका बम राखेर त्यहाँबाट भागेको प्रहरीको भनाई छ ।