झापा, २७ जेठ / प्रदेश १ मा आज ५ जना कोरोना संक्रमित थपिएका छन् । आज इलाम, सुनसरी र मोरङमा ५ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या २८२ पुगेको प्रदेश सरकारले जनाएको छ ।
इलाममा पहिलो पटक कोरोनाको संक्रमण देखिएको हो । भारतको चेन्नाईबाट आएका सूर्योदय नगरपालिकाका २६ वर्षीय युवाको पिसिआर परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो । संक्रमितलाई उपचारको लागि पुर्वाञ्चल विश्वविद्यालय गोठगाउँमा रहेको अस्पतालमा पठाइएको स्वास्थ्य कार्यालय इलामका प्रमुख बृजकुमार दासले जानकारी दिए ।
प्रदेश १ मा १४ जिल्लामध्ये १३ जिल्लामा कोरोना संक्रमण देखिएको छ ।
अब कोरोना संक्रमण नदेखिने जिल्ला ओखलढुङ्गा मात्र रहेको छ । आज मोरङको रतुवामाईका २ पुरुष, जहदाका १ पुरुष र सुनसरीको बराहक्षेत्रका १ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ ।
प्रदेशमा आजसम्म कोरोनामुक्त भई अस्पतालबाट ११८ जना डिस्चार्ज भएका छन् । आज सम्म पिसिआर बिधिबाट १२ हजार ७७२ जनाको र आरडिटी बिधिबाट १३ हजार ६९९ जनाको कोरोना परीक्षण भएको छ ।