कालीगण्डकी नदीमा पानीको बहाव २७ वर्षयताकै उच्च

0
167

पर्वत, असार २६ । निरन्तरको वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव झन्डै तीन दशकयताकै उच्च विन्दुमा पुगेको छ ।

हिमालपारिको जिल्ला मुस्ताङबाट सुरु भइ म्याग्दी, पर्वत र बागलुङ हुँदै बग्ने कालीगण्डकी २७ वर्षयताकै उच्च विन्दुमा पुगेको हो । नदीको माथिल्लो बहाव क्षेत्र मुस्ताङको जोमसोमदेखि म्याग्दीको उत्तरी क्षेत्रमा बिहीबार रातिदेखि नै भारी वर्षा भएका कारण नदीमा पानीको बहावले उच्च विन्दु पार गरेको छ ।

२०५० साल साउन महिनामा कालीगण्डकी नदीले नौ गेज मिटरको उचाइ छोएको थियो । त्यसको ठिक २७ वर्षपछि उक्त विन्दु पार गरेको कालीगण्डकीमा गेज मिटर मापन (पानीको बहाव मापन) गर्दै आएका स्थानीय गेज रिडर कृष्णबहादुर सुवेदीले जानकारी दिए ।

प्रत्येक वर्ष कालीगण्डकी नदीले वर्षायाममा पानीको बहाव बढ्दा सरदर सातदेखि आठ गेज मिटरको उचाइ छुने गरेको थियो । यो वर्ष ती विगतका सबै रेकर्ड तोडेर उच्च विन्दु पार गरेको सुवेदीले जानकारी दिए ।

सुवेदीले विगत २९ वर्षदेखि आफूले कालीगण्डकी नदीमा गेज मिटर रिडिङको काम गर्दै आएको बताए । प्रत्येक दिन बिहान नदीमा पानीको सतह नाप्ने र पानीमा बालुवाको मात्रा अध्ययन गरी जल तथा मौसम विज्ञान विभागको पोखरा कार्यालयलाई विवरण उपलब्ध गराउने गरेकोसमेत उनले जानकारी दिए ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको विभागले देशभरका नदीमा गेज मिटर राखेर पानीको बहाव मापन गर्नेे गर्दछ । विभागले यसकै आधारमा तराईका क्षेत्रमा डुबानको पूर्वानुमान र विभिन्न वातावरणीय प्रभावका विषयमा समेत अध्ययन गर्ने गरेको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here