दमक/ झापाको गौरीगञ्जमा आज थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
खजुरगाछी प्राथमिक स्वास्थ्य केन्द्रको क्वारिन्टीनमा रहेका एक जना पुरुष र खजुरगाछी माविमा रहेको क्वारिन्टीनमा रहेका ६ जना पुरुष समेत कूल ७ जनामा कोरोना पुष्टि भएको हो । गाउँपालिकाका स्वास्थ्य संयोजक रामचन्द्र मिश्रका अनुसार पोजिटिभ देखिएका सबै वार्ड नम्बर ५ का बासिन्दा हुन् ।
उनीहरु मध्ये एक जना भारतको महाराष्ट्रबाट र ६ जना हरियाणाबाट भर्खरै नेपाल फर्किएका हुन् । यस अघि सो गाउँपालिकाका ४ जनाको कोरोना पोजिटिभ रिपोर्ट आइसकेको छ । यहाँका क्वारिन्टीनमा रहेकाहरुको पीसिआर परिक्षण विराटनगरस्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, कोशी अस्पताल र धरानमा हुँदै आएको छ । पोजिटिभ देखिएका सबैको उपचारका लागि अस्पताल पठाउने तयारीमा गाउँपालिका लागिसकेको अध्यक्ष बाबुराजा श्रेष्ठले जानकारी दिए ।