गौरीगञ्ज गाउँपालिकाकाे बजेट सार्वजनिक, यस्ता छन् याेजना

0
447

दमक/ झापाको गौरीगञ्ज गाउँपालिकाले कोरोना केन्द्रित बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकाले हालै सम्पन्न छैठौं गाउँ सभाबाट पारित नीति कार्यक्रम तथा बजेटको विवरण पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो ।

पत्रकार सम्मेलनमा गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठले विश्वभर फैलिएको कोरोना संक्रमणका प्रभावित गौरीगञ्जबासी मजदुर तथा किसान वर्गलाई लक्षित गरेर यसपटक कृषि क्षेत्रसंग सम्बन्धित कार्यक्रमहरु पारित गरिएको बताए । पत्रकार सम्मेलनमा जनाइए अनुसार गाउँपालिकाले कोरोना केन्द्रित बजेट निर्माण गर्ने सिलसिलामा ३ करोड बढीको घाटा बजेट बनाउनु परेको छ ।

आर्थिक बर्ष २०७७/०७८ का लागि ४६ करोड ५१ लाख रुपैयाँको बजेट निर्माण गरिएको जनाइएको छ । ३ करोड भन्दा बढी घाटा बजेट पूर्तिका लागि खर्च कटौती, प्रदेश सरकारको समपुरक बजेट आदीलाई श्रोतका रुपमा लिइएको प्रमुख प्रशासकिय अधिकृत प्रविण दाहालले बताए । उनले न्यूनतम श्रोतबाट अधिकतम लाभ लिन प्रयास गरिने नीति रहेको पनि बताए ।
गाउँपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणका सिलसिलामा क्वारेन्टाइन व्यवस्थापनको लागि बजेट व्यवस्था गरेको छ भने कृषि, पशु तथा स्वास्थ्यलाई प्राथमिकतामा राखेर उपलब्ध स्रोतको आधारमा भौतिक पूर्वाधार र शिक्षा तर्फ समेत न्यायोचित बजेट वितरण गरेको जनाएको छ । गाउँपालिकामा उत्पादित कृषि उपजको भण्डारण र बजारीकरणको समस्यालाई मध्यनजर गर्दै विभिन्न संघ संस्था सहकारीहरुसंग साझेदारी गर्न सकिने गरी बजेट व्यवस्था गरिएको, पशुजन्य व्यवसाय गर्न समेत रु १ करोडका लागि ५ प्रतिशत ब्याज अनुदान दिइने, कृषि व्यवसाय गर्न डेढ करोड सम्मका लागि ५ प्रतिशत सम्म ब्याज अनुदान दिइने र त्यस किसिमको कार्यक्रम कार्यान्वयनका लागि आवश्यक कार्यविधी निर्माण गरिने पनि सार्वजनिक गरिएको नीति कार्यक्रममा उल्लेख छ ।

एक घर एक दुधालु गाई कार्यक्रमलाई कार्यन्वयन गर्न मिल्क क्यान र मदानी वितरण गरिने, निम्न वर्गका व्यक्तिका लागि उन्नत जातको दुधालु गाई खरिद गर्न ऋण लिन चाहेमा अधिकतम ८० हजार मुल्यका लागि ७ प्रतिशत ब्याज अनुदान दिइने, एक वडा एक बाली उत्पादन कार्यक्रमका लागि बजेट व्यवस्था गरिएको र कार्यविधी बनाएर लागू गरिने, गाई, भैंसी र बाख्रामा कृत्रिम गर्भाधानका लागि आवश्यक प्राविधिकको व्यवस्था गरिने, पशु प्राविधिकहरुलाई वडागत रुपमा कार्यविभाजन गरी उनीहरुको मोवाइल नम्बर सबै पशुपालक किसानहरुलाई उपलब्ध गराइने र प्राविधिक अपुग भए बैकल्पिक प्राविधिक व्यवस्था गर्ने , गाउँपालिका क्षेत्रका निम्न वर्गका परिवारहरुका ६०० गाई बस्तुको रु ५० हजार बराबरको निशुल्क बीमा गरिने, निम्न वर्गका १६० परिवारलाई स्वास्थ्य बीमाका लागि ७५ प्रतिशत रकम सहयोग गर्ने लगायतका कार्यक्रम पनि गाउँसभाले पारित गरेको जनाइयो ।

प्रत्येक चौमासिकमा प्रति वडा अधिकतम १० स्थानमा ज्येष्ठ नागरिकहरुका लागि घुम्ती शिविर सञ्चालन गरी निशुल्क औषधी समेत वितरण गरिने, दीर्घरोगीहरुको लागि उपचार खर्च सम्बन्धि मापदण्ड बनाई ५ हजार सम्म उपचार तथा औषधी खरिदमा सहयोग गर्ने प्राथमिक स्वास्थ्य केन्द्र खजुरगाछीमा आफ्नै स्रोतबाट भएपनि एमबीबीएस डाक्टरको सेवा उपलब्ध गराउने, इसीजि सेवाका लागि मेसिन जडान गर्न पहल गरिने पनि पत्रकार सम्मेलनमा जनाइयो ।

मृतकका परिवारमा स्थानीय सरकार पुग्ने
गाउँपालिकाले दुखको साथी, भरोसा राखौं गाउँपालिकामाथि भन्ने नारासहित गाउँपालिकाबासी कसैको पनि मृत्यु भएको खण्डमा दश हजार रुपैयाँ काजकिरिया खर्चमा सहयोग वापत उपलब्ध गराउने नयाँ कार्यक्रम ल्याएको छ ।
सके सम्म नगद १० हजार रुपैयाँ सहयोगसहित जनप्रतिनिधिहरु मृतक जो कोहीको घरमा पुगेर समवेदना प्रकट गरिने गाउँपालिका अध्यक्ष श्रेष्ठले बताए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here