दमक/ एक नम्बर प्रदेश सरकारले होलीलाई समाजिक सद्भाव आपसी भाईचाराकालागि खेल्न आग्रह गरेको छ । आन्तरिक तथा कानुन मन्त्रालयले जोर–जर्बदस्ती नगरि होली खेल्न आग्रह गरेको छ । होलीको अवसरमा लागू औषधको बेचबिखन, जर्बजस्ती रंग दलेमा र मादक पर्दाथ सेवन गरेर सवारी साधन चलाइएमा, उच्श्रृंखल गतिबिधि गरेमा कडा कार्बाही गर्ने जनाएको छ । एक नम्बर प्रदेश प्रहरी कार्यालयका अनुसार होलीलाई मर्यादित बनाउन मातहतका सबै प्रहरी कार्यालयहरुले सार्बजनिक सुचना जारी गरिसकेको जनाएको छ ।
होलीको रौनकमा रमाउनेहरुको संख्या प्रतेकवर्ष बढ्दै गएको छ । बजारका सडकमा होलीको रंग बेच्ने र किन्नेहरुको भिड लाग्न थालेको छ । नेपालमा पहाड र तराई क्षेत्रमा छुट्टाछुट्टै दिनमा होली मनाउने गरिन्छ ।
तराइ र पहाड नै अन्यौलमा
दमक/ तराईमा होलीकालागि सरकारले १८ फागुनमा सार्बजनिक बिदा दिएकोले धुमधामले होली खेल्ने गरिन्छ । तर पहाडमा अघिल्लो दिन नै होलीको आगमनसँगै बिभिन्न व्यक्ति र संघ संस्थाहरुले होली मिलन कार्यक्रम आयोजना गरी आपसी भेटघाट गरि प्रेम र सद्भाव बढाउने काम गर्ने गरेका छन । अर्थात १७ गते नै पहाडी इलाकामा होली मनाइने भएको छ । गतवर्ष सरकारले झापालाई पहाडी इलाकामा गाविएको जिल्ला भनेर अघिल्लो दिन नै होली मनाउन सरकारी संस्थालाई विदा दिएको थियो । यही अन्योलका कारण गत वर्ष झापामा दुईदिन नै होली खेलिएको हो ।
हिन्दू संस्कृतिमा प्रत्येक वर्ष फाल्गुण शुक्ल पूर्णिमाका दिन होली मनाइन्छ । फाल्गुण महिनामा पर्ने भएकोले यस पर्वलाई तराईतिर फगुवा भनिन्छ । यो पर्व नेपाल, भारत तथा अन्य हिन्दु संस्कृति मनाउने राष्ट्रहरुमा मनाइने महत्वपूर्ण पर्व हो । होलीका दिन एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू हानेर रङ्गिन बनाउने बन्ने गरिन्छ ।
होली पर्वको दिन आफ्नो घरमा शत्रुनै आए पनि सम्मान र स्वागत गर्नु पर्ने किम्वदन्ति रहँदै आएको छ । त्यसैले यस पर्वको महत्व र सारतत्वलाई जीवन्त बनाउन र दैनिक जीवनमा पनि लागु गर्न होलीले सन्देश पनि दिने गरेको छ । वर्षभरी दैनिक जीवनमा रहे–बनेका बिभिन्न बैमनस्यता तथा आपसी कटुता बिर्सेर भातृत्व बलियो पार्न हरेक वर्ष हामीलाई झक्झक्याउने गरेको छ होलीले ।
होली पर्वका नाममा केहि वर्षयता भित्रिदैँ गरेका बिक्रितीहरुले पनि संस्कृतीका हिमायतीहरुलाई चिन्तित बनाएको छ । पर्व मनाउने र रमाईलो गर्ने बहानामा भाँङ्, धतुरोका बिभिन्न परिकार खाने, शरीरमा बिभिन्न प्रकारका रङ्ग–रोगन गर्ने, छालाका लागि अनुपयोगी रङ्हरु प्रयोग गर्ने तथा जवरजस्ति रङ्ग दल्ने तथा लोला हान्ने प्रबृती पनि बढेको छ । युवा पुस्तामा बढेको यस प्रकारको शैलीले संस्कारलाई बलियो भन्दा पनि बिटुलो बनाउने हो कि भन्ने पनि चिन्ता बढेको छ ।
होली केवल धार्मिक कारणले मात्र मनाइने गरे पनि यसका पछाडी केही बैज्ञानिक कारणहरु समेत रहेका छन् । प्राकृतिक दृष्टिले अहिलेको समय शिशिर ऋतुको जाडोका अन्त्य भई वसन्त ऋतुको न्यानो शुरु हुने चरणमा छ ।
आयुर्वेदका अनुसार एउटा ऋतु सकिने र अर्को ऋतु लाग्ने समयमा मानव शरीरमा आलस्य पैदा हुने र विभिन्न संक्रमणका कारण विरामी हुने सम्भावना अत्याधिक हुन्छ । शिशिर ऋतुको चिसोका कारण शरीरमा कफको मात्र बढेको हुन्छ । शरीरमा बढेको कफ वसन्त ऋतुमा तापक्रम बढ्ने हुँदा शरीरबाट कफ बाहीर निस्कने क्रम शुरु हुन्छ भनिन्छ ।
अर्को पौराणिक प्रसङ्ग अनुसार द्वापर युगमा श्रीकृष्णलाई मार्न स्तनमा बिष दलेर दूध खुवाउन गएकी पुतना नामकी राक्षसनीलाई कृष्णले उल्टै मारिदिएको र पुतनाको भयंकर ठुलो शवलाई गोपालवासीहरूले आजैकै दिन जलाएर जयजयकार गर्दै रङ्गहरुको जात्रा गरेको र खुसियाली मनाएको मानिन्छ । यसरी होली पर्वको वर्णन धेरै धार्मिकग्रन्थहरुमा गरिएको पाइन्छ । पुराणहरुमा पनि यही उल्लेख गरिएको पाइन्छ ।