झापा / झापामा कोरोना संक्रमितको संख्या थपिएर १२ पुगेको छ । अझै परिक्षणको नतिजा आउन बाकी छ । यसै क्षणमा संक्रमित देखिएका क्षेत्र र जिल्लाका विभिन्न ठाउँमा पुगेर रिर्पोटिङ गर्ने झापाली पत्रकारहरुको पीसीआर विधिबाट कोरोना जाँच सुरु गरिएको छ ।
नेपाल पत्रकार महासंघ झापाको पहलमा सामाजिक विकास मन्त्रालयले बुधवार विर्तामोडस्थित महासंघको कार्यालयमै पत्रकारहरुको कोरोना जाँचका लागि थ्रोट स्वाव (घाँटीको र्याल) संकलन गरिएको छ ।
दिउँसो अढाई बजेतिर महासंघका पूर्व अध्यक्ष एवम् नेपाल टेलिभिजनका झापा सम्बाददाता भीम नेम्वाङबाट पहिलो स्वाव संकलन गरिएको थियो । महासंघका अध्यक्ष तारामणि सापकोटाले पहिलो चरणमा २५ जनासम्मको स्वाव संकलन गरिने जानकारी दिएका छन् ।
यो काममा जिल्ला स्वास्थ्य कार्यालय झापाका स्वास्थ्यकर्मीले प्राविधिक सहयोग पुर्याएका थिए ।