निर्वाचनका गतिविधि तीव्र

0
116

जिल्लामा निष्पक्ष, शान्तिपूर्ण र भयरहित एवं मर्यादित वातावरणमा निर्वाचन सम्पन्न गर्न प्रदेश नं १ निर्वाचन कार्यालय विराटनगरले आफ्ना गतिविधिलाई तीव्र पारेको छ । आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका क्रममा यस्तो गतिविधि एवं तयारी गरिरहेको प्रमुख निर्वाचन अधिकारी लेवनकास्यप अधिकारीले जानकारी दिनुभयो ।

मोरङ जिल्लामा विभिन्न चरणमा कर्मचारीको नामावली सङ्कलन गरी मुख्य निर्वाचन अधिकृतलाई हस्तान्तरण, निर्वाचन आयोग नेपालबाट प्राप्त निर्वाचन सामाग्री प्याकिङ र भण्डारण गर्नुका साथै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पठाउने काम जारी रहेको प्रमुख अधिकारीले बताउनुभयो । विभिन्न चरणमा राजनीतिक दलसँग अन्तक्रिया, आचारसंहिताका विषयमा दलका प्रतिनिधि तथा उम्मेदवारसँग छलफल गर्नुका साथै निर्वाचन आचारसंहिता अनुगमनको क्रममा देखिएका त्रुटीहरुलाई सच्च्याउने काम भएको छ ।

कार्यालयले निर्वाचनका लागि कर्मचारी खटनपटनका लागि निर्वाचन अधिकृतको कार्यालयमा विवरण पठाइ मतदान अधिकृत र सहायक मतदान अधिकृतलगायत अन्य कर्मचारीको नियुक्तिको प्रक्रिया अगाडि बढाइएको छ । कार्यालयमा समानुपातिक मत आइपुगेको बताउँदै प्रमुख अधिकारीले प्रत्यक्षतर्फको मतपत्र केही दिनभित्रमा आउने जानकारी दिनुभयो । कार्यालयले यही कात्तिक १७ गतेबाट पालिकामार्फत मतदाता शिक्षा कार्यक्रम शुभारम्भ गरिनुका साथै नमूना मतदान कार्यक्रम कात्तिक १६ गतेदेखि विराटनगरको बुधहाट चोकबाट सुरु गर्ने प्रमुख अधिकारीले बताउनुभयो ।

जिल्लामा मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम कात्तिक २२ गतेदेखि सुरु गर्ने र कात्तिक ३० र मङ्सिर १ गतेसम्म मतदान केन्द्र पुग्ने तयारी भइरहेको उहाँले बताउनुभयो । मतदानस्थल र मतदान केन्द्रको सुरक्षा संवेदनशीलताका सम्बन्धमा जिल्ला प्रशासन कार्यालय अन्तर्गत प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको जिल्ला सुरक्षा समितिले गृह मन्त्रालयलाई जानकारी गराउने, अति संवेदनशील, संवेदनशील र सामान्य क्षेत्रमा समितिले रणनीतिको आधारमा सुरक्षाकर्मी परिचालन गर्ने छ ।

मोरङमा मतदानस्थल तीन सय ६ र केन्द्र आठ सय ३९ निर्धारण गरिएको छ । मोरङ जिल्ला कारागार र आदर्श पुस्तकालय विराटनगरमा गरी दुई स्थानमा अस्थायी मतदान केन्द्र स्थापना गर्न सिफरिस गरी आयोगमा पठाएको प्रमुख अधिकारीले बताउनुभयो । यसैबीच कार्यालयले मोरङका छ वटा निर्वाचन अधिकृतको कार्यालय बिर्को सहितको मतपेटिका, छेकवार र मतपत्र प्याकिङको थैलो आजदेखि पठाउने कार्य सुरु गरेको कार्यालयका सूचना अधिकारी तीर्थराज अधिकारीले जानकारी दिनुभयो ।

कार्यालयले आयोगबाट अहिलेसम्म ५२ प्रकारका विभिन्न निर्वाचन सामग्री प्राप्त भएको तथा अन्य सामान आउनेक्रम जारी रहेको छ जनाएको छ । कार्यालयले जिल्लाका १७ पालिकामध्ये १५ स्थानमा मतदाता शिक्षा सामग्री पठाइसकेको छ । कार्यालयले पालिकाका सामाजिक शिक्षा हेर्ने निर्वाचन सम्पर्क अधिकारीलाई मतदाता शिक्षासम्बन्धी तालिम दिएको छ । जिल्लामा छ प्रतिनिधिसभा र १२ प्रदेशसभा सदस्यका लागि आगामी मङ्सीर ४ गते निर्वाचन हुँदैछ भने मोरङमा कूल मतदाता सात लाख ३५ हजार पाँच सय २५ छन् । —

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here