दमकमा निषेधाज्ञामा थप कडाइँ गरीने

0
250

दमक/ दमक नगरपालिका क्षेत्रमा आगामी जेठ मसान्त सम्म व्यवसाय सञ्चालन र अत्यवश्यक बाहेकका काममा हिंडडुल गर्न रोक लगाउने निर्णय भएको छ ।

झापाको जिल्लास्तरीय कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिको बिहिबार बसेको बैठकले जारी निषेधाज्ञाका बिषयमा गरेका निर्णयहरुको कार्यान्वयन गर्दै दमकमा थप कडाइँसाथ निषेधाज्ञाको कार्यान्वयन गर्ने÷गराउने निर्णय भएको हो ।

 शुक्रबार  दमक नगरपालिकामा बसेको नगरस्तरीय समितिको बैठकले दमकमा सबैभन्दा बढी भिडभाड हुने क्षेत्रका रुपमा तरकारी बजारस्थल भएकाले नगर भित्र सञ्चालनमा रहेका तरकारी बजारलाई समेत पूर्ण रुपमा बन्द गर्दै निषेधाज्ञालाई कडा बनाउने निर्णय गरेको हो । बैठकमा दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले व्यवहारिक र कार्यान्वयन गर्न सकिने किसिमको मात्रै निर्णय लिन सुझाव दिए । उनले अधिकांश नगरबासीहरुले कुनै न कुनै रुपमा निषेधाज्ञा उल्लंघन गरिरहेकाले निषेधाज्ञा उल्लंघन वा कोरोना संक्रमण बढनुमा व्यवसायीहरुलाई मात्रै एकतर्फी दोष थुपर्ने काम उचित नभएकाे उल्लेख गरे ।

समितिका संयोजक समेत रहेका नगर प्रमुख रोमनाथ ओलीको अध्यक्षतामा बसेको बैठकले दमक बजार भित्रका तरकारी बजारहरुमा एकै समयमा बढी मानिसहरुको आवतजावत हुने भएको तथा दमकमा कोरोना संक्रमण बढीनै भएका कारण यसलाई पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको हो ।

बैठकमा जिल्लास्तरीय समितिले गरेका निषेधाज्ञा सम्बन्धिका निर्णयहरु जानकारी गराउनुका साथै दमकमा कोरोना रोकथाम तथा नियन्त्रणका सन्दर्भमा अहिले सम्म भइरहेका कामहरुको बिषयमा जानकारी गराइएको थियो ।

बैठकमा दमक नगरपालिकाका बजार अनुगमन समिति संयोजक भिम पौडेलले यो महामारीको समयमा समेत मदिरा तथा चिसो पेय पदार्थको खपत बजारमा हुनु दुखद भएको बताए । निषेधाज्ञा उल्लंघन गर्ने जो कोहीमाथि कानुनले तोकेको हदै सम्मको कारवाहीको सिफारिस गर्न सबै तयार हुनुपर्ने बताए ।

उनले भने–स्वास्थ्यका दृष्टिकोणले हानिकारक मानिएको कोल्ड डिकंस तथा रक्सीको ओसारपसार बजारमा भइरहेको सूचना पाएका छौं, कारवाहीका लागि सबै तयार हुनुपर्छ, म त्यसको अगुवाई लिन तयार छु ।

नगरपालिकाको स्वास्थ्य शाखाका कुबेर भट्टराईले कोरोनाको दोश्रो भेरियन्टबाट संक्रमित ८६२ जना कोरोना संक्रमण मुक्त भएका जानकारी गराए । त्यसैगरी नगरपालिकामा कूल ३६२ जना सक्रिय संक्रमित रहेका, २० जनाको मृत्यु भएको र निशुल्क रुपमा ९०९ जनाको पिसिआर परिक्षण गरिएको पनि भट्टराईले जानकारी गराए ।

उनले नगरपालिकाले सबै वडा कार्यालयहरुमार्फत संक्रमितका घर घरमा स्वास्थ्यकर्मीहरुले आधारभुत औषधिहरुसहितको प्याकेज उपलब्ध गराइरहेको पनि जनाए । बैठकमा नेपाली कांग्रेसका महासमिति सदस्य शेरबहादुर भट्टराई,सहित लाइफलाइन अस्पताल दमकका मेडिकल सुपरिटेण्डेन्ड डा. सूर्यनारायण साह , स्वास्थ्य निरिक्षरक बद्री बराल लगायत जनप्रतिनिधि, राजनीतिक दलका प्रतििधहरु लगायतको सहभागिता थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here