पीडित महिला भन्छिन्ः नेताले पटक पटक यौन शोषण गरे, न सरुवा गराए न बढुवा ।
नेता भन्छन्ः उल्टै छ लाख लगिन र आरोप पनि लगाइन्
जनकपुरधाम/ सोमबार प्रदेशसभा बैठक सकाएपछि प्रदेश सांसदहरु बाहिर निस्कँदै थिए । त्यो भीडमा राजपा महामन्त्री मनिष सुमन पनि थिए ।
प्रदेशसभा भवनको ढोका बाहिर निस्कन नपाउँदै एक महिलाले उनलाई रोकिन् र हातमा बोकेको कागजको पन्ना देखाउँदै हार गुहार गर्न थालिन् । उनी रहेछिन्, निशा झा ।
सुरुमा चर्काे स्वरले चिच्याएकी उनी सांसदहरुले के भयो भनेर सोधेपछि केही नम्र भइन् । निशाले बताए अनुसार उनी स्वास्थ्यकर्मी पनि हुन् । तर, सरुवा गराइदिन्छु भन्दै राजपाका नेता रमन सिंहले आफूलाई शारीरिक शोषण गर्नुका साथै रकम समेत लिएर भागेको उनको आरोप छ ।
ठगीको आरोपमा उनी जेल परेकी थिइन् । जेलबाट छुटेपछि पूर्व चिनजान भएका रमनले राजपा नेता राजेन्द्र महतोलाई भेटाउँछु भन्दै काठमाडौं ल्याएको भन्दै उनले भनिन्, ‘त्यसपछि उनले दुव्र्यहार र शोषण गरे ।’
सांसदहरुले तपाईलाई न्याय दिलाउँछन् भने । तर, निशाको चित्त बुझेनछ र म कहाँ–कहाँ जाउँ भन्दै कराउन थालिन् ।
यो सायद राजपा नेता एवं सांसद मनिषलाई मन परेन । किनभने निशाले अभियोग लगाएका रमन सिंहसँग एउटै पार्टीको नेता हुनुबाहेक कुनै साइनो थिएन ।
त्यसमाथि सत्यतथ्य बुझेर न्याय दिलाउँछु भन्दा भन्दै निशा कराउन थालेपछि सुमनले भने,’तरुन्तै न्याय दिउँ ? माओवादी हौं र हामी ? विधिसम्वत रुपमा न्याय दिन्छौं ।’
निशाः रमन सिंह भन्छ भूमिगत छु । तपाईको कार्यकर्ता, केन्द्रीय सदस्यलाई सम्पर्क गर्नुस् । यदि म दोषी छु भने मलाई काबारही गर्नुस् तर, राजेन्द्र महतोलाई देखाएर मलाई शोषण गरिएको छ, मेरो पैसा लगिएको छ ।
केहीबेर चर्काचर्की भएपछि प्रदेशसभा सदस्य सुमन छानविन गर्छाै भन्दै त्यहाँबाट हिडेका छन् ।
के हो विवाद ?
निशा झाको दाबी छ कि राजपा केन्द्रीय सदस्य रमन सिंहले प्रलोभन देखाएर यौन शोषण गरे । आफ्नो सञ्चयकोषमा भएको रकम समेत लगेको उनले दाबी गरेकी छन् । तर, रमन सिंहले भने निशाले महतोलाई भेटेर सरुवाबारे कुरा गरेको भएपनि आफूले नलगेको दाबी गरेका छन् ।
निशा र रमनले एक अर्काविरुद्ध धनुषा प्रहरीमा उजुरी पनि दिएका छन् । निशाले ६ लाख लगेर ठगेको भन्दै रमनले जिल्ला प्रहरी कार्यालयमा उजुरी पनि दिएका छन् । निशाले पनि सरुवा गराउँछु भनेर यौन शोषण गर्नुका साथै रकम लिएको दाबी गर्दै प्रहरीमा उजुरी दिएकी छन् ।ब्लाष्टबाट