‘जनविश्वासनै एमालेको जीतकोे बलियो आधार हो’

0
185

‘जनविश्वासनै एमालेको जीतकोे बलियो आधार हो’
‘एमाले नभएको सरकार कस्तो हुन्छ भन्ने अहिले गठवन्धनले देखाएको छ’

मंसिर ४ का लागि तय भएको प्रतिनिधीसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिँदो छ । जति मिति छोटिदैछ, उतिनै राजनीतिक दल र उम्मेद्वारहरुलाई मतदाता रिझाउने व्यस्तता बढेको छ । अझ मुख्य राजनीतिक दलका शिर्ष नेताहरुलाई त आफ्नो जिल्ला र निर्वाचन क्षेत्रमा बढि समय दिनु पर्ने दवाव पनि छ । यसै क्रममा पूर्वप्रधानमन्त्री समेत रहनु भएका केपी शर्मा ओलीले झापा आउने क्रम बढाई रहनु भएको छ । झापाका अन्य निर्वाचन क्षेत्रसँगै आफु समेत उम्मेद्वार रहनु भएको क्षेत्र नं. ५ मा सघन रुपमा विभिन्न कार्यक्रममा सहभागीता जनाई रहनु भएको छ ।

समग्र झापामा चाँहि नेकपा एमालेले निर्वाचनको तयारी कसरी गरि रहेको छ त ? आगामी चुनावी परिणाम बारे के छ अनुमान् ? प्रस्तुत् छ, यिनै विषयमा नेकपा एमाले झापाका सचिव शिव ढुंगेलसँग गरिएको यो कुराकानी ः

झापामा एमालेले चुनावी तयारी कसरी गरि रहेको छ ?

स्वभाविक रुपमा हामीले सवै स्थानीय तह र वडा सम्मनै आफ्ना तयारीहरु गरेका छौं । वडा भित्र पनि टोल कमिटी सम्मका संरचनाहरु परिचालित भएका छन् । उम्मेद्वार मात्र होईन प्रत्येक पार्टी सदस्यहरु आफ्ना एजेण्डा र कार्यक्रम लिएर मतदाताहरुलाई भेटघाटमा व्यस्त हुनु हुन्छ । यसै गरि सवै जनवर्गीय संगठनहरु अहिले उर्जावान भएर जनताका विचमा पुगि रहेका छन् । समग्रमा भन्नु पर्दा चुनावी तयारी उत्साहप्रद छ, मतदाताहरुको प्रतिक्रियाबाट एमाले उत्साही छ ।

चुनावी परिणामका बारेमा के छ अनुमान ?

अनुमान लगाउन त्यस्तो गाह्रो छैन । म एउटा पार्टीको कार्यकर्ता भएर मात्र भनि रहेको छैन, प्रत्येक मतदाताहरुलाई सोध्नु होला । एमालेको जीत सहज छ । एमालेले राष्ट्रियताका बारेमा राखेको चट्टानी अडान, विकास निर्माणका सवालमा लिएका ऐतिहासिक निणर्य, राष्ट्रिय स्वाभिमान उच्च बनाउने बारेमा चालेका कदमनै एमालेको जीतको आधार हो । नेकपा एमाले तथा अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकारले गरेका कामले प्रत्येक नेपालीको शिर ठाडो पारेको छ । त्यसैले हामीले होईन, प्रत्येक मतदाताले प्रष्ट रुपमा भनि रहेका छन् झापामा मात्र होईन देश व्यापी रुपमा एमालेको जीत सहज छ । पहिलो पार्टी त बन्छनै बन्छ, हामी बहुमत सहितको पहिलो पार्टी बन्ने अभियानमा छौं । यो अभियानमा जनताबाट पाएको साथले थप उर्जा दिएको छ ।

तपाईले यसो भनि रहँदा फेरि पनि राप्रपा, जसपा लगायतका दलसँग तालमेल गरेर चुनावी मैदानमा जानु परेको यथार्थ पनि त छ नि ?

हो, हामीले झापाको एउटा संघीय र दुई ओटा प्रदेश सभाको निर्वाचन क्षेत्रमा राप्रपालाई सघाएका छौं । जसपासँग पनि केहि जिल्लाका निर्वाचन क्षेत्रमा तालमेल भएको छ । तर यो गठवन्धन होईन । राष्ट्रवादी शक्तिहरुका विचमा केहि स्थानमा तालमेल हुनुलाई अन्यथा लिनु पनि हुँदैन । जसरी अलोकतान्त्रिक रुपमा प्रतिपक्षी दलका विरुद्धमा सत्तासिन दलहरु गठवन्धन बनाएर चुनावमा भाग लिँदैछन्, यो कुरा जनताले बुझेकाछन् । त्यसैले एमाले प्रतिको जनविश्वासनै एमालेको जीतकोे बलियो आधार हो । सत्तागठवन्धनलाई हारको पीडाले डल्लो पारि सकेको छ । जनताले एमाले प्रति देखाएको सद्भाव र विश्वासले उनीहरु जलेका छन् ।

झापामा एमाले बलियो छ भन्ने कुरा के ले पुष्टि गर्छ र ?

वास्तवमा यो कुरा, हामीले बुझ्न र बुझाउन पनि जरुरी छ । हामीले जित्छौ, जित्छौ भनि रहँदा कसरी जित्छौ पनि भनेर बुझ्नु पर्छ भन्ने लाग्छ । तर झापाको हकमा यो कुरा कसैले बुझ्न बाँकि छ भन्ने मलाई लाग्दैन । किन पनि भने, कुनै पनि पार्टीलाई चिन्ने-जान्ने भनेको आफु नजिकै रहेको त्यो पार्टीको कार्यकर्ता कस्तो छ, त्यसको व्यभारले पनि हो । यो कुरामा हामी एमालेका कार्यकर्तालाई के गर्व छ भने, एमालेका प्रत्येक पार्टी सदस्यहरु समाजमा आदर्श व्यक्तिका रुपमा रहेका छन् । एमालेको मान्छे ईमानदार हुन्छन्, घुष खाँदैनन्, झुठ बोल्दैनन, सत्य र न्यायको पक्षमा हुन्छन् भनेर सवैले बुझेका छन् । त्यस्ता कार्यकर्ताहरुको पार्टी हो नेकपा एमाले । स्थानीय तहका जनप्रतिनिधीहरुको कार्यसम्पादन हेर्नु भयो भने पनि थाह हुन्छ, जनस्तर सम्म एमाले प्रतिको दृष्टिकोण कस्तो छ भनेर ।
यो देशलाई विकासको नयाँ युगमा प्रवेश गराउने एमाले सरकारका कार्यक्रमहरु, पार्टी अध्यक्षको दूरदर्शिता, राष्ट्रियताका लागि लिएका अडान जस्ता कुराहरु त छँदैछन् । यिसँगै एमालेका प्रत्येक पार्टी सदस्यका गतिविधि र कार्यशैलीकै कारण एमाले अहिले जनजनमा प्यारो र लोकप्रिय छ । एमालेको इतिहास, वर्तमान र भविश्यनै हो, हामी जनताका विचमा लोकप्रिय छौं भन्ने कुरा । त्यसैले हाम्रो जीत कठिन छैन भन्ने लाग्छ ।

एमालेले नजिते चाँहि के हुन्छ त ?

एमालेले नजिते के हुन्छ भन्ने कुरा हामीले खासै भन्नु पर्ला जस्तो लाग्दैन, जनताले बुझेका छन् । अहिलेको गठवन्धन सरकारका गतिविधीलेनै पुष्टि गर्छ, एमाले सरकारमा नहुँदा के हुन्छ भनेर । यदि यहि गठवन्धन सरकार रहि रहने हो भने विकास निमार्मण ठप्प हुन्छ, देशमा सुशासनको परिकल्पना गर्न सकिदैन, लोकतन्त्र कमजोर हुन्छ, राज्यका संयन्त्रहरु प्रभावहिन पारिदै लगिने छ । अझ भन्नु पर्दा एमाले सरकारमा नजाने, एमालेले यो देशको नेतृत्व नगर्ने हो भने नेपालको स्वाधिनता, राष्ट्रियतालाई कमजोर पारिदै लगिने प्रष्ट छ । त्यसैले यो देशलाई अन्तर्राष्ट्रिय मञ्चमा पनि गर्वसाथ उभ्याउन, देशको विकास निर्माणलाई गति दिन, परनिर्भरता अन्त्य गर्दै स्वाधिन अर्थतन्त्र कायम गर्न एमालेको जीत जरुरी छ, यो हाम्रो कुरा मात्रै होईन जनताको आवाज हो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here