सार्वजनिक जमिनको संरक्षणलाइ प्राथमिकता दिएका छाै : वडाध्यक्ष भिमप्रसाद पौडेल

0
552

दमक /  संघीयताको कार्यान्वयन तथा स्थानीय तहमा जनप्रतिनिधीको नेतृत्व स्थापित भए पछि गाउँ गाउँ सम्म विकासको लहर पुगेको छ । विगतको स्थानीय निकाय भन्दा शक्तिशाली र नागरिकको सवै भन्दा नजिकको सरकारको रुपमा स्थानिय तह सञ्चालनमा आए पछि नागरिकले आफ्नो सरकार आफ्नै वडामा पाउन थालेका छन् । वडा तह सम्म सरकार पुगेको प्रभावकै कारण वडा हुँदै टोल स्तर सम्म पनि विकासको लहर देखिन्छ । यसरी वडा र टोल स्तर सम्मनै विकासको लहर देखिएको स्थानीय तह, झापाको दमक पनि हो । यस नगरपालिकाका हरेक वडा र टोलमा अहिले विकासका कामहरुले तिव्रता पाएका छन् । यसै नगरपालिकाका वडा नम्बर ७  का वडाध्यक्ष भिमप्रसाद पौडेल  संग विकास निर्माण र वडाले गरेकाे गतिबिधिका बारेका गरीएकाे  कुराकानी :-

वडाध्यक्षको जिम्मेवारी सम्हालेको यो अवधि कस्तो रहयो ?
संघीयताको कार्यान्वयनले वडाध्यक्षको जिम्मेवारी समेत विगतको जस्तो मात्र रहेन । हामी वडाध्यक्षले पनि थप जिम्मेवारी र अधिकार सहित काम गर्नु पर्ने अवस्था बन्यो । त्यसैले गाउँ गाउँमा सिंहदरवार भन्ने कुराको अनुभूती दिलाउन हामी क्रियाशिल रहयौं । हामी जिम्मेवारीमा आएको करिव आधा कार्यकाल वित्दै गर्दा हाम्रो श्रोत साधनले भ्याएसम्म अधिक भन्दा अधिक काम गर्ने तर्फ लागेका छौं । यस विचमा पनि हामीले केही महत्वपूर्ण काम गरेका छौं ।

यस वडामा भएका मुख्य मुख्य योजना के रहेका छन् ?
पहिलो कुरा त, वडाभित्र रहेका सार्वजनिक जमिनको संरक्षणमानैं हाम्रो जोड रहयो । पृथ्वी माविको ४५ वर्ष देखि रहेको जग्गा खाली गराउने समस्या समाधान गरियो । यसै गरि पशुहाट दक्षिण, गाईडबाँध, सुनटोल, पुरानो गोसखान लगायतका स्थानमा हामीले सार्वजनिक जग्गाको संरक्षण गरेका छौं । पशुहाट र रेडक्रस भवनको विचमा रहेको जमिनमा त्यहाँको पञ्चायत स्मारक समेत एउटा इतिहासको निशानी भएकाले त्यसको संरक्षण गर्दै रोज गार्डेन निर्माण गरिएको छ । बसपार्क उत्तर तर्फ सडक कालोपत्रे सहित फराकिलो बनाईएको छ । यसैगरि यस वडामा स्वास्थ्य चौकी निर्माण समेत थालिएको छ । अझैपनि केहि लक्ष्य निर्माण गरि हामी अघि बढेका छौं । माथिल्ला तहका सरकारहरुसँग समन्वय गरि रतुवाखोलाको तटबन्धन भई रहेको छ भने अब त्यसको किनारमा ग्रीनबेल्ट सहितको फराकिलो सडक निर्माण गरिने छ । यस्तै दमक चिसोपानी रवि सडकको जीरो प्वाईन्ट दमक बसपार्कलाई बनाएर रतुवाको किनारै किनार सडक सञ्चालन हाम्रो लक्ष्य हो । सोहि ठाउँमा सुविधा सम्पन्न चिल्ड्रेन पार्क पनि निर्माणको लक्ष्य छ भने ईनडोर गेमका लागि सुविधा सम्पन्न कवर्ड हल निर्माणका लागि पनि हामी जुटेका छौं ।  अर्को महत्वपूर्ण योजनाका रुपमा वडा नं. १ को नमूना वस्ति दक्षिणमा अर्को त्यस्तै प्रकारको वस्ति निर्माणको लक्ष्यमा वडा र नगरपालिका प्रतिवद्ध छ ।

अबको लक्ष्य के कस्तो रहेको छ ?
यस वडामा रहेका विपन्न परिवारका लागि लक्षित गरि रासन कार्ड वितरण गर्ने र त्यसैको आधारमा सहुलियत रुपमा खाद्यान्न वितरणको काम थालिने छ । यस्तै सुनलाईनमा खालि गराईएको ठाउँमा सिंगो नगरपालिकाकै प्रयासमा कम्प्लेक्स पनि निर्माण गरिने छ । हाल सम्म हामीले विभिन्न आयमूलक तालिम प्रदान गरि धेरै युवालाई स्वरोजगार बनाएका छौं भने यस्ता कार्यक्रमलाई थप निरन्तरता दिईने छ ।

तपाई बजार अनुगमन समितिको संयोजक पनि हुनुहुन्छ, बजार व्यवस्थापन तथा उपभोक्ता अधिकारको रक्षाका लागि के के काम भए ?
बजार व्यवस्थापन र उपभोक्ता अधिकारको रक्षाका लागि नगरपालिका गम्भिर भएरनै यो समिति बनाईएको हो । यो समिति गठन भएयता पटक पटक हामीले बजार अनुगमन गरेका छौं । उपभोक्ता अधिकारका क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाका प्रतिनिधी समेतको सहभागीतामा बजार अनुगमन गरि अखाद्य तथा उपभोग्य मिति सकिएका समान बरामद गरि नष्ट पनि गर्ने गरिएको छ । लकडाउनको समयमा समेत हामीले मुल्यवृद्धी र कालोबजारी हुन दिएनौं । सघन रुपमा बजार अनुगमन गरियो । उपभोक्ता अधिकार सम्वन्धिको कानूनी व्यवस्थाका बारेमा जनप्रतिनिधीहरु विचमा पनिपटक पटक प्रशिक्षण तथा अन्तरक्रिया गरिएको छ भने उपभोक्ताहरुलाई पनि जागरुप बनाईएको छ । तर हामी यतिमै ढुक्कभएका छैनौं । यस प्रकारका कामलाई आगामी दिनमा थप सवल र चुस्त बनाउँदै लगिने छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here