‘लकडाउन’ अन्त्य, यस्ताे छ मन्त्रिपरिषद् बैठककाे निर्णय

0
618

काठमाडौं, साउन ६ । कोरोना महामारीका कारण जारी ‘लकडाउन’ मंगलबार (आज)बाट अन्त्य भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकभर चैत ११ गतेबाट लागू भएको लकडाउन आज मध्यरातबाट अन्त्य भएको जानकारी दिए ।

मन्त्रिपरिषद् बैठकले भदौ १ गतेदेखि लामो दूरीको सार्वजनिक यातायात सञ्चालन गर्न पाइने निर्णय गरेको पनि उनले बताए ।

यस्तै, निजी सवारी–साधनमा लगाउँदै आएको जोर–बिजोर प्रणाली पनि हटाइएको छ । मन्त्रिपरिषद् बैठकले साउन १५ गतेबाट होटल तथा रेस्टुरेन्टहरु सञ्चालन गर्न पाइने निर्णयसमेत गरेको छ । हाल होटलहरु बन्द नै छन् भने रेस्टुरेन्टहरुमा ‘प्याकिङ’ र ‘टेक अवे’ सेवामात्र दिने अनुमति छ । तर, सामूहिक भोज, पार्टीजस्ता गतिविधि गर्न भने पाइने छैन ।

सरकारका प्रवक्ता डा. खतिवडाले ट्रेकिङ, ट्राभल र पर्वतारोहणसम्बधी कार्यालय पनि साउन १५ बाट खोल्न सकिने जानकारी दिए । हिउँदे सिजनको पर्यटन व्यवसायलाई ध्यानमा राखेर यो निर्णय गरिएको उनकाे भनाइ छ ।

सरकारी कार्यालयमा हाल भइरहेको दुई ‘सिफ्ट’को व्यवस्था पनि अन्त्य गरिएको छ । अब विहान १० बजेदेखि साँझ ५ बजेसम्म कार्यालय सञ्चालन हुने मन्त्री डा. खतिवडाले जानकारी दिए । सार्वजनिक यातायात खुलेपछि सरकारी कार्यालय पनि नियमित १० देखि ५ बजेसम्म सञ्चालन हुने उनले बताए ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here