हरियाली र वातावरण संरक्षण प्राथमिकतामा दिएका छाै : वडाध्यक्ष टेकबहादुर थापा

0
343

दमक /  संघीयताको कार्यान्वयन तथा स्थानीय तहमा जनप्रतिनिधीको नेतृत्व स्थापित भए पछि गाउँ गाउँ सम्म विकासको लहर पुगेको छ । विगतको स्थानीय निकाय भन्दा शक्तिशाली र नागरिकको सवै भन्दा नजिकको सरकारको रुपमा स्थानिय तह सञ्चालनमा आए पछि नागरिकले आफ्नो सरकार आफ्नै वडामा पाउन थालेका छन् । वडा तह सम्म सरकार पुगेको प्रभावकै कारण वडा हुँदै टोल स्तर सम्म पनि विकासको लहर देखिन्छ । यसरी वडा र टोल स्तर सम्मनै विकासको लहर देखिएको स्थानीय तह, झापाको दमक पनि हो । यस नगरपालिकाका हरेक वडा र टोलमा अहिले विकासका कामहरुले तिव्रता पाएका छन् । यसै नगरपालिकाका वडा नम्बर ६  का वडाध्यक्ष टेकबहादुर थापा   संग विकास निर्माण र वडाले गरेकाे गतिबिधिका बारेका गरीएकाे  कुराकानी :-

यस वडामा जनप्रतिनिधी भएपछि विकासका काम के के भए ?
हामीले शुरुदेखिनै तीनकुरालाई प्राथमिकता दियौं, शिक्षा, स्वास्थ्य र वातावरण । यि तीन क्षेत्रमा हामीले प्राथमिकताका साथ काम गरि रहेका छौं । यस्तै यो वडा सहरी क्षेत्र भएकाले बजार व्यवस्थापन, पूर्वाधार निर्माण र सौन्दर्यकरणमा पनि जोड दिँदै आएका छौं । यसै गरि हरेक पूर्वाधार निर्माण र योजना तर्जुमा गर्दा कसरी हरियाली अभिवृद्धी गर्ने, वातावरण संरक्षण कसरी गर्ने भन्ने कुरालाई ध्यान दिने गरिएको छ ।

तीनै तहका सरकारविच कसरी समन्वय भएको र योजनाहरु कसरी सञ्चालन भईरहेका छन् ?
यस वडामा तीनै तहका सरकार मार्फत विभिन्न योजनाहरु सञ्चालन भईरहेका छन् । संघीय सरकार मार्फत विभिन्न सडकमा फुटपाथ निर्माण गरिएको छ । नगरपालिका रोड, फर्निचरलाईन, वेलडाँगी रोड, भृकुटी मार्ग, बसपार्क व्यवस्थापन जस्ता कामहरु संघीय सरकार मार्फत गरिएको छ । यस्तै बहुतले बसपार्क निर्माण तर्फ पनि हामी अघि बढेका छौं । प्रदेश सरकार मार्फत नमूनामार्ग दक्षिण तर्फ फुटपाथ व्यवस्थापनको काम भएको छ भने लिङ्देन मार्ग र सव्जीबजारमा फुटपाथ व्यवस्थापन प्रदेशको संसद विकास कोष मार्फत गरिएको छ । यस्तै वडा मार्फत विभिन्न सकडमा लकिङ् टाईल विछ्याउने, सामाजिक कार्यक्रम सञ्चालन गर्ने लगायतका काम गरियो भने नगरमार्फत पनि विभिन्न कामा भए । मर्मत सम्हार, सामाजिक सशक्तिकरण लगायतका क्षेत्रमा वडा मार्फत अन्य धेरै काम भए भने नगरले यस वडामा नगरकै गहनाको रुपमा नमूना बजार बनाईएको छ । यसै वडामा नगरको दिर्घकालिन आम्दानी समेत दिन सक्ने गरि सपिङ् कम्प्लेक्स समेत निर्माण भई रहेको छ भने एउटै पनि सामुदायिक विद्यालय नभएको यस वडामा पशुपति वालविकास केन्द्र सञ्चालनमा ल्याईएको छ । यसलाई क्रमश स्तरीकरण गरि विद्यालयको रुपमा सञ्चालन गर्ने योजना पनि रहेको छ ।

आगामी दिनमा कस्ता योजना ल्याउने तयारी छ ?
हामीले अझै पनि गर्नु त धेरै छ । तर ति मध्ये पनि प्राथमिकताा दिँदा यो वजार क्षेत्र भएकाले बजार व्यवस्थापनसँगै फोहर व्यवस्थापन र हरियाली अभिवृद्धीनै हाम्रो प्राथमिकतामा छ भने वालविकास केन्द्रलाई विद्यालयको रुपमा सञ्चालन गर्ने र आधारभूत स्वास्थ्य केन्द्र सञ्चालन गरि सहज रुपमा स्वास्थ्य सेवा उपलव्ध गराउने काम अघि बढिनै सकेको छ । यस्तै विपन्न परिवारको पहिचान गरि आवश्यक सुविधाहरु विपन्नताको स्तर अनुसार सहुलितपूर्ण रुपमा उपलव्ध गराउने तर्फ पनि हामी अघि बढेका छौं ।

तपाई वातावरण तथा विपद् व्यवस्थापन समितिको संयोजक पनि हुनुहुन्छ, समितिले कसरी काम गरि रहेको छ ?
समिति मार्फत नगर क्षेत्रको वातावरण संरक्षण, हरियाली अभिवृद्धी, फोहोर व्यवस्थापन लगायतका क्षेत्रमा काम हुँदै आएको छ । नगरका खाली क्षेत्रमा वृक्षरोपण गर्ने, पोखरीहरु निर्माण र स्तरीकरण गर्ने, हरितकरणलाई अभियानको रुपमा अघि बढाउने, सहरीक्षेत्रमा वातावरणमैत्री उद्योगहरु मात्र सञ्चालन गर्न दिने जस्ता काम समितिमार्फत भएका छन् । नगरको फोहोर व्यवस्थापनलाई दिर्घकालिन रुपमा समाधान गर्न दातृनिकाय निजीक्षेत्र मार्फत प्रशोधन केन्द्र सञ्चालनको प्रकृया पनि अघि बढाईएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here