✍ जिवन चुडाल
दमक /झापाको दमकमा करिब एक करोडको लागतमा रोज गार्डेन निर्माण भएको छ ।
दमक ७ स्थित रेडक्रस भवन छेउमा पश्चिमतर्फ रहेको खाली जमिनमा ‘रोज गार्डेन पार्क’ निर्माण गरिएको छ ।
चार बर्ष अघि २०७४ साल फागुन २ गते नगरपालिकाका प्रमुख रोमनाथ ओली र उपप्रमुख गीता अधिकारीले दूइवटा गुलाफको विरुवामा पानी हालेर गार्डेनको सिलान्यास गरेका थिए ।
सिलान्यासका बेलमा ४० लाखमा निर्माण गरिने भएपनि पटक पटक गरेर नगरपालिकाको करिब एक करोडको खर्च भएको निर्माण समितिका अध्यक्ष कृष्ण राज थापाले जानकारी दिए । उनका अनुसार पार्कमा २५ बढी प्रजातिका गुलाफ १६५० ओटा गुलाबका बिरुवा रोपिएको छ । गार्डेनमा विभिन्न प्रकारका धुपी, फक्तेल पाम, लगायतका बिरुवा समेत रोपिएको छ ।
पुरानो पञ्चायत रजत जयन्तिको स्तंभ लाई पुनः निर्माण गरी उक्त स्थानमा पानीको फोहोरा बनाइएको छ । फूल रोप्नका लागि पहिला बालुवा पछि माटोले पुरेर कम्पाउन्ड सहितको काम भएको रोज गार्डेन निर्माण समिति अध्यक्ष थापाले जानकारी दिए ।
आउँदो फाल्गुन १४ गते पार्कको उद्घाटन गरिने निर्माण समितिले जनाएको छ ।