काेराेना संक्रमणकाे जाेखिम बढ्दै, मास्क नलगाए कारबाही

0
213

काठमाडौं, १३ चैत । उपत्यकामा कोभिड–१९ को जोखिमको रोकथाम तथा नियन्त्रणका लागि सरकारले सार्वजनिक यातायात क्षेत्रमा कडाइ गर्ने भएको छ ।

अघिल्लो वर्षजसरी नै सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सार्वजनिक यातायात क्षेत्रलाई कडाइ गर्न शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौंको, प्रमुख जिल्ला अधिकारी, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, यातायात व्यवसायी र यातायात मजदुरहरुबीच छलफल गरेको छ ।

छलफलमा प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले सार्वजनिक यातायात क्षेत्रमा स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउने निर्णय भएको बताएका छन् । उनका अनुसार सार्वजनिक यातायात क्षेत्रमा शुक्रबारदेखि लागू हुनेगरी अनिवार्य मास्क लगाउने, सिट क्षमता अनुसार यात्रुहरु राख्ने, भौतिक दूरीलाई व्यवस्थित गर्ने र बसपार्कमा साबुन–पानीको व्यवस्था गरी हात धुने व्यवस्था गर्ने, माइकिङ गर्ने, जनचेतना फैलाउने र अनुगमनलाई प्रभावकारी बनाउने निर्णय भएको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भारतमा कोरोनाको संक्रमण दर बढ्दै गएको र नेपालमा पनि बढ्ने सम्भावना देखिएकाले पूर्वसावधानी अपनाउने निर्णय भएको जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोना संक्रमणको दोस्रो लहर आउनसक्ने सम्भावना देखिएपछि संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निकायसँग छलफल गरिरहेको जनाएको छ । शुक्रबारको बैठकले सार्वजनिक यातायातमा मास्क नलगाइ यात्रा गर्ने यात्रुलाई कारबाही गर्ने निर्णय भएको पनि जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here