मिल्ला त एकताको कुरो ? माओवादी भन्छः जनयुद्ध, एमाले भन्छः जनक्रान्ति

0
229

जनयुद्ध, सुर्य चिन्ह र नेता व्यवस्थापन चुनौती
काठमाडौँः नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता अन्तिम अवस्था पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओली भारत जानुअघि नै एकता गर्ने भन्दै दुई दलबीच छलफल जारी छ ।

मंगलबार मात्रै वाम एकताका लागि बनेका दुई कार्यदलले शीर्ष नेताहरु केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिवेदन बुझाएका छन् । आजै एकता संयोजन समितिको बैठक पनि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको छ ।

पार्टी एकताको रस्साकस्सीबीच यही चैत २३ गते प्रधानमन्त्री ओली भारत भ्रमणमा जाँदैछन् । एकताको विधान निर्माण र सांगठानिक संरचना तय गर्न बनाइएका दुवै कार्यदलले काम सकेर प्रतिवेदन बुझाएका छन् ।

जनयुद्ध कि जनक्रान्ति ?

नयाँ पार्टीको विधान निर्माणको काम सकिएको अवस्था छ । विधानको प्रस्तावनामा ‘जनयुद्ध’ शब्दलाई लिएर दुई दलबीच सहमति जुट्न सकेको छैन । माओवादीले ‘जनयुद्ध’ राख्नुपर्ने अडान राखेको छ भने एमाले ुजनक्रान्तिु राख्ने प्रस्ताव गरेको छ ।

जनयुद्धकै जगमा माओवादी आजको अवस्था आइपुगेकाले यो शब्द छोड्न माओवादीपक्ष तयार छैन भने जनयुद्धको सधैँ विरोधमा रहेको एमाले यसलाई विधानमा राख्ने पक्षमा छैन ।

माओवादीले छोड्दै छोडदैन, एमाले मान्दै मान्दैन । जनयुद्ध शब्दलाई एकताका क्रममा कसरी व्यवस्थापन गरिएला ? यो कुरा दुई शीर्ष नेताले टुंगो लाउने भएका छन् ।

आ–आफ्नो अडान

कार्यदलका सदस्य बेदुराम भुसालले विधानको प्रस्तावनामा जनयुद्ध शब्द राख्ने नराख्ने विषयमा सहमति हुन नसकेको बताए । एमाले पोलिटव्यूरो सदस्य समेत रहेका भुसालले जनक्रान्ति शब्द राखेपछि जनयुद्ध राख्नु आवश्यक नरहेको तर्क गरे ।

नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले जनयुद्ध शब्दलाई लिएर धेरै ठुलो विवाद नरहेको बताइन् । नयाँ पार्टीको विधानको प्रस्तावनमा राख्ने शब्दलाई लिएर केही बहस भएको बताउँदै उनले शीर्ष नेताहरुले यसलाई मिलाउने बताइन् ।

‘राजनीतिक प्रतिवेदनमा जनयुद्ध शब्द समेटिइसकेको छ, यसमा ठुलो विवाद छैन’, उनले भनिन्, ‘राजनीतिक प्रतिवेदनमा जनयुद्ध शब्द आइसकेकाले नयाँ दलको विधानको प्रस्तावनमा पनि यो शब्द समेटिन्छ, यसलाई शीर्ष नेताले मिलाउनुहुन्छ ।’

माओवादी केन्द्रनिकट वाईसीएलका अध्यक्ष दीप शिखाले जनयुद्ध शब्द विधानको प्रस्तावनामा राख्न नमान्नुलाई एकता भाड्ने षडयन्त्रको संज्ञा दिएका छन् । उनले सामाजिक सञ्जालमा जनयुद्ध नराख्ने कुरा प्रति आक्रोश पाखेका छन् ।

ुजनयुद्दलाई मान्नु त परै जाओस, विधानको प्रस्तावनामा पनि राख्न तयार नहुनु भनेको एकता भाँड्नु होु, उनले भनेका छन्, ुबल हुँदा ढाडे र साँढे बन्दाको परिणामबारे एमाले र माओवादीका नेताहरूलाई राम्रैसँग थाहा छ । नमात्तिएस्, मंहगो पर्ला ?ु

बराबर हैसियत ?

नेताको व्यवस्थापन र चुनाव चिन्हको विषयमा समेत दुई दलका लागि पेचिलो बनेको छ । माओवादीले एकता समानताको सिद्धान्तमा हुनुपर्ने बताइरहेको छ, अर्थात केन्द्रीय समितिमा बराबरी हैसियत ।

एमालेले स्थानीय निर्वाचन, प्रदेश सभा र प्रतिनिधि सभामा आएको परिणामका आधार भागवण्डा हुने बताइरहेको छ । उता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल समेत बराबरी र समानताको सिद्धान्तको आधारमा पार्टी एकता गर्नुपर्ने भाषण गर्दै हिँडिरहेका छन् ।

२९९ सदस्यीय समिति

२९९ जनाको केन्द्रीय समिति, ९९ जनाको पोलिटब्यूरो र ३३ जनाको स्थायी समिति बनाउने मस्यौदामा एमाले–माओवादी सहमति भइसकेको छ । चुनाव चिन्हमा सम्बन्धमा समिति जुट्न सकेको छैन । एमाले सूर्य चिन्ह नै हुनुपर्ने अडानमा छ भने माओवादी सूर्यभित्र हँसिया हथौडा राख्नुपर्ने पक्षमा उभिएको छ ।

चिन्हमा पनि विवाद

सूर्य चिन्हको विषयमा भने एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष दाहालबीच प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन पहिले नै करिब करिब सहमति भएको थियो । ुचुनावचिन्ह र नेता व्यवस्थापनका कुरा तपशील हुन र मुख्य कुरा ‘जनयुद्ध’ शब्द नै होु, माओवादीका एक नेताले भने, ुजनयुद्ध शब्दबिना माओवादी आफ्नो अस्तित्व समाप्त भएको ठान्छ । यस्तोमा एमाले जनयुद्ध शब्द राख्ने पक्षमा देखिएन ।ु

शीर्ष नेताले मिलाउलान् ?

असहमतिका विषयसहित कार्यदलले एकता संयोजन समितिलाई राजनीतिक प्रतिवेदन बुझाएको छ । एमाले र माओवादी केन्द्रबीच एकताका लागि बनाइएका दुई कार्यदलले मंगलबार आफ्नो प्रतिवेदन शीर्ष नेतालाई बुझाएका हुन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा एकता संयोजन समितिको बैठक बस्नुअघि दुवै कार्यदलले एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिवेदन बुझाएका हुन् ।

दुई दलको एकताका लागि एमाले नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वमा अन्तरिम राजनीतिक प्रतिवेदन बनाउन र माओवादी नेता तथा गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा अन्तरिम विधान बनाउन कार्यदल बनाइएको थियो ।कार्यदलले एकता महाधिवेशन अघिसम्मका लागि मार्गदर्शक सिद्धान्त, एकीकृत पार्टीको राजनीतिक कार्यदिशा, रणनीतिक लक्ष्यलगायत मूलभूत विषय टुंगो लगाएको छ ।

के छ प्रतिवेदनमा ?

प्रतिवेदनमा अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको समीक्षा, अबको कार्यभार र कार्यदिशा, समाजवादसम्म पुग्ने बाटोलगायत विषय समेटिएको छ ।

एकता संयोजक समितिमा बाँकी विषयमा सहमति हुने बताइएको छ। एकता संयोजन समितिलेसमेत टुङ्गो लगाउन नसकेका विषयमा दुई अध्यक्षले मिलाउने छन् ।

अध्यक्षमार्फत टुङ्गो नलागेका विषयमा महाधिवेशनमा छिनोफानो हुनेछन् । एमालेको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवाद(जबज) र माओवादीको २१ औँ शताब्दीको जनवादको विषयमा महाधिवेशनमा टुङ्गाउने सहमति भएको छ ।

वैशाख ९ मा एकता

आगामी बैशाख ९ गते कम्यूनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा पार्टी एकताको घोषणा हुने माओवादी केन्द्रका अध्यक्ष दाहालले चितवन पुगेर जानकारी दिएका छन् । एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओलीले भने भारत भ्रमण पहिला नै एकता गर्ने इच्छा प्रकट गरेका थिए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here