बिहे गर्न ढिलो भएन ? हाम्रो सामाजिक मान्यता नै अचम्मको छ

0
599

काठमाडौँ — म केही समयअघि एक जना साथीको बिहेको भोजमा गएकी थिएँ । कुरैकुरामा मेरी एक अर्की विवाहित साथीले मलाई जिस्क्याउँदै भनी, ‘अब तेरो पालो ।’

मैले मुस्काउँदै भनें, ‘हतार नै के छ र ? मेरो त अझै दुईचार वर्ष बिहे गर्ने कुनै सोच छैन ।’

उसले अचम्म मानेझैं सोधी, ‘किन ?’

उसको भाव हेर्दा यस्तो भान हुन्थ्यो कि मानौं मैले कुनै आठौं आश्चर्यको कुरो सुनाएकी हुँ । मैले उसलाई भनें, ‘बल्ल त पढाइ सकियो, पहिले अलि गतिलो जागिर त खाऊँ । आत्मनिर्भर होऊँ, प्याकेज–टुरमै सही, आफ्नै कमाइमा सकेसम्म युरोप नसके पनि कमसेकम थाइल्यान्ड वा गोवा घुमौं, अनि सोचौंला नि बिहेको बारेमा । हतार के छ र ?’

उसले केही सोच्दै भनी, ‘तेरो सोच नराम्रो त हैन । तर अब ढिलो भएन र भन्या ?’

उसको कुरा सुन्दा मलाई लाग्यो, मानौं बिहे गर्ने उमेरको हदबन्दी त मैले एक दशकअघि नै नाघिसकेकी हुँ । यहाँ मात्र हैन हरेक बिहे, पार्टी वा कुनै पारिवारिक भेलामा मैले सुन्नुपर्ने यो नियमित प्रश्न हो । सबैको जिज्ञासा एउटै हुन्छ, ‘अब बिहे कहिले गर्ने, ढिला भैसक्यो, बेला बितिसक्यो आदि इत्यादि ।’

अझ कोही बढी नै हितैषी आफन्तहरू त मेरो ब्वाइफ्रेन्ड छैन भने उनीहरूले चिनेका गतिला केटाहरूसँग कुरा चलाइदिने प्रस्तावसम्म पनि राख्न भ्याउँछन् । ती अघोषित लमीहरू कसैको भाञ्जा, कसैको भतिज, साथीको छोरा, छिमेकीको सालोदेखि एनआरएनसम्मको कुरा गरेर लोभ्याउन खोज्छन् । यस्तो लाग्छ कि उनीहरू सबैको एउटै उद्देश्य मेरो बिहे गराउनु हो ।

हाम्रो सामाजिक मान्यता नै अचम्मको छ । छोरी भनेको त अर्काको घर जाने जात हो । प्रत्येक बाबुआमाले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा दिनहुँ अनेक कसरत गरेर ‘आफ्नी छोरीलाई अर्काको घरकी लायक बुहारी’ बनाउनका लागि मात्र हुर्काएका हुन् । यो कुरामा अझ विशेष आमाको बढी चासो हुन्छ । त्यसैले अलिकति हुर्किनासाथ छोरीहरूलाई खाना पकाउने र कपडा धुनेलगायतका गृहस्थी कामहरूको तालिम दिन सुरु भैहाल्छ । मेरो आफ्नै कुरा गर्दा, टिनएज प्रवेश गरेदेखि नै मम्मी भन्नुहुन्थ्यो, ‘खाना पकाउन सिक् है, नत्र तैंले पछि दु:ख पाउँछेस् ।’
हाम्रो समाजमा छोरी मान्छेका लगि यो दु:खको अर्थ फरक हुन्छ । पकाउन नजानेर, मीठोचोखो नखाएर अथवा स्वास्थ्यको हिसाबले पाउने दु:ख हैन, अरूको घरमा गएपछि श्रीमान्, सासू–ससुरा, देवर, जेठानीलगायत त्यहाँका अरू सदस्यलाई ‘रिझाउन’ नसकेर, पाउनुपर्ने स्थान, स्नेह र सम्मान नपाएको हिसाबकिताब हुने गर्छ ।

तैपनि अलिअलि मम्मीको कर र अलिअलि आफ्नो रहरले आज म ठीकठाक खाना पकाउन जान्ने भएकी छु । झापाबाट उच्च अध्ययनका लागि काठमाडांै आएपछि त्यो जानेकै कारण मेरो डेरा जीवन निकै सहज पनि भएको छ । तर हाम्रो सिकाइ र बुझाइ नै गलत छ, अनर्थकारी छ । ‘पछि पढाइका क्रममा एक्लै हुन्छ्यौ, खाना बनाउन सिक्यौ भने बाहिरको खानामा भर पर्नु पर्दैन जसले गर्दा पैसा बचत र स्वास्थ्यको ख्याल रहन्छ’ भनेर कति बाबुआमाले आफ्ना छोरीहरूलाई सिकाएका होलान् त ? ‘भात पकाउन जान्यो भने घर गरेर खान सजिलो हुन्छ’ भन्ने ब्रह्मज्ञान मात्रै मजस्ता हरेक छोरीमान्छेले सुनेकै हुनुपर्छ । फेरि यो ब्रह्मज्ञान केवल केटीका हकमा लागू हुन्छ । कोही केटा खाना पकाउन जान्दछ वा भान्छाको काममा रुचि राख्छ भने यसको अर्थभन्दा बढी ‘अनर्थ’ मात्रै खोज्ने गरिन्छ ।

मेरो आफ्नै भाइ अहिले अध्ययनका क्रममा अस्ट्रेलियामा छ । मभन्दा १८ महिना कान्छो मेरो भाइले नेपालमा रहुन्जेल आफ्ना लागि चियासम्म पकाउन पनि भान्सा छिर्नुपरेन । तर विदेश गएको केही दिनमा उसलाई मैले फोनमै टिप्स दिएर चाउचाउ पकाउन सिकाएकी छु । अध्ययनका लागि एक्लो बस्नुपर्ने वा विदेश नै जानुपर्ने कति छोराहरूलाई उनीहरूका बाबुआमाले खाना पकाउन सिकाएका होलान् ? कुनै पनि काम आफैं गर्न सक्नु नराम्रो त कदापि हैन । तर छोरी भएकै कारणले मात्र र बिहेपछि अरूलाई रिझाउनका लागि भनेर ‘यावत् कामहरू सिक्नैपर्ने’ भन्ने चलन कतिसम्म न्यायसंगत होला ?

मेरी एउटी अर्की साथीको कुरा पनि गरौं जसको प्लस–टु पढ्दै गर्दा बिहा भएको थियो । लामो समय सम्पर्कविहीन भएका हामीलाई अकस्मात एक दिन फेसबुकले भेटायो र पुरानो मित्रता फेरि मौलायो । एक दिन कुरैकुरामा उसले मेरो बिहे नभएको थाहा पाएर फेरि उही प्रश्नका झटारोहरू हान्न थाली, ‘किन ? ढिला भएन ?’

उसका प्रश्नका प्रहारहरूबाट बच्न मैले उल्टै उसलाई प्रश्न गरें, ‘तँ भन् त, बिहे गरेर के तँ साँच्चै खुसी छेस् ? बिहे गर्नु तेरो जीवनको अहिलेसम्मकै सबैभन्दा सही निर्णय थियो भन्ने तँलाई लाग्छ ?’

ऊ मौन भई । मैले ती प्रश्नका उत्तरहरू अझै पनि उसबाट पाएकी छैन । तर, त्यसपछि मेरो बिहे कहिले (?) भन्ने उसको प्रश्नबाट भने मैले छुट्कारा पाएकी छु ।

अर्को एउटा सन्दर्भमा, केही समयअघिको मेरो पुरुष सहकर्मी मित्रले फेसबुकमा मेरो एउटा फोटोमा टिप्पणी गर्‍यो, ‘बिहे गर, ढिला भयो ।’
मैले कुनै प्रतिक्रिया व्यक्त गरिनँ । त्यसैले चित्त नबुझेर होला, उसले इनबक्समा पनि सन्देश पठायो, ‘फल पनि ठिक्क पाकेको नै मीठो हुन्छ ।’
अनि अक्षरहरूमै अट्टहास गरेर हाँसेको जस्तो भद्दा हाँसो, ‘हा, हा, हा ।’

मैले उसलाई यस्तो जवाफ फर्काइदिएँ, आजकल त्यो महाशयले न मेरो फोटोमा लाइक गर्छ, न कुनै टिप्पणी ।

एक जना अन्टी हुनुहुन्छ, अलि टाढाको नाता पर्ने । मेरी आफ्नी आमालाई भन्दा बढी उहाँलाई मेरो बिहे गराउने हतार छ । हरेक भेटमा उहाँ भन्नुहुन्छ, ‘नानी अब बिहे गरिहाल । उमेर पुग्दै गएपछि तिमी जस्तो डबल मास्टर्स गरेकी केटीले अविवाहित केटो पाउन गाह्रो हुन्छ है । अब एकदुई वर्ष पनि बिहे गरिनौ भने त सेकेन्ड ह्यान्ड माल मात्र फेला पर्छ ।’ उहाँको कुरा सुन्दा यस्तो लाग्छ, ‘धेरै पढ्नु’ र ‘बेलामा बिहे नगर्नु’ मेरो ठूलो भूल हो र त्यसको मोल मैले विदुर वा पारपाचुके भएको मानिससँग बिहे गरेर चुकाउनुपर्नेछ ।

यी र यस्ता कुरा, प्रश्न, सरसल्लाह र चेतावनी म मात्र हैन, मजस्ता ‘मिड–ट्वाइन्टी’ काटेका हरेक युवतीले भोग्दै र सुन्दै आएका दैनिकी हुन् । किन बिहे नगरेको भन्ने प्रश्नका पछाडि एक युवतीको ‘आत्मनिर्भरता, स्वतन्त्रता र बलियो मानसिकता’ प्रतिको नजानिंदो ईष्र्या लुकेको पाउँछु म । एउटी युवती भएर पनि म यतिबेलासम्म कुनै पुरुषको ‘सहारा’ बिना जीवनमा कसरी यति स्वतन्त्र र प्रसन्न छु भन्ने आशय लुकेको देख्छु म ती कुराहरूमा ।

यसो भनिरहँदा म विवाहको विरोधी हुँ भन्ने अर्थ पनि नलागोस् । विवाह मेरा लागि कुनै भावावेश वा सामाजिक करकापको अघि समर्पण वा सम्झौता गर्ने विषय होइन । यो त जीवनभरको लामो सहयात्राका लागि गरिने वाचा हो । विवाह त एउटा नयाँ र सुखद अध्यायको सुरुवात हो जसका लागि मानसिक रूपमा आफू तयार हुनु सर्वोपरी हो । विवाह समाजले तोकेको उमेर पुगेर भन्दा पनि आफू मानसिक रूपमा त्यससँग गाँसिएर आउने सम्बन्ध र जिम्मेवारीका अर्थहरू बुझ्न सक्ने भएर मात्र गर्नुपर्छ भन्ने मेरो मान्यता हो । यो कुरालाई बुझ्न राम्ररी बुझ्न सके मात्र विवाहले कथंकदाचित ल्याउन सक्ने सामाजिक, शारीरिक, मानसिक र आर्थिक दुर्घटनाबाट आफूलाई बचाउन सकिन्छ ।

बाँकी रह्यो बिहे गर्ने उमेरको कुरा । भनिन्छ नि, उमेर त एउटा संख्या मात्र हो ।

‘एज इज जस्ट अ नम्बर ।’

कान्तिपुरमा निरू राजबंशीले यस्ताे लेखेकी छिन् ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here