आर्थिक गतिविधि ठप्प, कर तिर्ने समय थप्न निजी क्षेत्रको माग

0
235

काठमाडौं । तीन वटै निजी क्षेत्रले कर तिर्ने समय थप्न माग गरेका छन् । सरकारले निषेधाज्ञा लागू गरेपछि आर्थिक गतिविधि ठप्प बनेकाले यस्तो परिस्थितिमा कर तिर्न नसकिने भएकाले समय थप्न माग गरेको हो ।

यस अघि गरिएको लकडाउन तथा निषेधाज्ञाले अर्थतन्त्र चलायमान हुन नसकेको अवस्थामा फेरि निषेधाज्ञा लागू गरेपछि यो समयमा सरकारलाई कर तिर्न नसकिने अवस्था आएको उनीहरुको भनाइ छ ।

आगामी बैशाख २५ गते सरकारलाई कर बुझाउने समय आउँदै छ । त्यो समयलाई पछि सार्न सरकारसँग आग्रह गरिएको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले जानकारी दिए ।

‘यो परिस्थितिमा कर बुझाउन सम्भव छैन्,’ गोल्छाले भने, ‘केही समय पर सारेर व्यवसायीलाई राहत दिन आग्रह गरिएको हो ।’उनका अनुसार मूल्य अभिबृद्धि कर, अन्तःशुल्क, आय करको अग्रिम कर कट्टी लगायतका करहरूको विवरण बुझाउनु पर्ने म्याद र कर रकम भुक्तानीको समय थप गरिदिन आग्रह गरेको हो ।

कोभिड महामारीका कारण दैनिक उपभोग्य बाहेकका व्यापार, व्यवसाय र सवारी आवागमन बन्द भएका, उद्योग प्रतिष्ठानका कर्मचारी तथा कामदारहरु समेत स्वास्थ्य संवेदनशीलताका कारण आवतजावत गर्न नसकेकाले समयमा कर विवरण वुझाउन र कर रकम भुक्तानी गर्न नसकिने हुँदा समय थप गर्न महासंघले आग्रह गरेको हो ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले उद्योग, व्यवसाय तथा कार्यालयहरू बन्द रहेको र व्यवसायी तथा कर्मचारीहरू आफ्ना कार्यालयमा जान सक्ने अवस्था नरहेकाले कर तिर्ने समय थप्न सरकारलाई आग्रह गरिएको बताए ।

‘कागजातहरू पनि कार्यालयमै रहने भएकाले यस परिस्थितिमा कर विवरण र कर रकम दाखिला गर्न अनलाइनबाट समेत सम्भव नभएकोले आवश्यक म्याद थप गरिदिने व्यवस्थाका मिलाउन आग्रह गरिएको उनको भनाइ छ ।

नेपाल उद्योग परिसंघका अध्यक्ष शतिशकुमार मोरले व्यवसाय ठप्प भएकाले कर तिर्ने समय थप्न माग गरिएको बताए । ‘एकातिर उद्योगी व्यवासयीसँग पैसा छैन्, व्यापार व्यवसाय ठप्प छ । यस्तो बेला कसरी कर तिर्न सकिन्छ ?’ उनले भने, ‘सरकारले पनि व्यवसायीको भावना बुझेर निर्णय गर्नुपर्छ ।’

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here