मधेशलाई बचाउँदै पहाडका गोठ

0
819

इलाम/  पूर्वी पहाडी जिल्ला इलाम, पाँचथर, तेह्रथुम र धनकुटामा उत्पादन भएको दुध तराइका बजारहरुमा खपत हुने गरेको छ । विशेष गरेर इलाम र धनकुटामा उत्पादित दुध विभिन्न शाखामा संकलन हुँदै विराटनगर पुग्ने गर्छ र विराटनगरवाट सुनसरी र झापाका कतिपय बजारमा विक्रि हुँदै आएको छ ।

धनकुटामा संकलित दुधपनि विराटनगर नै आउने गरेको छ । विराटनगरका लागि इलामका आठ वटा चिस्यान केन्द्रबाट मात्रै दैनिक ३० हजार लिटर दुध संकलन हुने गरेको छ । एक दिन दुध बिक्री नहँुदा इलामका किसानले करीब १२ लाख रुपैयाँ गुमाउने गरेका छन् । डीडीसीले इलामको कुटिडाँडा, तीनघर, फिक्कल, लक्ष्मीपुर, विब्ल्याटे, शान्तिडाँडा, पुवाखोला र देउराली चिस्यान केन्द्रमार्फत दुध संकलन गरेर विराटनगर लैजाने गरेको छ ।

 

डीडीसीले तेह्रथुमबाट तीन हजार पाँच सय, धनकुटाबाट आठ हजार पाँच सय र विराटनगर आसपासबाट चार हजार लिटर दुध संकलन गर्ने गरेको शाखाले जनाएको छ । संकलन भएको दुधमध्ये डीडीसी विराटनगरले १० हजार लिटर दुध स्थानीय बजारमा बेचेर बाँकी दुध पाउडर बनाउने गरेको छ । पाउडर प्लान्टले प्रतिघण्टा पाँच हजार लिटर दुध प्रशोधन गर्ने क्षमता राख्छ । उत्पादित दुधको उचित मुल्य नपाउँदा किसान भने मारमा पर्ने गरेका छन् । यो समस्या पुरानै समस्या हो । पटक पटक सरकार फेरिँदापनि किसानका यी समस्या भने कुनै सरकारले सम्बोधन गर्न सकेको छैन ।

किन खच्चडमै दुध बोक्छन् धनकुटेली ?
धनकुटास्थित कोशी राजमार्ग आसपासका बासिन्दा चिस्यान केन्द्र र चिज उद्योगसम्म दूध पु¥याउन आफ्नै ढाड र खच्चडको प्रयोगबाट मुक्त हुन सकेका छैनन् । कोशी राजमार्ग आसपासका कृषकलाई त घरनजिक आउने ट्यांकरसम्म पु¥याउन सहज छ । राजमार्गभन्दा अलि टाढाका बासिन्दाका लागि भने सडक पुगे पनि त्यसमा पहुँच नपुगेको देखिन्छ । भीरगाउँसम्मै सडक पुगे पनि कृषि उपज बजारसम्म पु¥याउन स्थानीय कृषकले आफ्नै ढाड या खच्चडकै प्रयोग गर्छन् । लामो बाटो हिँडेरै उनीहरू चिस्यान केन्द्रसम्म दूध पु¥याउँछन् ।
धनकुटा नगरपालिकाका खड्गबहादुर दर्लामी मगर खच्चडमा दूध ढुवानी गर्छन् । धनकुटा नगर क्षेत्रकै भीरगाउँबाट कोशी राजमार्गमै जोडिएको जोरपाटीस्थित चिस्यान केन्द्रमा उनी दैनिक दूध पु¥याउँछन् । दैनिक ६५ देखि ८२ लिटरसम्म दूध ढुवानी गर्ने मगरले यो पेशा गरेको धेरै भयो । गाडीबाट लाँदा पोस आउँदैन, न दूध बेच्नेलाई, न गाडीवालालाई, गाडी प्रयोग गर्दा ढुवानी भाडा बढ्ने उनको भनाइ छ । मगरका अनुसार गाडीमा ढुवानी गर्दा एक पटकमा कम्तीमा पाँच हजार रुपैयाँ खर्च हुन्छ । हामी कृषकले त्यो खर्च धान्न सक्दैनौं, उनी भन्छन् ।
उमेरले ४० पुग्न लागेकी विनामाया नेपाली तीमध्ये एक कृषक हुन् । उनी दैनिक दुई घण्टा उकालोमा दूध बोकेर चिस्यान केन्द्र र चिज कारखानामा पु¥याउँछिन् । चुलाचुलीस्थित गाउँबाट विभिन्न कृषकको घर–घरबाट संकलित दूध उनी प्रतिलिटर ६ रुपैयाँका दरले ओसार्छिन् । उनी भन्छिन्, दुध बोक्दा केही फाइदा भए पनि दूध बेच्ने अरूलाई ओसार्न समस्या छ । गाडी भए पनि महँगो छ । मैले नभ्याउँदा र बिरामी हुँदा दूध बोकिदिने अरू छैनन् ।

दुध बेचेरै चार अर्ब ७० करोड आम्दानी
इलामका कृषकले दुध बेचेरै चार अर्व ७० करोड भन्दा बढि मुनाफा गरेका छन् । जिल्लाभरका कृषकहरुले दुध बेचेर आर्थाीक वर्ष २०७३÷७४मा मात्र चार अर्ब ७० करोड छ लाख आम्दानी गरेको जिल्ला पशुसेवा कार्यालयले जनाएको छ । जिल्लामा आर्थिक वर्ष २०७३÷७४ मा एक लाख २३ हजार ७०० मेट्रिक टन दूध उत्पादन भएको छ ।
जिल्ला पशुसेवा कार्यालयले तयार गरेको आव २०७३÷७४ को प्रतिवेदनअनुसार अघिल्लो आवको तुलनामा गत आवमा दूध उत्पादन करिब अढाइ प्रतिशतले बढेको हो ।

जिल्ला पशुसेवा कार्यालयका पशुसेवा प्राविधिक डिकबहादुर कार्कीले दूधबाट मात्र जिल्लाभरका किसानले गाई, भैँसी, चौँरीसमेतबाट जिल्लामा प्रशस्तै आम्दानी गर्ने गरेको बताउनु भयो ।
जिल्ला पशुसेवा कार्यालयले गतवर्ष जिल्लालाई दूधमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ विभिन्न कार्यक्रम सञ्चालन गरेको थियो । दूध उत्पादन वृद्धि गर्न कार्यालयले किसानलाई गोठ सुधार कार्यक्रम, नश्ल सुधार कार्यक्रम, अनुदानमा उन्नत जातका घाँस वितरण र विभिन्न कार्यक्रमका लागि अनुदानका कार्यक्रम सञ्चालन गरेपछि दूध उत्पादन वृद्धि हुन गई इलाम दूधमा आत्मनिर्भर बनेको हो । यहाँ उत्पादित दूधको मूल्य वृद्धि गर्न किसान हौसिएका छन् । दूधबाट घ्यू, छुर्पी, पनिर, ललीपप, चिजजस्ता दुग्धजन्य पदार्थ उत्पादन गरी त्यसबाट आम्दानी लिने गरेका छन् । उत्पादित दूधमध्ये २० प्रतिशत कच्चीरूपमा विराटनगर दुुग्ध वितरण आयोजनामा र अन्य निजी डेरी उद्योगमार्फत जिल्ला बाहिर निकासी हुने गरेको कार्यालयले जनाएको छ ।
जिल्लाका विभिन्न गाउँमा २३० वटा हाते डेरी सञ्चालनमा रहेको पशुसेवा कार्यालयले जनाएको छ । घरेलु डेरीले मुख्यगरी घ्यू, छुर्पी उत्पादन गरिरहेका छन् । इलाममा उत्पादित छुर्पी अमेरिका र युरोपमासमेत निर्यात हुने गरेको छ । सरकारी र निजी गरी जिल्लामा २४ वटा चिज कारखाना सञ्चालनमा छन् । गत आवमा रु २२ करोड ८० लाखको ४५६ मेट्रिक टन चिज, रु ५१ करोड चार लाख बराबरको ९२८ मेट्रिक टन घ्यू तथा रु २२ करोड २७ लाख ५० हजारको २९७ मेट्रिक टन छुर्पी उत्पादन भएको प्राविधिक कार्कीले बताउनुभयो ।

मिल्क होलिडेदेखि महँगो ढुवानीसम्म
पहाडी क्षेत्रका दुग्ध कृषकहरूले मिल्क होलिडेको मुख्य समस्या बेहोर्नुपर्छ । उद्योगले दूध नलिने दिन तोक्ने गर्छन्, जसलाई मिल्क होलिडे भनिन्छ । धनकुटा क्षेत्रको दूध इटहरीमा केन्द्रीय कार्यालय रहेको कामधेनु दुग्ध सहकारीले खरिद गर्छ । उक्त उद्योगले मिल्क होलिडे तोकेको दिन कृषकको दूध खेर जान्छ । हरेक साता दुई दिन मिल्क होलिडे पर्छ । उत्पादनले बजार नपाउँदा कहिलेकाहीं त दूध पोखेरै किसानले आन्दोलन गर्छन् । सरकारले धेरै कृत्रिम कृषकलाई करोडौं अनुदान दिएको छ । तर, यसरी ढाडमा दूध र अन्य कृषि उपज बोकेर घण्टौं टाढाको बजार जान विवश कृषकका लागि केही गरेको छैन ।
राज्यले दूध ढुवानीमा सहयोग गरे यो समस्या हल हुने सहकारीका कार्यसमिति सदस्य तथा दुग्ध कृषक लोचन पौडेल बताउँछन् । उनी भन्छन, तराईमा त सबैतिर सडक छ । सवारी पुग्छन् । दूध किन्ने पनि घर–घरमा पुगेर किन्न सक्ने अवस्था छ । तर, पहाडमा दुःख छ, कृषकहरूलाई । पहाडका ट्यांकर गुड्ने राजमार्गबाट टाढा रहेका कृषकको ढुवानी समाधान गर्न सरकारी तवरबाट सहयोग हुनुपर्ने पौडेलको भनाइ छ । उनका अनुसार सरकारले धेरै दूध संकलन हुने क्षेत्रमा गाडी र नहुने स्थानमा खच्चडको व्यवस्था गरेर ढुवानीमा सहयोग गर्नुपर्ने उनको भनाइ छ ।
सरकारले धेरै कृत्रिम कृषकलाइ करोडौं अनुदान दिएको छ । तर, यसरी ढाडमा दूध र अन्य कृषि उपज बोकेर घण्टौं टाढाको बजार जान विवश कृषकका लागि केही गरेको छैन, पौडेल भन्छन्, यस्तो अवस्थामा मान्छे कसरी कृषिमा लाग्छ, कसरी एक निम्न आयको कृषकले राज्यको अनुभूति गर्छ ? यो समस्या स्थानीय सरकार र प्रदेश सरकारले बुभ्mन आवश्यक छ, उनले भने ।

फेसबूकमा कमेन्ट्स गर्नुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here