भाडा नतिरेको भन्दै घरबेटीले निकालेपछि सडकमा बास

0
1859

भैरहवा । लकडाउन लम्बिदै गएपछि यसको प्रत्यक्ष असर विपन्न वर्गमा परेको छ । कोठा भाडा लिनेहरु अहिले घरबेटीको अमानवीय ब्यवहारको शिकार भै रहेका छन् । लकडाउनको कारण काम नपाउँदा समस्यामा रहेका उनीहरु घरभाडा नतिरकै निहुमा बेघर हुनु परिरहेको छ । सरकारले अहिले लकडाउनको अवधिमा कसैलाई पनि अमानवीय ब्यवहार गर्न नपाउने भने पनि यसको कार्यान्वयन फितलो छ ।

गौतम बुद्धको प्रवेशद्वारको रुपमा रहेको भैरहवामा एउटा यस्तै अमानवीय घटना बाहिर आएको छ । जेठ १ गतेदेखी एक महिला भैरहवाको मुल बाटोमै बास बनाउँदा पनि सरकारी निकायहरुको ध्यान जान सकेको छैन । घरभाडा दिन नसकेको र घरसाहुको अत्याचार सह्न नसकी माइतीको शरणमा आएकी चेलीको बास अहिले भैरहवाको नारायण पथको सडक पेटी बनेको छ । सडकमै पकाउने, खाने र सुत्ने गरेकी उनलाई अहिलेसम्म न नगरपालिकाले ध्यान दिएको छ न अन्य स्थानीय प्रशासनले नै ।

मायादेवी गाउँपालिका वडा नम्बर ८ मतकोलवामा घर भाडामा बस्ने उन्नती खाती अहिले घरबार विहीन छिन् । घाडामा बस्ने घरमा यातना दिएकोले उनले त्यहाँ छोडेर भैरहवाको नारायण पथमा रहेको आफ्नै माइतीको शरणमा आएकी थिइन । माइतमा रहेका कोठा सबै सरसफाई गरेर उनि आफ्नो समान लिन गइन । उताबाट सामानसहित आउँदा सफा गरेको माइती घरकोको कोठामा पनि ताला लागेको पाएपछि उनि त्यही सडकमै बास बसेकी छिन ।

बास बसेको पनि आज चार दिन भएको छ । सामान राख्ने ठाँउ नभएपछि उनले आफुसित भएको डबल बेड र पंखा नगरपालिकामा काम गर्ने कसैलाई दिईन । आफु भने लोबेड र केही बिछ्यौना लिएर पेटीमा रात बिताउने गरेको उनले बताइन । यसअघि काठ्माडौंमा बसेर काम गरिरहेको उन्नती माघमा भैरहवा आएकी थिइन । लकडाउनपछि फेरी पनि काठमाडौं नै फर्किने योजनामा रहेकी उनले लकडाउनसम्म मात्र बास बस्न खोजेकी छिन ।

अहिले मानिस हिड्ने फुटपाथमा उनको लोबेड रहेको छ । पानीले भिज्ने डरले फ्रिज र दराज सडक किनारमै अलि ओत लगाएर राखेकी छिन् । बाटोमै चिया पकाउदै गरेकी उन्नतीले घरसाहुले मात्रै नभई अहिले आफ्नै माइतीले नहेरेको गुनासो गरिन । “आफ्नैले त हेरेनन् प्रशासन र पुलिसलाई किन दोष दिउ” उनले भनिन “कम्तिमा यहाँ कसैले टर्चर त दिदैन ।” अहिले उनी फुटपाथमै खुशी भएको बताउँछिन ।

आफ्नो बारेमा थप बताउन नचाहने उन्नती अहिले एक्लै बस्दा उनलाई बिभिन्न जोखिमहरु रहेका छन् । राती लामखुट्टे र कोरोनाको त्रास उस्तै छ, जिउज्यान जोगाउन पनि उनलाई धौ धौ परेको छ । रुपन्देहीमा अहिले बिभिन्न अधिकारवादी संघ संगठनहरु रहेपनि यी एकल महिलाको उद्दारको लागी अहिलेसम्म कसैले पहल गरेका छ्र्रैनन् । गौतम बुद्धको नगर भैरहवामा अहिले उनको माइती पक्षको मात्र हैन समग्र भैरहवाको नै मानवता हराएको महसुश भएको छ ।-राधेश्याम विश्वकर्मा/ रुपान्तरण

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here