चोरिएका मोटरसाइकलसहित चोरहरुको गिरोह पक्राउ

0
125

झापा । झापा प्रहरीले जिल्लाका विभिन्न स्थानहरुबाट चोरी भएका १२ वटा मोटरसाइकल बरामद गर्दै मोटरसाइकल चोरीमा संलग्न ८ जनालाई पनि पक्राउ गरी आज एकसाथ सार्वजनिक गरेको छ ।

इलाका प्रहरी कार्यालय अनारमनीमा पत्रकार सम्मेलन गर्दै प्रहरीले बरामद गरेका १२ वटा मोटरसाइकल तथा चोरीमा संलग्न ६ जना युवा र २ जना बालकहरु सार्वजनिक गरेको हो ।

प्रहरीले आफ्नो ११ दिनको अपरेसनबाट प्राप्त सफलता पत्रकार सम्मेलन गरेर सुनाउँदै मोटरसाइकल र चोरी कार्यमा संलग्न रहेका व्यक्तिलाई सार्वजनिक गरेको हो । प्रहरीले बरामद गरेका १२ वटा मोटरसाइकलमध्ये चारवटा पल्सर, चारवटा हिरो होन्डा र बाँकी चारवटा यामाहा, अपाचे, होन्डा र सुजुकी ब्रान्डका छन् ।

मोटरसाइकल चोरी गर्नेमा ग्यारेज सञ्चालकसमेत रहेका इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक रुगमबहादुर कुँवरले जानकारी दिए । उनका अनुसार मोटरसाइकल चोरीमा संलग्न भई पक्राउ परेकाहरुमा बिर्तामोड ५ का १८ वर्षीय करण मण्डल, बिर्तामोड ३ का १९ वर्षीय कुमार राजवंशी छन् ।

यस्तै, अर्जुनधारा ८ का १८ वर्षीय समीर मियाँ, सप्तरी टिकुली नगरपालिका ५ का २७ वर्षीय करण मोहम्मद, गौरीगञ्ज ५ का ओमप्रकाश यादव, इलाम चुलाचुलीका १८ वर्षीय राहुल श्रेष्ठ र अन्य दुईजना १४ र १५ वर्षका बालक छन् ।

मोटरसाइकल चोरी गरेर नम्बर प्लेट फेर्ने, मोडल परिवर्तन गरेर नचिनिने बनाउने तथा पहाडका विभिन्न स्थानमा पुर्याएर बेच्ने गरिएको प्रहरी अनुसन्धानबाट पत्ता लागेको छ । प्रहरीको पहुँच कम हुने तथा खोजपड्ताल नहुने भएकाले चोरीका मोटरसाइकल पहाडी क्षेत्रमा बिक्री हुने गरेको प्रहरीको निष्कर्ष छ ।

चोरी भएका कतिपय मोटरसाइकलहरु नम्बर प्लेट फेर्ने, मोडल परिवर्तन गरेर नचिनिने बनाएपछि सडकमा निर्बाध सञ्चालन गर्ने गरिएको पनि जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक बसन्त पाठकले बताए ।

अधिकांश मोटरसाइकलहरु मध्य रातमा चोरी हुने गरेको प्रहरीको भनाई छ । चोरीका घटना बढेपछि प्रहरीले घटनामा संलग्नलाई खोज्न विशेष अभियान नै सञ्चालन गरिरहेको तथा उजुरी अनुसार चोरी भएका केही मोटरसाइकल बरामद गर्न तथा चोरीमा संलग्नलाई पक्राउ गर्न बाँकी रहेको प्रहरी नायव उपरीक्षक कुँवरको भनाई छ ।

चोरी गरेको मोटरसाइकल अर्जुनधारा ८ कदमगाछी र वडा नम्बर १० मा रहेको ग्यारेजमा पुर्याएर स्वरुप परिवर्तन गरी झिनो दाममा बिक्री गर्ने गरेको पाइएको प्रहरीको भनाई छ । यी दुवै ग्यारेज सप्तरी टिकुली घर भएका करण मोहम्मदले सञ्चालन गर्दै आएका थिए ।

प्रहरीले अनुसन्धानको क्रममा दुवै ग्यारेज बाहिरबाट हेर्दा बन्द रहने भए पनि भित्रचाहिँ नम्बर प्लेट परिवर्तन र स्वरुप परिवर्तनका कामहरु हुने गरेको पत्ता लागेको प्रहरी प्रवक्ता पाठकले बताए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here