परिस्थितिअनुसारको योजना लागू गर्न प्रहरी महानिरीक्षकको निर्देशन

0
245

काठमाडौँ, २३ पुस / प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट प्रहरी नायब महानिरीक्षक (डिआइजी) पदमा पदोन्नति भएका नौ प्रहरी अधिकृतलाई आज दज्र्यानी चिन्ह प्रदान गरिएको छ ।

सरकारको गृहमन्त्रीस्तरको बुधबारको निर्णयानुसार प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी प्रधान कार्यालयमा आज एक समारोहका बीच उहाँहरुलाई दज्र्यानी चिन्ह प्रदान गर्नुभएको हो । दज्र्यानी चिन्ह प्राप्त गर्नेमा प्रहरी नायब महानिरीक्षक गणेशबहादुर ऐर, पुरुषोत्तम कँडेल, राजेशकुमार लाल कर्ण, डा देवबहादुर बोहरा, दिवेश लोहनी, रामकृपाल साह, उमेश रञ्जितकार, प्रकाश अधिकारी र मुकुन्दराज आचार्य हुनुहुन्छ ।

उक्त समारोहमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले पदोन्नति भएका प्रहरी नायब महानिरीक्षकलाई बधाई दिँदै प्राप्त जिम्मेवारीलाई नयाँ ऊर्जाका साथ निर्वाह गर्न निर्देशन दिनुभयो । उक्त अवसरमा पदोन्नति भएका प्रहरी अधिकृतकोतर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेलले प्रचलित कानून र सङ्गठनको नीति निर्देशानुसार काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यसैबीच प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले हालै सरुवा भई जान लागेका प्रहरी उपरीक्षक र प्रहरी नायब उपरीक्षकलाई प्रहरी प्रधान कार्यालयमा आज एक समारोहका बीच कार्य क्षेत्रमा उत्कृष्ट सेवा प्रदान गर्न निर्देशन दिनुभएको छ ।

उहाँले मुलुकको वर्तमान परिस्थितिलाई मनन र विष्लेषण गरी सोहीअनुरुपको कार्ययोजना बनाई अगाडि बढ्न सरुवा भई जान लागेका प्रहरी अधिकृतलाई निर्देशन दिनुभयो । हालको सुरक्षा चुनौती व्यवस्थापन, तस्करी तथा गुन्डागर्दी नियन्त्रण र नेपाल सरकारद्वारा घोषित निर्वाचनलाई मध्यनजर राखी आवश्यक तयारीमा जुट्नु पनि आग्रह गर्नुभयो ।

उहाँले सङ्गठनले लागू गरेको नेपाल प्रहरी कार्य योजना र प्रहरी कर्मचारीले पालना गर्नुपर्ने आचार संहितालगायतका नीति निर्देशनलाई अक्षरशः पालना गरी लागू गर्नुपर्नेमा जोड दिनुभयो । प्रहरी प्रधान कार्यालयले यही पुस २१ गते ३० जना प्रहरी उपरीक्षक र ६९ जना प्रहरी नायब उपरीक्षकको सरुवा गरेको थियो ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here