आवश्यकताका आधारमा योजना बनाउँछौ : वडाध्यक्ष इन्द्रबहादुर गुरुङ्ग

0
561

दमक /  संघीयताको कार्यान्वयन तथा स्थानीय तहमा जनप्रतिनिधीको नेतृत्व स्थापित भए पछि गाउँ गाउँ सम्म विकासको लहर पुगेको छ । विगतको स्थानीय निकाय भन्दा शक्तिशाली र नागरिकको सवै भन्दा नजिकको सरकारको रुपमा स्थानिय तह सञ्चालनमा आए पछि नागरिकले आफ्नो सरकार आफ्नै वडामा पाउन थालेका छन् । वडा तह सम्म सरकार पुगेको प्रभावकै कारण वडा हुँदै टोल स्तर सम्म पनि विकासको लहर देखिन्छ । यसरी वडा र टोल स्तर सम्मनै विकासको लहर देखिएको स्थानीय तह, झापाको दमक पनि हो । यस नगरपालिकाका हरेक वडा र टोलमा अहिले विकासका कामहरुले तिव्रता पाएका छन् । यसै नगरपालिकाका वडा नम्बर ५  का वडाध्यक्ष इन्द्रबहादुर गुरुङ्ग  संग विकास निर्माण र वडाले गरेकाे गतिबिधिका बारेका गरीएकाे  कुराकानी :-

यस वडामा विकासका काम कसरी अघि बढेका छन् ?
लामो समय स्थानीय निकायमा जनप्रतिनिधी नभएको अवस्थामा स्थानीय तहको निर्वाचन भयो र हामी निर्वाचित भयौं । त्यसैले पनि जनचाहना जनप्रतिनिधी प्रति उच्च हुनु स्वभाविक थियो । हामीलाई केहि समय त स्थानीय तहको जग बसाल्ननै लाग्यो । संरचना, व्यवस्था सवै नयाँ थियो । आफ्ना लागि चाहिने कानूनहरु बनाउँदै अघि बढ्यो । अहिलेसम्म आई पुग्दा हामी जहाँ जुन योजना तथा कार्यक्रम आवश्यक छ, त्यसैलाई प्राथमिकता दिएर अघि बढेका छौं ।

यस वडामा भएका मुख्य मुख्य विकास निर्माण के के हुन ?
यो वडा सघन बसोबास भएको क्षेत्र हो । त्यसैले पूर्वाधारहरुलाई सुविधायुक्त बनाउनु पर्ने आवश्यकता थियो । हामी आउँदै गर्दा दिपेनी मार्ग निर्माणको क्रममा थियो, त्यसलाई पूरा गर्न तर्फ लागियो । यस्तै दिपेनी खोलामा दुईओटा कलभर्ट निर्माण भए । क्याम्पसमोड–पाङ्मीचोक सडक निर्माण भई रहेको छ । भित्रीसडकहरुमा लकिङ् टाईल्स हालिएको छ । यस वडाको एकमात्र सामुदायीक विद्यालय दिपिनी आधारभूत विद्यालयमा सुविधासम्पन्न र आधुनिक बालउद्यान (चिल्डेन पार्क) सहितको बालकक्षा सञ्चालन गरिएको छ । प्रदेश सरकार मार्फत वडा नं. ४ र ५ जोड्ने खरखरे खोलामा पुल र बुद्धमार्ग स्तरोन्नती पनि भई रहेको छ । यि योजनाहरुसँगै हामीले दलित, आदिबासी, महिला,बालबालिका लगायतका क्षेत्रमा क्षमता विकास, शिपविकास, आयमूलक कार्यक्रम, कौशीखेती लगायतका कार्यक्रमहरु समेत सञ्चालन गर्दै आएका छौं । समग्रमा भन्नुपर्दा प्राप्त श्रोत साधनलाई सवै क्षेत्रमा परिचालन गर्ने प्रयास भई रहेको छ ।

वडाबासीको चाहना कस्ता योजनामा बढि पाउनु भएको छ ?
चाहना तथा माग त सवै क्षेत्र र बिषयमा छ । ति मागलाई पनि हामी प्राथमिकताका आधारमा कार्यान्वयन गर्दै अघि बढेका छौं । संघीय सरकार मार्फत सञ्चालन भएको सुरक्षित आवाश कार्यक्रम अन्तर्गत हामी फूसका छाना हटाउने अभियान तर्फ पनि केन्द्रित छौ । अझै पनि केहि ठुला सडक योजना यस वडाको आवश्यकता छन् । हरिओम कोलेनीबाट धनेश्वर हुँदै मालपोत जोड्ने सडक, यलम्बर चोक देखि मोडल चोकहुँदै मालपोत जोड्ने सडक पनि पूरा गर्न आवश्यक छ । तीनै तहका सरकारको श्रोत साधन मार्फत यि योजनाहरु पूरा गराउन तर्फ हामी जुट्ने छौं ।

तपाई नगरपालिकाको आर्थिक विकास समितिको संयोजक पनि हुनुहुन्छ, समिति मार्फत के कस्ता काम भई रहेका छन् ?
यो समितिले मूलरुपमा कृषि, पशुपालन, व्यापार, सहकारी, पर्यटन तथा जलविद्युतको क्षेत्रमा काम गर्ने हो । नगरपालिकाले कृषि, पशु, सहकारी लगायतका क्षेत्रमा त शाखागत रुपमानै काम गर्दै आएको छ । यि बिषयगत क्षेत्रहरु मार्फत नगरको आर्थिक विकास र समृद्धी कसरी हाँसिल गर्ने, आर्थिक क्षेत्रलाई कसरी बलियो र सवल बनाउने बन्ने कुरामानै समिति क्रियाशिल छ । सम्वन्धित बिषयमा योजना बनाउने, कार्यान्वयन गर्ने, अनुगमन गर्ने, नगरबासीहरुको राय तथा सुझाव लिने,नगरपालिकाको नीति निर्माणमा ति बिषयहरुलाई समावेश गर्ने कुराहरुमानै समितिले काम गर्दै आएको छ ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here