दमकमा उद्योग कानून बारेमा छलफल

0
161

दमक/ स्थानीय सरकारको अधिकार तथा दायित्व अन्तर्गत पर्ने घरेलू, साना तथा लघु उद्यग सम्वन्धि कानून तर्जुमा बारे दमक नगरपालिका छलफल शुरु भएको छ ।

उपभोक्ता हित संरक्षण मञ्चको सक्रियतामा छलफलको थालनी भएको हो । सोहि क्रममा उद्योग दर्ता, नविकरण तथा नियमन सम्वन्धि कानूनको मस्यौदा बारे आईतबार अन्तरक्रिया गरिएको छ । मञ्चका प्रदेश १ का उपाध्यक्ष तथा दमक नगरसमिति अध्यक्ष डा. नविन चापागाईको अध्यक्षतामा भएको छलफलमा सरोकारवालाहरुले प्रस्तावित मस्यौदा माथि आफ्नो धारणा राखेका थिए । छलफलका क्रममा जनप्रतिनिधीहरुले नयाँ कानूनबारे छलफल शुरु भएको र सवैको राय सुझाव समेटेर कानून तर्जुमा गर्ने बताएका थिए ।

कार्यक्रममा प्रमुख अतिथी एवम् दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले स्थानीय सरकार सञ्चालनका लागि आवश्यक कानून बनाउन नगरपालिकाले प्राथमिकता दिँदै आएको बताउनु भयो । उहाँले नगर भित्र स्थापना भएका तथा स्थापना हुने उद्योगहरुलाई सरल र सहजढंगबाट सेवा प्रवाह गर्ने तथा नियमन एवम् अनुगमनका लागि चाँडै कानून निर्माणको प्रकृया थालनी गर्ने प्रतिवद्धता पनि जनाउनु भयो ।

यस्तै नगरपालिका विधायन समितिका संयोजक बोधराज न्यौपानेले प्राप्त विधेयकको मस्यौदा माथि अध्ययन् गरि नगरसभाबाट पारित गराउने बताउनुभयो भने बजार अनुगमन समिति संयोजक भिम पौडेलले दमक नगरपालिकाले उपभोक्ता अधिकारको रक्षा, बजार व्यवस्थापन तथा सरल सेवा प्रवाहमा क्रियाशिल रहेको धारणा राख्नु भयो ।

विधेयकको मस्यौदाबारे अधिवक्ता कुमारी खरेलले प्रकाश पार्नु भएको थियो भने मञ्चका प्रदेश १ का सचिव मेघराज श्रेष्ठले मञ्चले विभिन्न स्थानीय सरकारहरुलाई उपभोक्ता सचेतना, बजार व्यवस्थापन लगायतका क्षेत्रमा सहयोग गर्दै आएको र हाल उद्योग दर्ता, नविकरण एवम् नियमन सम्वन्धि कानून निर्माणमा सहजीकरण गरि रहेको बताउनुभयो । मस्यौदा माथि धारणा राख्दै दमक उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष एवम् कार्यवाहक अध्यक्ष गोपाल गुरागाँईले उद्योग सम्वन्धि ऐन बनाउँदा र त्यसको कार्यान्वयन गर्दा संघलाई समेत सहभागी गराउन आग्रह गर्नु भयो ।

कार्यक्रममा दमक नगरपालिकाका जनप्रतिनिधी, उपभोक्ता तथा बजारसँग सम्वन्धित कर्मचारी, प्रयोगशालाका प्राविधिक, दमक उद्योग वाणिज्य संघका प्रतिनिधी लगायतको सहभागीता रहेको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here