दमक/ दमकमा शुक्रबार दिउँसो प्रहरी र विद्यार्थीबीच झडप भएको छ । यातायात मजदुरले गाडीमा चढ्न नदिएको तथा दुव्र्यवहार गरेको भन्दै विरोधमा उत्रिएका दमक बहुमुखी क्याम्पसका विद्यार्थी र प्रहरीबीच झडप भएको हो । झडपका क्रममा विद्यार्थीको ढुंगा प्रहारबाट केही गाडीमा क्षति पुगेको थियो ।
सरकारले दिएको छुटअनुसार यातायात मजदुरले विद्यार्थीलाई गाडीमा चढ्न नदिएपछि क्याम्पस पढ्न गाह्रो भएको भन्दै विद्यार्थीहरु आन्दोलित बनेका हुन् । गत चैत २३ गते स्वतन्त्र विद्यार्थी युनियन, यातायात व्यवसायी र प्रहरीबीच सरकारी छुटअनुसार ४५ प्रतिशत सहुलियतमा विद्यार्थीलाई गाडीमा चढ्न दिने सहमति जुटेको थियो । तर, मे १ ख २४६६, मे १ ख २१५७, बा ५ ख २१४९ र मे १ ख ५८५६ नम्बरको बसले विद्यार्थी चढाउन नमाने भन्दै विद्यार्थीहरु आन्दोलित बनेका हुन् ।
उनीहरुले सहमति पालन नगरेको भन्दै इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दीपक गिरीको ध्यानाकर्षण गराएका थिए । डीएसपीको ध्यानाकर्षण गराएपनि सुनुवाई नभएको भन्दै विद्यार्थीहरु सडकमा उत्रिएर चक्काजाम गराएका थिए ।
विद्यार्थीहरुले सडक अवरुद्ध गरेपछि दिउँसो १ देखि ३ बजेसम्म पूर्व–पश्चिम राजमार्ग ठप्प भएको थियो ।
विद्यार्थीले चक्काजाम खोल्न नमानेपछि प्रहरीले बल प्रयोग गरेर सडक खुलाएको थियो । साँझ सरोकारवाला, विद्यार्थी र प्रशासनविच सहमती भएपछि आन्दोलन रोकिएको छ । विद्यार्थीलाई सवै साझा सवारीले चढ्ने बातावरण मिलाउने जिम्मा प्रशासनले लिने भएपछि आन्दोलन फिर्ता भएको हो ।