विराटानगर,जेठ २७/ प्रदेश नं. १ सरकारले कोरोना भाइरसका कारण प्रभावित भई स्वदेश फर्किन चाहेका र स्वदेश फर्किएका प्रदेशका नागरिकहरुको तथ्यांक संकलन शुरु गरेको छ ।्
कोरोनाले उत्पन्न गराएको विषम परिस्थितिका कारण वैदेशिक रोजगारमा संलग्न, नेपाल फर्किन प्रतिक्षारत र फर्किएका प्रदेश १ नागरकिहरुको तथ्यांक अनलाइनबाट संकलन सुरु गरिएको हो ।
तथ्यांक संकलन गर्ने कामको आज मुख्यमन्त्री शेरधन राईले शुभारम्भ गरेकाे छन् । गत जेठ ५ गतेको मन्त्रिपरिषद्को बैठकले विदेशमा रहेका प्रदेश १ का नागरिकहरुको अनलाइन फारम तयार गरेर तथ्यांक संकलन गर्ने निर्णय गरेको थियो । तथ्यांक फारम www.helpline.p1.govnp मा गएर सिधै भर्न सकिनेछ । यो फारम प्रदेश योजना आयोगमा रहनेछ ।
फारमले आफ्ना नागरिकहरुको सिपलाई प्रयोग गरिने मुख्यमन्त्री शेरधन राईले बताए । विदेशबाट फर्कन चाहेका र फर्किएका युवाहरुको शीपलाई प्रदेशको विकासमा लगाउन तथ्यांक संकलन थालेको उनकाे भनाइ छ । तथ्यांक संकलन हुने फारममा युवाहरुको रुचीका आधारहरु पत्ता लगाउन सजिलो हुनुका साथै प्रदेश सरकारले ल्याएको नीति कार्यक्रमा जोड्न सजिलो हुने सरकारको अपेक्षा छ ।