स्थानिय तह हरेक दृष्टिकोणबाट फरक छ : वडा अध्यक्ष पशुपतिराज गौतम

0
362

दमक / संघीयताको कार्यान्वयन तथा स्थानीय तहमा जनप्रतिनिधीको नेतृत्व स्थापित भए पछि गाउँ गाउँ सम्म विकासको लहर पुगेको छ । विगतको स्थानीय निकाय भन्दा शक्तिशाली र नागरिकको सवै भन्दा नजिकको सरकारको रुपमा स्थानिय तह सञ्चालनमा आए पछि नागरिकले आफ्नो सरकार आफ्नै वडामा पाउन थालेका छन् । वडा तह सम्म सरकार पुगेको प्रभावकै कारण वडा हुँदै टोल स्तर सम्म पनि विकासको लहर देखिन्छ । यसरी वडा र टोल स्तर सम्मनै विकासको लहर देखिएको स्थानीय तह, झापाको दमक पनि हो । यस नगरपालिकाका हरेक वडा र टोलमा अहिले विकासका कामहरुले तिव्रता पाएका छन् । यसै नगरपालिकाका वडा नम्बर ८  का वडाध्यक्ष पशुपतिराज गौतम संग विकास निर्माण र वडाले गरेकाे गतिबिधिका बारेका गरीएकाे  कुराकानी :-

यस वडामा विकासका कामहरु कसरी अघि बढेका छन् ?
यस वडामा तीनओटै तह मार्फत विभिन्न योजनाहरु सञ्चालनमा रहेका छन् । मुख्य योजनाहरुको कुरा गर्दा संघीय सरकार मार्फत रतुवा मार्गमा ग्राभेल र ड्रेन, विकास मार्ग रुपाटोल सडक कालोपत्रे, वडाभित्र पर्ने रतुवा खोलामा जनताको तटबन्धन, रिङरोडको केहि भाग कालोपत्रे भएको छ भने शान्ति निराजन मार्गमा कालोपत्रेको प्रकृया अघि बढेको छ । किरात चोक उत्तर र दक्षिण विकास मार्ग कालोपत्रे, सरस्वती मार्गमा कालोपत्रे र ड्रेनकभर निर्माणको प्रकृया अघि बढेको छ । पशुपति मार्गमा ड्रेन पूरा भएको छ । चन्द्रमा बाटिकाको दुवै तर्फ वडा नं. ८ र ९ मा तटबन्धन, गणेशमान मार्गमा ड्रेन, लक्ष्मीमार्ग कालोपत्रेका साथै सहिद स्मृति भवन निर्माणमा संघीय सरकारको बजेट खर्च भएको छ । यस्तै प्रदेश सरकार मार्फत जनता आधारभूत विद्यालयमा भवन निर्माण, ज्येष्ठ नागरिकका लागि भवन निर्माण भएको छ भने यसै वडाको मन्दिरको पूर्वाधार निर्माणमा पनि काम भएको छ । यसरी संघ र प्रदेश मार्फत समेत यस वडामा विभिन्न विकास निर्माणका कामहरु भएका छन्, केहि प्रकृयामा छन् र केहि जारी अवस्थामा छन् ।

नगरपालिकाले यो वडामा कस्ता योजनाहरु ल्याएको छ ?
हाम्रो नगरको तर्फबाट पनि विभिन्न कामहरु भएका छन् । वशन्त मार्गमा ड्रेन, कभर कालोपत्रे, सहिदमार्गमा ड्रेन ढकन, गणतन्त्र मार्ग ए मा ड्रेन र ढकन, गणतन्त्र मार्ग सीमा ड्रेन, ढकन र ईन्टरलकको काम भएको छ । यस्तै रातेहोली व्यवस्थापन गरि पार्कको रुपमा विकास गर्नेक्रम शुरु भएको छ । रतुवाबाँधलाई ग्रीनबेल्ट र पार्कको रुपमा अघि बढाईएको छ । नमूना मार्गमा ड्रेन, बिरान मार्गमा ड्रेन, आईतबारे टोलमा कलभर्ट निर्माण गरिएको छ भने वडाका महिलाहरुलाई उद्यमी बनाउने प्रयासको रुपमा अचार उद्योगलाई प्रवद्र्धन गरिएको छ । यि सँगै सामाजिक सशक्तिकरण, क्षमता विकास, व्यक्तित्व विकास लगायतका क्षेत्रमा पनि योजनाहरुमा समावेश गरि कार्यान्वयन भई रहेको छ ।

वडामा गर्नै पर्ने बाँकि काम के छन् ?
विकासका काम त समाज र सहरको विकाससँगै निरन्तर गरि रहनै पर्छ, पूर्ण त कहिल्यै हुँदैन । तर केहि वर्षभित्रै वा चाँडै गर्नु पर्ने कामको रुपमा भन्नु पर्दा वडा कार्यालय तथा आधारभूत स्वास्थ्य चौकीको भवन बन्नेक्रममा छ, ठेक्का लागि सकको छ । यि बाहेक पनि अरु धेरै योजना छन् । राते होलीमानै तीन ठाउँमा पुलको खाँचो छ । औद्योगिक क्षेत्रजाने सडक खण्ड, रिङरोडको वडा नं. ९ जोड्ने स्थान र सहिदमार्गबाट वडा नं.९ जोड्ने स्थानमा पुलको खाँचो छ । रतुवा बाँधको व्यवस्थापन गरि ग्रीनबेल्ट र पार्कको काम, रातेहोली व्यवस्थापन, सरस्वती माविको जग्गा व्यवस्थापन, जनता आधारभूत विद्यालयमा भवन र पूर्वाधार विकास जस्ता योजनाहरु सकेसम्म छिटै अघि बढाउनु पर्ने अवस्थामा रहेका छन् ।

तपाई त विगतमा पनि वडाध्यक्ष भईसक्नु भएको हो, स्थानीय सरकारको जनप्रतिनी भएर काम गर्दा के फरक पाउनु भयो ?
फरक त धेरैनै छन् । अधिकार, जिम्मेवारी, श्रोत साधन परिचालन हरेक दृष्टिकोणबाट फरक छ । अहिले संघीयता कार्यान्वयनको कुरा गर्दा हामीले के बुझ्यौं भने संघीयताको जगनै वडा तह हो । वडा तहलाई जति परिचालन गर्न सकियो, बलियो बनाउन सकियो संघीयता पनि त्यतिनै बलियो हुने मैले अनुभूती गरेको छु ।

नगरपालिकाको सार्वजनिक सेवा तथा क्षमता विकास समितिको संयोजक भएर पनि काम गरिरहनु भएको छ । समितिले कसरी काम गरि रहेको छ ?
सुशासन तथा मितव्ययीता अहिलेको आवश्यता हो । यहि स्थापित गर्न समिति क्रियाशिल रहेको छ । सार्वजनिक सेवा तथा क्षमता विकास समिति नगरको सुशासन समितिको रुपमा पनि रहेको छ । यसले नगरको सेवा प्रवाहलाई चुस्त, सरल बनाउने, सुशासन कायम गराउने जस्ता कुरामा बोर्डलाई जानकारी गराउने काम गर्दै आएको छ । यस्तै कर्मचारी तथा जनप्रतिनिधीहरुको क्षमता कसरी अभिवृद्धी गर्ने, कस्ता तालिमहरु सञ्चालन गर्ने भनेर पनि समितिले वोर्डलाई सिफारिस गर्दछ । त्यहि अनुसार विभिन्न तालिम, गोष्ठि लगायत क्षमता अभिवृद्धीका काम पनि हुँदै आएका छन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here