असहायलाई घर बनाई दिँदै हुकुमसिंह

0
369

दमक/ आर्थिक विपन्नता र सरकारी वेवास्ताका कारण जीर्ण घरमा बास बस्दै आएकी झापा कमल ५ टुकुरेकी एक जना विपन्न तथा असहाय महिलाले अब नयाँ घर पाउने भएकी छिन ।

२५ बर्षको उमेरमा तीन छोरीकी आमा बनेपछि पति समेत गुमाएर कष्टकर जिवन बिताइरहेकी संगीता राईले जस्ता पाता र काठले बनेको नयाँ घर पाउने भएकी हुन । उनका पति पुष्प राईको एक बर्ष अघि रतुवा खोलामा डुबेर मृत्यु भएको थियो । उनी गरीबिका कारण घाम पानी छिर्ने जीर्ण घरमा तीन नाबालक सन्तानसहित बस्दै आएकी थिइन ।

सो सम्बन्धि समाचार गत शुक्रबार बाहिर आएको थियो । सो समाचार लगत्तै राजनीतिक तथा सामाजिक क्षेत्रमा क्रियाशील कमलका युवाहरुले स्थानीय नेता हुकुमसिंह राईको नेतृत्वमा संगीताको सुरक्षित बसोेबासका लागि घर निर्माणको पहल थालेका थिए ।

बुधबार ( आज) सम्ममा सो समुहले संगीताको परिवारलाई सुरक्षित आवास निर्माणको काम ५० प्रतिशत सकेका बताइएको छ । असहाय तथा विपन्न नागरिकहरुका लागि सरकारले विभिन्न किसिमका सुरक्षित आवासाका कार्यक्रमहरु ल्याएपनि संगीताले घर पाउन सकेकी थिइनन । नागरिकहरुलाई सुरक्षित बसोबासको व्यवस्था मिलाउनु पर्ने दायित्व सरकारको हुने संविधानमा उल्लेख छ ।

तर संगीताको कतै पहुँच नहुँदा करीब ६-७ बर्षअघिदेखि उनको परिवार त्यहाँ छरछिमेक र सहयोगी दाताहरुको भरमा गुजारा चलाउँदै आएको उनकी छिमेकी स्थानीय शान्ता चेम्जोङ ( देवान)ले बताइन । उनका लागि अन्य सामान्य सरसहयोग गर्नेहरु आएपनि सुरक्षित घरको अभावमा दाताहरुले दिएको सहयोग समेत आफनो घरमा लगेर थन्क्याउनु पर्ने अवस्था रहेकोले कम्तीमा घाम पानी नपस्ने सुरक्षित घरको आवश्यकता खडकिएको शान्ताले बताइन । यहाँ हावापानीको मात्रै होईन हात्ती, सर्पहरुको पनि उस्तै त्रास छ, ससाना नानी छन घर बलियो नहुँदा नानी च्यापेर कुदनुपर्ने अवस्था थियो – शान्ताले भनिन– संगीताका लागि घर भए स्वर्ग हुन्थ्यो उसलाई । घर बनाउने काममा अगुवाई गरिरहेका स्थानीय निर्वाचनमा कमल गाउँपालिकाको अध्यक्षका प्रत्यासी समेत रहेका हुकुमसिंहले संगीता जस्ता विपन्नहरु सरोकारवाला निकायको अदेखमा पर्नु दुखद भएको बताउँदै भने– युवाहरु स्वतस्फूर्त रुपमा उनको घर बनाउन जुटेका हुन । सीप भएका र समय दिन सक्नेहरु आफैं खटिनु भएको छ , एउटी असहाय , विपन्न, एकल महिलाको सुरक्षित बाँच्न पाउनु पर्छ भन्ने आम धारणा हो ।

संगीताको परिवारको आर्थिक अवस्था कमजोर रहेको भन्ने सूचना पाएर गत शुक्रबार दमकस्थित सुन्दर समाज नेपाल नामक संस्थाले उनलाई घरमै पुगेर खाद्यान्न राहत हस्तान्तरण गरेको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here