नेपाल टेलिकमले ल्यायो नयाँ अफर

0
364

नेपाल टेलिकमले मोबाइल सेवामा समर अफर अन्तर्गत हाल उपलब्ध गराइरहेको विभिन्न प्याकेजलाई थप÷परिमार्जन गरी बिहीबारदेखि ९० दिन लागु हुने अटम अफर उपलब्ध गराउने भएको छ । यसैगरी घटस्थापनादेखि कोजाग्रत पुर्णिमासम्म लागु हुने ‘दशैं अफर’ र काग तिहारदेखि छठ पर्वसम्म लागु हुने ‘तिहार अफर’ लाई फेस्टिभल अफरका रुपमा उपलब्ध गराउने टेलिकमले जनाएको छ ।

पहिलेदेखि नै उपलब्ध केही प्याकहरु यथावत् राखिएका छन् भने केही प्याकहरु परिमार्जन गरी थप आकर्षक बनाइएका छन् । साथै सान्दर्भिक नभएका केही प्याकहरुलाई निरन्तरता नदिइने भएको टेलिकम प्रवक्ता राजेश जोशीले जानकारी दिए ।

अटम अफरमा नयाँ प्याकेजका रुपमा सोसल मिडिया प्याक उपलब्ध हुनेछ । यस अन्तर्गत ३ दिनसम्म चलाउन मिल्नेगरी रु. ५५ मा युट्युब र फेसबुक अनलिमिटेड प्याकेज छुट्टाछुट्टै उपलब्ध हुनेछ । यी अफर खरिद गरे पश्चात् सहुलियतस्वरुप रु. १५ मा ३ दिनसम्म सबै किसिमका एप्लिकेसन प्रयोग गर्न सकिने एक जिबी डाटाको एड अन प्याक समेत खरिद गर्न सकिनेछ ।

पहिलेदेखि नै उपलब्ध अल टाइम भ्वाइस प्याक अन्तर्गत १ दिन, ७ दिन, २८ दिन र ३५ दिनका लागि उपलब्ध भ्वाइस प्याकहरु यथावत् राखिएका छन् । त्यसैगरी राती १० बजेदेखि बिहान ७ बजेसम्म चलाउन मिल्ने नाइट भ्वाइस प्याक र बिहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म चलाउन मिल्ने विभिन्न दरका डे भ्वाइस प्याक पनि यथावत राखिएका छन् ।
यसअघि ‘वान डे डाटा प्याक’ अन्तर्गत कुनैपनि समय चलाउन मिल्ने प्याक रु. १५ मा ६० एमबी उपलब्ध गराइरहेकोमा अब १०० एमबी प्राप्त गर्न सकिनेछ । त्यसैगरी ‘थ्री डे डाटा प्याक’ रु. ६० मा ४०० एमबी उपलब्ध गराइरहेकोमा अब ५०० एमबी प्राप्त गर्न सकिनेछ ।

यसैगरी फेस्टिभल अफरका रुपमा दशै÷तिहार र छठ पर्वलाई समेत समेटी जिएसएम÷सिडिएमए मोबाइलको रिचार्जमा कुराकानीका लागि अतिरिक्त मिनेट बोनसका रुपमा उपलब्ध गराइने टेलिकमले जनाएको छ । यसमा रिचार्ज कार्डबाट रु. ५० रिचार्ज वा एमपोसबाट रु. २० देखि रु. ५० सम्म रिचार्ज गर्दा सोही दिन प्रयोग गर्नुपर्ने गरी ५ मिनेट बोनस प्राप्त हुनेछ । रिचार्जकार्डबाट रु. १०० वा एमपोसबाट रु. ५१ देखि रु.१०० रिचार्ज गर्दा सोही दिन प्रयोग गर्नुपर्ने गरी थप १० मिनेट बोनस प्राप्त हुनेछ । रिचार्ज कार्डबाट रु. २०० वा एमपोसबाट रु. १०१ देखि रु. २०० रिचार्ज गर्दा सोही दिन प्रयोग गर्नुपर्ने गरी २० मिनेट थप बोनस प्राप्त गर्न सकिनेछ । एमपोसबाट रु. २०१ देखि रु. ४९९ सम्म रिचार्ज गर्दा सोही दिन प्रयोग गर्नुपर्ने गरी ३० मिनेट बोनस प्राप्त गर्न सकिनेछ ।

यसैगरी, रिचार्ज कार्डबाट रु. ५०० वा एमपोसबाट रु. ५०० देखि रु. ९९९ सम्म रिचार्ज गर्दा दुई दिनभित्र प्रयोग गर्न सकिने गरी ५० मिनेट बोनस प्राप्त हुनेछ । साथै, रिचार्ज कार्डबाट रु. १००० वा एमपोसबाट रु. १००० हजार वा सोभन्दा माथि रिचार्ज गर्दा दुई दिनमा प्रयोग गर्न सकिने गरी १०० मिनेट बोनस प्राप्त हुनेछ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here