कांग्रेसमा उत्साह, एकता र रुपान्तरणको नारा – अवस्था र आवश्यकता

0
288

आफनो संरचनाको मूल आधार मानिने वडा तहको अधिवेशन सकिएपछि २२ भदौमा नेपाली कांग्रेसले १४ औं महाधिवेशनको नारा तय गरेको छ ।

‘कांग्रेसमा उत्साह, एकता रुपान्तरण, सफल पारौं १४ औं महाधिवेशन भन्ने मुल नारा तय गरेको नेपाली कांग्रेस भित्र नारामाथि नकारात्मक टिप्पणी अहिलेको आवश्यकता होइन । यसलाई कांग्रेस र कांग्रेसजनले पक्कै औपचारिकताका लागि मात्रै नारा बनाएको होइन भन्ने पुष्टि गर्न महाधिवेशनपछिका दिनहरुलाई पर्खिनै पर्छ । अहिलेलाई यहि नारा भित्र रहेर कांग्रेस महाधिवेशन सम्पन्न भएको खण्डमा ८ औं लाख क्रियाशील कार्यकर्ता, शुभेच्छुकहरुले गर्व गर्न सक्छन । क्षणिक खुशी, गर्व र उन्माद कांग्रेसको लक्ष्य हुन सक्दैन । लोकतन्त्र र समृद्धिको लागि नेपाली कांग्रेसको अनवरत यात्रा र गौरवमय इतिहास साक्षी राखेर अबको कांग्रेस अघि बढन आवश्यक छ ।

नारा भित्रको अर्थ
कांग्रेसमा उत्साह – कांग्रेसमा उत्साहको बिषयमा चर्चा गर्दा पटक पटक कांग्रेस प्रति जनताको आकर्षण नभएको होइन । कांग्रेसप्रतिको त्यो आकर्षण उत्साहजनक भयो तर त्यसले स्थायित्व पाउन सकेन । यसका पछाडी केही तत्वहरुको मुख्य भुमिका छ । हर कुनै जिवन्त पार्टीको राजनीतिमा होमिएको सिपाहीले असली सिपाहीको भुमिका मात्रै निर्वाह गर्दैन हरेक अवसरहरुमा उसले विशेष स्थान वा दर्जाको अपेक्षा राख्दछ । त्यो अपेक्षा पूरा नहुँदा उसमा उत्साहको विपरित निराशा पैदा हुनु स्वभाविक हो । कांग्रेसले आफनो स्थापनाकालदेखि त्यस्ता अवसरहरु धेरै पायो ।

२०४८ सालपछिको मात्रै चर्चा गर्ने हो भने पनि कांग्रेसले चरण चरणमा गरेर करिब २० बर्ष भन्दा बढी समय सत्ता वा सरकारको नेतृत्व गर्ने मौका पायो । सन्त नेता कृष्णप्रसाद भट्टराई , गिरिजा प्रसाद कोइराला, सुशील कोइरालादेखि शेर बहादुर देउवा सम्मले ति सरकारको नेतृत्व सम्हाले । धेर थोर समय भएपनि त्यो कांग्रेसका लागि आएको अवसर थियो । यसबीचमा गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा त मुलुकको व्यवस्था परिवर्तननै गर्ने अवसर पनि मिल्यो । यो यात्रामा कांग्रेस कार्यकर्ताहरुले माओवादी सशस्त्र द्धन्द्धको पीडालाई समेत तपसिलमा राखेर उत्साहजनक साथ , सहयोग र ऐक्यबद्धता जनाए त्यो उत्साहको सम्मान गर्न कतै नेपाली कांग्रेस चुकेको त छैन ? अहिले महाधिवेशनको सन्मुखमा यो एउटा बहसको बिषय हो ।

कांग्रेसमा एकता
कांग्रेसमा एकताको बिषयमा चर्चा गर्दा नेपाली कांग्रेस स्थापना हुनुअघिका केही तथ्यहरुलाई नजर अन्दाज गर्न सकिन्न । २००७ साल अघि पनि एउटा प्रजातन्त्र कांग्रेस र अर्को राष्ट्रिय कांग्रेस थिए मुलुकमा । प्रजातन्त्र कांग्रेसमा सुवर्णशमशेर, महेशविक्रम शाह लगायतका नेता थिए । अर्को राष्ट्रिय कांग्रेसमा महामानव बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई आदि थिए । दुई पार्टीबीच विसं २००६ चैत २७ गते एकता पछि नेपाली कांग्रेसको स्थापना भएको थियो ।
त्यसपछिका बर्षहरुमा कांग्रेसको अनवरत यात्रामा अलग अलग विचार समुहहरु पार्टी भित्र सदैव हाबि भइरहे । २०४८ सालपछिको कुरा गर्ने हो भने जहिलेसुकै कांग्रेस भित्र सत्ता वा सरकारका बिषयलाई लिएर बाहिरी रुपमा नै टुटफुटको श्रृखंला चलेको देखिन्छ । २०५६ को मध्यावधि निर्वाचनमा नेपाली कांग्रेसले तय गरेको आगामी सरकार कांग्रेसको, नेतृत्व भट्टराईको भन्ने नाराले कांग्रेसको सरकार त बन्यो तर त्यस बेलाका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई विरुद्ध आफनै पार्टी भित्रबाट संसदमा अविश्वासको प्रस्ताव राख्ने तयारी भएपछि प्रधानमन्त्रीबाट राजिनामा गर्नुपर्यो । यो पनि कांग्रेस भित्र मतमतान्तर र सत्ता लोलुप्ता, इष्र्या र डाह प्रवृत्ती थियो भन्ने उदाहरणको प्रतिनिधि घटना थियो । कांग्रेस भित्र यस्ता घटनाले आन्तरिक एकतामा कमजोर बनाउँदै लग्यो । गिरिजाप्रसाद कोइराला नेतृत्वको नेपाली कांग्रेसले शेर बहादुर देउवालाई पार्टी साधारण सदस्य समेत नरहने गरी कारवाहीको घोषणा गरे । फलस्वरुप २०५९ चैत्रमा देउवाको नेतृत्वमा नेपाली कांग्रेस ( प्रजातान्त्रिक) को स्थापना भयो । दुवैले छुट्टाछुट्टै अधिवेशन गरे । कार्यकर्ताको दबाबका कारण २०६४ मा कांग्रेस एकीकरण एकीकरण भयो । १२ औं महाधिवेशन जुन २०६७ असोजमा काठमाडौँमा सम्पन्न भएको थियो । यसैलाई कांग्रेसको पछिल्लो एकता महाधिवेशनका रुपमा लिइन्छ ।
त्यसयताका दिनहरुमा कांग्रेस एकीकरण भएपनि अलग अलग समुह वा गुटहरु अस्तित्वमा छदैछन । कांग्रेसकै विजयकुमार गच्छदारले अलगै मधेसी जनाधिकार फोरम लोकतान्त्रिक ( फोरम) समेत गठन गरे । अहिले गच्छदारको समुह पनि कांग्रेस भित्र भाग खोज्ने एउटा समुहका रुपमा छ । अर्को पार्टीका नेताहरुको प्रवेशले कांग्रेसमा निरन्तरता त पाएको छ तर नयाँ नेता प्रवेशसंगै त्यो समुहका लागि अलगै भाग खोज्ने प्रवृत्ती, महाधिवेशनमा जित्ने आधार ( महाधिवेशन प्रतिनिधिको संख्या कमजोर) हुँदा हुँदै गुट बनाउनकै लागि उम्मेदवारी दिने र भाग खोजी रहने प्रवृत्ती कांग्रेसलाई साँचो अर्थमा एकता हुन नदिने प्रवृत्ती भएको छ ।

यो प्रवृत्ती रहे सम्म एकताको महाधिवेशन भनिनु वा महाधिवेशनको नारामा एकता शब्द थपिनुले मात्रै खासै अर्थ र महत्व राख्दैन ।
हरेक आन्तरिक महाधिवेशनको होस वा हरेक चुनावको सन्मुखमा पार्टीमा प्रवेशको ताँती लाग्छ । ताँती भित्रका केही पात्रहरु चार तारे झण्डा र रुख चिन्हलाई मन मुटुमा राख्ने प्रतिबद्धता जनाउँछन । अनि फूलमाला र अविर जात्रा हुन्छ । सके सम्मको प्रचार हुन्छ कांग्रेसमा सयौं प्रवेश….. कांग्रेसमा युवाको लर्को ..आदी आदी शीर्षकमा । यसले पुराना कांग्रेसजनमा पनि उत्साह थप्यो कि नव प्रवेशीहरुको मनमा मात्रै उत्साह थप्यो ? अहिले १४ औं महाधिवेशनमा बहसको बिषय बनेको छ । यदि नयाँ कांग्रेसमा मात्रै त्यो उत्साह थपियो र पुराना कांग्रेसजनमा निराशा, कुण्ठा, पीडा मात्रै रहयो भने त्यस्तो किसिमको उत्साह पार्टीको भविष्यका लागि प्रत्युत्पादक बाहेक केही हुन सक्दैन ।

कांग्रेसमा रुपान्तरण
कांग्रेस पार्टी नीति र सिद्धान्तत एउटा लोकतान्त्रि पार्टी हो । यसले आफूलाई विभिन्न कालखण्डहरुमा परिवर्तन गर्दै आएको छ । हिन्दु राष्ट्र, संघीयता र गणतन्त्र नेपाली कांग्रेसको दस्तावेजमा कुनैबेला नभएका एजेण्डा हुन । तर कांग्रेसले जनचाहना र समय परिस्थितिको मागलाई बुझेर ढिलो भएपनि आफूलाई रुपान्तरण गर्यो । जनआन्दोलनमा गुञ्जिएका जनआवाजका स्वरहरुलाई कांग्रेसले सम्बोधन गर्न चाहयो । लोकतन्त्र अर्थात गणतन्त्र प्राप्तीको आन्दोलन कांग्रेसको युवा पुस्ताले उठाएको आन्दोलन हो । कम्युनिष्ट पार्टीहरु समेत राजतन्त्रका पक्षमा रहेको बेला युवा पुस्ताका नेताहरु गगन थापा, विश्वप्रकाश शर्मा, गुरुराज घिमिरे , प्रदिप पौडेलहरुले जनताको आवाजलाई कांग्रेसले सम्बोधन गर्नुपर्छ भनेर आन्दोलनमा उर्जा थपे । परिणाम स्वरुप मुलुकमा राजनीतिक व्यवस्था परिवर्तन सम्भव भयो । त्यसकारण कांग्रेसले इतिहासका विभिन्न कालखण्डहरुमा आफूलाई रुपान्तरण गरेर अघि बढदैछ भन्न हामीले सर्माउनु पर्दैन । यो त भयो कांग्रेसले देश र जनताका निम्ति आफूलाई गरेको रुपान्तरणको परिणाम । तर कांग्रेस पार्टीले आफनो पार्टी सञ्चालन, संगठन परिचलान र पार्टी नेता कार्यकर्तामा रहेका अनेकौं अवगुणहरुलाई सहि ढंगले रुपान्तरण गर्न सक्यो कि सकेन ? कांग्रेस भित्रै रुपान्तरणको आवश्यकता छ कि छैन ? छ भने कसले गर्ने ? कहाँबाट गर्ने ? हो यिनै सवालहरुको जवाफ पनि खोजिरहेको छ कांग्रेसको १४ औं महाधिवेशनले । कांग्रेस सधैं कांग्रेस नरहँदाको परिणाम हरेक निर्वाचनमा पार्टी भित्र अन्तर्घात, बैमनस्यता र हार्दिकतामा चोट लागेका खबरहरुले कांग्रेसजनको मन कुँडिएको छ । कांग्रेसले कांग्रेसलाई यो वा त्यो बहानामा प्रतिस्पर्धीहरुसंगको चुनावमा मत नदिने, नन कांग्रेसहरुसंग गला जोडेर व्यक्तिगत स्वार्थ पूरा गर्न उद्धत रहने कांग्रेस प्रवृत्तिमा रुपान्तरण खोजिरहेको छ । यि र यस्ता कांग्रेस भित्र रुपान्तरणका मुद्धाहरु कैयौं छन । ति सबैको सम्बोधन १४ औं महाधिवेशनले गर्न सकोस । कांग्रेसमा उत्साह, एकता र रुपान्तरण, सफल पारौं १४ औं महाधिवेशनको नाराले सार्थकता पाउन सकोस यही कामना ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here